अनुमति बिना क्रसर उद्योग सञ्चालनमा «

अनुमति बिना क्रसर उद्योग सञ्चालनमा

बाजुराको बडिमालिका नगरपालिका–८ बाहुली खोलामा अनुमतिबिना क्रसर उद्योग सञ्चालन भइरहेको छ ।
क्रसर उद्योग सञ्चालन गर्दा अनुमति लिनुपर्ने र वातावरणीय प्रभाव मूल्याकंन अध्ययन गर्नुपर्ने भए पनि कुनै प्रक्रिया पूरा नगरी उद्योग सञ्चालनमा रहेको पाइएको छ । स्थानीय सरकारको संरक्षणमा गैरकानुनी रूपमा क्रसर उद्योग सञ्चालन भएको स्थानीयको भनाइ छ । मार्तडी–कोल्टी सडक खण्डको ९ किमि कालोपत्रे जिम्मा पाएको धुलिखेल गाल्भा सेभन सेक्टर जेभीले खोलाको किनारमै क्रसर उद्योग स्थापना गरेर सञ्चालनमा ल्याएको हो ।
सदरमुकाम मार्तडीनजिकै १ वर्षदेखि बाहुली खोलामा क्रसर उद्योग सञ्चालनमा ल्याएको भए पनि बडिमालिका नगरपालिका, जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयले नदेखे जस्तो गरेको स्थानीयको भनाइ छ । क्रसर उद्योग सञ्चालनका लागि बडिमालिका नगरपालिका, जिल्ला समन्वय समिति, घरेलु तथा साना उद्योग विकास समिति, जिल्ला प्रशासन कार्यालयमा कुनै अनुमति नलिएको पाइएको छ । क्रसर उद्योग सञ्चालन गर्दा अनुमति लिनुपर्ने, वातावरणीय प्रभाव मूल्यांकन हुनुपर्ने, नदी तथा पुलभन्दा ५ सय मिटर टाढा हुनुपर्ने प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले बताए । तर त्यहाँ सञ्चालन भएको क्रसर उद्योगले अनुमति तथा कुनै पनि प्रक्रियामा नगएको उनले बताए ।
बाहुली नदी र पुलनजिकै क्रसर उद्योग सञ्चालन भइरहेको छ । वडामा सञ्चलनमा रहेको क्रसर उद्योग अनुमति लिए नलिएको बारे आफूलाई कुनै जानकारी नभएको वडा नं ८ का वडाध्यक्ष प्रकाश रावलको भनाइ छ । बडिमालिका नगरपालिकाका नगरप्रमुख पदम बडुवालले भने नगरपालिकामा निवेदन आएको त सुनिन हो, तर आफूलाई कुनै जानकारी नभएको बताए । उल्टै आयोजना कार्यालयले अनुमतिका लागि पत्राचार गरेको बडुवालको भनाइ छ । जिल्लामा क्रसर उद्योग सञ्चालन गर्दा स्थानीय सरकारको अनुमति र जिल्ला घरेलु उद्योग कार्यालयमा दर्ता हुनुपर्ने हो । खोल्न उपयुक्त छ या छैन भनेर अध्ययन गर्नु पर्ने भए पनि दर्ताबिना नै सञ्चालनमा आएको घरेलु तथा साना उद्योग कार्यालय बाजुराले जनाएको छ ।
दैनिक रूपमा ढुंगा, गिटी, बालुवा निकासीले भू–क्षयको चिन्ता स्थानीयबासीमा परेको छ । एकातिर बाहुली खोलाबाट ढुंगा, गिटी, बालुवा निकासी भइरहेको अर्कोतिर खोलानजिकै क्रसर उद्योग सञ्चालनले बाहुलीनजिक रहेको बस्ती र जग्गा पनि जोखिममा परेको छ । स्थानीय सरकार, प्रशासनको नजर पुग्ने ठाउँमा गैरकानुनी रूपमा क्रसर उद्योग सञ्चालन गरेको भए पनि नदेखे जस्तो गरेर उल्टै संरक्षण गरेजस्तो गरेको पाइएको छ । धुलिखेल गाल्भा सेभन सेक्टर जेभी कम्पनीका प्रतिनिधि दीप्रेन्द्र शाहीले भने अनुमति लिन बाँकी रहेको स्वीकार गरेको छ ।
नगरपालिकामा निवेदन दिएको छ, चाँडै प्रक्रियामा जाने बताए पनि दर्ता नगरी स्थापना गर्न नपाउने कानुनी प्रावधान छ । उद्योग सञ्चालनका लागि अनुमति दिँदा पनि वातावरण कानुनबमोजिम वातावरणीय प्रभाव मूल्याकंन गरेको हुनुपर्ने लगायतका कानुनी प्रावधान छन् । अहिले क्रसर उद्योग सञ्चालनका लागि जिल्लाका कुनै पनि निकायले अनुमति नदिएको पाइएको छ । बिनाअनुमति क्रसर उद्योग सञ्चालन हँुदासमेत स्थानीय सरकार मौन छ । कानुनविपरीत सञ्चालनमा आएका क्रसर उद्योगलाई स्थानीय सरकारले संरक्षण गरेको स्थानीयले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्