पर्यटकीय स्थल खोल्न होटल व्यवसायीहरूको माग

दोलखा-कोरोना महामारीका कारण व्यवसाय चौपट भएपछि दोलखाका होटल व्यवसायीहरू सहजीकरणका लागि स्थानीय प्रशासनको ढोका ढक्ढक्याउन पुगेका छन् । कोरोना त्रासका कारण जिल्लामा पर्यटकहरूको आवागमन ठप्प भएसँगै व्यवसाय संकटमा परेपछि सहज वातावरण बनाउन स्थानीय प्रशासनको ध्यानाकर्षण गराइएको हो । उनीहरूले पर्यटकीय स्थल खोेलेर सहजिकरण गर्नका लागि स्थानीय प्रशासन र स्थानीय तहसँग माग गरेका हुन् ।
पर्यटक आवागमन तीव्र हुने प्रसिद्ध पर्यटकीय क्षेत्र कालिञ्चोक, भीमेश्वर मन्दिरलगायत जिल्लाका मठमन्दिर र शक्तिपीठहरू बन्द रहँदा व्यवसायीहरू प्रभावित छन् । बजार, यातायात खुला गरिए तापनि यस क्षेत्रमा स्थानीय प्रशासनले नित्यपूजा बाहेकका क्रियाकलाप गर्न रोक लगाउँदा थप आर्थिक संकट बेहोर्नु परेको व्यवसायीहरूको गुनासो छ ।
होटल संघ दोलखाको तर्फबाट शुक्रवार प्रमुख जिल्ला अधिकारी रमेश शिवाकोटीलाई बुझाइएको ध्यानाकर्षण पत्रमा जिलाको धार्मिक तथा पर्यटकीय क्षेत्र खुल्ला गर्न आग्रह गरिएको छ । “गत वर्ष यो बेला होटल व्यवसायीहरूलाई भ्याइ नभ्याइ हुन्थ्यो,” होटल संघ दोलखाका सदस्य पुष्कर अधिकारीले भने, “यहिले यही सिजनमा भाडा तिर्नसमेत समस्या छ ।” दोलखा आउने पर्यटकहरू अधिकांश कालिञ्चोक भ्रमण र भीमेश्वर मन्दिर आउनेहरू नै हुन् । तर, कोरोना भाइरसका कारण मठमन्दिर बन्द हुँदा पर्यटकहरू आगमण ठप्प जस्तै छ ।
बजार निर्वाध रूपमा खुलेका छन्, यातायातका साधनमा पनि यात्रु खचाखच नै छन् । “तर पर्यटकीय स्थलले मात्र कोरोना सार्ने हो र ?” अधिकारीले प्रश्न गरे । सेवा क्षेत्रको रूपमा होटल व्यवसाय चैत यता ठप्प हुँदा धेरै व्यवसायीहरू पलायन भएको उनले बताए ।
पर्यटक भ्रमण गर्ने मुख्य गन्तव्यहरू नै बन्द रहँदा होटल व्यवसायको अवस्था झन नाजुक बनेको छ, यथाशीघ्र ती स्थानमा आवतजावत गर्ने वातावरण बनाउन सम्बन्धित सबै सरोकारवाला निकायलाई आग्रह गर्छाैं ध्यानाकर्षण पत्रमा भनिएको छ ।
आर्थिक संकटका कारण संचालनमा रहेका व्यवसायीहरूलाई पनि कर्मचारी व्यवस्थापन, घरभाडा, वित्तीय संस्थाको कर्जा बुझाउन समस्या भएका कारण राज्यले यसको उचित सम्वोधन गर्नुपर्ने होटल संघ दोलखाका अध्यक्ष रञ्जितकुमार पाठकले बताए । आर्थिक पुनरउत्थानका लागि पर्यटकीय क्षेत्र खोल्नुको विकल्प छैन ।
संघले कोरोनाको असर नहटेसम्म घरभाडा समायोजनको लागि समन्वय गर्न पनि सरोकारवाला निकायहरूको ध्यानाकर्षण गराएको छ । यसैगरी नगरपालिका, घरेलु तथा साना उद्योग विकास कार्यालय तथा जिल्ला कर कार्यालयमा समयमै नविकरण र कर चुक्ता गर्न नसकेका कारण जरिवाना छुट गर्न माग गरिएको छ । मन्दिरहरू बन्द रहे तापनि कालिञ्चोक क्षेत्र भ्रमणमा आएकाहरूलाई रोक्नका लागि तिहार अघि प्रमुख जिल्ला अधिकारी आफैं बाटो छेक्न जानु लज्जास्पद् भएको व्यवसायीहरूको भनाइ छ ।
भीमेश्वर नगरपालिकाका मेयर भरत केसीले व्यवसायीहरूलाई पर्यटकीय क्षेत्र खोल्नका लागि आफूले पहल गर्ने आश्वसन दिए । व्यवसायीहरूको ध्यानाकर्षण पाए लगत्तै प्रमुख जिल्ला अधिकारी शिवाकोटीले पर्यटन विभागलाई व्यवसायीहरूको मागबारे जानकारी गराएका छन् ।