जनश्रमदानले हुने काममा झण्डै ३ करोड खर्च «

जनश्रमदानले हुने काममा झण्डै ३ करोड खर्च

सन्तोष महतारा
गुल्मीमा श्रमदानले हुने काममा झण्डै ३ करोड खर्च भएको छ । जिल्लामा आर्थिक वर्ष ०७६÷७७ मा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत २ करोड ८८ लाख ६३ हजार खर्च भएको स्थानीय तहको तथ्यांकमा उल्लेख छ ।
विगतका वर्षमा स्थानीयले जनश्रमदानको रूपमा गर्दै आएको काममा अहिले रोजगार दिने नामले करोडौं रकम फजुलमा खर्च भएको हो । जिल्लाका अधिकांश स्थानीय तहले झार गोडमेलमै करोडौं रकम सकेका छन् । जिल्लामा रहेका २ नगरपालिका र १० गाउँपालिकासहित १२ वटा स्थानीय तहले प्रधामन्त्री रोजगार कार्यक्रमअन्तर्गत सडक छेउको झार उखेल्ने, पाटीपौवा सरसफाइ गर्ने, विद्यालय बगैंचाको सरसफाइ, सडक मर्मत र कुनै ठाउँमा वृक्षरोपण र पिँडी निर्माण गरी रकम खर्च गरेका छन् । स्थानीय तहले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत गरेका काम अपवादबाहेक कुनै पनि प्रभावकारी नभएको आलोचनासमेत भएको छ ।
जिल्लाको रेसुंगा नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत २६ लाख १० हजार ६ सय ९२ ज्यालामा खर्च गरेकोे छ । नगरपालिकामा निर्माण तथा औजार सामग्री पनि खरिद गरिएको जनाएको छ । नगरपालिकामा १ सय १९ जनाले रोजगार प्राप्त गरेको रोजगार संयोजक सन्तोष पन्थले बताए । मुसिकोट नगरपालिकामा यस कार्यक्रमअन्तर्गत १७ लाख ४१ हजार ९ सय ६० खर्च भएको छ । जसबाट ९७ जनाले रोजगार प्राप्त गरेका थिए ।
जिल्लाको मालिका गाउँपालिकामा ३८ लाख २१ हजार बजेट खर्च भएको रोजगार संयोजक खेमराज गैरेले बताए । गाउँपालिकामका २ सय ३९ जनाले रोजगार पाएका थिए । मदाने गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ३२ लाख २१ हजार ७ सय ५५ खर्च भएको छ । जसमा २ सय ८ जनाले रोजगार पाएको गाउँपालिकाले जनाएको छ । इस्मा गाउँपालिकामा २६ लाख ७६ हजार बजेट प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत खर्च भएको छ । जसबाट १ सय १९ जनाले रोजगार पाएका थिए । इस्मा गाउँपालिकामा भने ६ वटै वडामा हेलिप्याड निर्माण गरिएको छ । दीर्घकालीन फाइदाका लागि हेलिप्याड निर्माण गरिए पनि प्रयोगविहीन भएर त्यसबाट फाइदा लिन नसकिने भन्दै आलोचना हुने गरेको छ । जिल्लाको धुर्कोट गाउँपालिकामा यस कार्यक्रमअन्तर्गत १९ लाख ६० हजार १ सय ६८ खर्च भएको छ । जसबाट ३ सय ३९ जनाले रोजगार पाएका थिए । धुर्कोट गाउँपालिकाले केही ठाउँमा प्रतीक्षालय बनाउने काम पनि गरेको छ ।

गुल्मीदरबार गाउँपालिकामा १६ लाख ७९ हजार खर्च भएको छ । जसबाट १ सय ११ जनाले रोजगार पाएका थिए । छत्रकोट गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत १९ लाख १६ हजार खर्च गरेको छ । जसमा १ सय ९८ जनाले रोजगार पाएको गाउँपालिकाले जनाएको छ । रुरुक्षेत्र गाउँपालिकामा २१ लाख १७ हजार ज्यालामा खर्च गरिएको छ । १ लाख ६४ हजार ८ सय ७० औजार सामग्री तथा व्यवस्थापनमा खर्च गरिएको रुरुक्षेत्र गाउँपालिकाले जनाएको छ । २ सय ३६ जनाले रोजगार पाएका छन् । सत्यवती गाउँपालिकामा ३२ लाख ८८ हजार खर्च भएको छ । १ सय ९५ जनाले रोजगार प्राप्त गरेका रोजगार संयोजक सुभाष आर्चायले बताए । कालिगण्डकी गाउँपालिकामा २० लाख ८४ हजार यस कार्यक्रमअन्तर्गत खर्च भएको छ । जसबाट १ सय ६ जनाले रोजगार प्राप्त गरेको कालिगण्डकी गाउँपालिकाले जनाएको छ । चन्द्रकोट गाउँपालिकामा ११ लाख ९६ हजार प्राप्त बजेटबाट ७६ जनाले रोजगार प्राप्त गरेका थिए ।

मालिकाको नमुना योजना
यस वर्षको प्रधानमन्त्री रोजगार कार्यक्रम पुस १ गतदेखि सुरु हुँदैछ । बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न जिल्लाको मालिका गाउँपालिकाले दीर्घकालीन फाइदा पुग्ने योजना बनाइसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक भण्डारीले बताए । “यस वर्ष बजेटको सही सदुपयोग गनका लागि दीर्घकालीन फाइदा पुग्ने योजनाको खाका तयार भइसकेको छ,” प्रमुख प्रशासकीय अधिकृत भण्डारीले भने, “योजना सम्पन्न भएपछि मात्रै कामदारलाई रकम भुक्तान गर्नेछौं ।” अघिल्लो वर्ष रोजगार पाएका कामदारले हाजिर भएपछि तलब पाइरहेका थिए । प्रधानमन्त्री रोजगार कार्यक्रममा पनि योजना सम्पन्न गरेर मात्रै कामदारलाई तलब भुक्तान गर्ने मालिका गाउँपालिकाको नमुना योजना हो ।
जिल्लामा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत आर्थिक वर्ष ०७६-७७ मा २ हजार ४३ जनाले रोजगार पाएका छन् । तर, स्थानीय तहले दीर्घकालीन फाइदा पुग्ने कार्यक्रम ल्याउन नसक्दा बजेटको सही सदुपयोग भएको छैन । हतारमा योजना बनाउँदा दीर्घकालीन फाइदा पुग्ने काममा बजेट खर्च गर्न नसकिएको स्थानीय तहका रोजगार संयोजक बताउँछन् । स्थानीय तहमा प्रभावकारी रूपमा काम नभएको भन्ने आफूले केही मात्रामा सुने पनि यस विषयमा अनुगमन गर्न आफ्नो भूमिका नरहेको जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण पराजुलीले बताए । प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन ऐन, २०७५ को निर्देशिकामा जिल्ला समन्वय समितिलाई कुनै भूमिका नदिइकन स्थानीय तहमा कार्यक्रम सञ्चालन गरेकाले निर्देशिका नै मन नपरेको उनको प्रतिक्रिया छ ।

प्रतिक्रिया दिनुहोस्