महिलालाई च्याउ खेतीसम्बन्धी तालिम «

महिलालाई च्याउ खेतीसम्बन्धी तालिम

कालिकोटका महिलालाई आत्मनिर्भर बनाउन च्याउ खेतीसम्बन्धी तालिम दिइएको छ । ग्रामीण महिलालाई उद्यमी बनाउन ग्रामीण पुनर्निर्माण संस्थाको आयोजना र जिल्ला कृषि विकास कार्यालयको प्राविधिक सहयोगमा तालिम दिइएको हो ।
नरहरीनाथ गाउँपालिका, सान्नि त्रिवेणी गाउँपालिका र तिलागुफा नगरपालिकाका २३ जना महिला र ३ जना पुरुषलाई ५ दिने च्याउ खेतीसम्बन्धी तालिम दिइएको जिल्ला कृषि विकास कार्यालयका प्राविधिक परशुराम काफ्ले बताए । तालिमले महिलालाई आयआर्जनका काममा सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे । “जिल्लामा च्याउको माग धेरै छ,” उनले भने, “त्यसको पूर्ति गर्न तालिम आयोजना गरिएको हो ।”
कृषि विकास कार्यालय कालिकोटका प्रमुख सुनिलकुमार सिंहले कृषि क्षेत्रबाट फाइदा लिन सक्ने ठाउँ धेरै भए पनि किसानलाई त्यसको बारे जानकारी नहुँदा आयआर्जनमा समस्या हुने गरेको बताए । “कृषि क्षेत्रमा आयआर्जनका स्रोतबारे जानकारी दिन पनि तालिम फलदायी हुने विश्वास गरेका छौं,” उनले भने ।

प्रतिक्रिया दिनुहोस्