हाम्रो प्यानल नै विजयी हुनेमा कुनै द्विविधा छैन «

हाम्रो प्यानल नै विजयी हुनेमा कुनै द्विविधा छैन


औषधि उद्योगीका रूपमा पहिचान बनाएका उमेशलाल श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघमा वस्तुगततर्फ उपाध्यक्ष हुन् र उनले अर्को कार्यकालका लागि पनि सोही पदमा उम्मेदवारी दिएका छन् । राजनीतिक परिवारमा जन्मेर पनि दलीय राजनीतिमा संलग्न नभएका श्रेष्ठ मुलुकको व्यावसायिक र खेलकुदको राजनीतिमा भने सक्रिय छन् । महासंघमा चन्द्र ढकाल समूहबाट उम्मेदवारी दिएका श्रेष्ठले उद्योग समितिको सभापतिको जिम्मेवारी पनि सम्हालिसकेका छन् । श्रेष्ठ क्वेस्ट फर्मास्यूटिकल्स प्रालिका सञ्चालक तथा औषधि उत्पादक संघका पूर्वअध्यक्ष समेत हुन् । श्रेष्ठसँग उनको उम्मेदवारी दोहो-याउनुको औचित्य, आगामी एजेण्डा तथा गुटबन्दीले उत्पन्न चुनौतीलगायतका विषयमा कारोबारकर्मी सरस्वती ढकालले गरेको कुराकानी :

नेपाल उद्योग वाणिज्य महासंघमा लामो समय काम गर्नुभयो, वर्तमान कार्यसमितिमा पनि वस्तुगत उपाध्यक्ष नै हुनुहुन्छ, फेरि पनि सोही पदमा किन तपाईंको उम्मेदवारी ?
निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघमा एक दशकभन्दा बढी समय सक्रिय रूपमा काम गर्दै आएको छु । दुई कार्यकाल इन्जुरी कमिटी, एक कार्यकाल वस्तुगत परिषद् र अर्को एक कार्यकाल वस्तुगततर्फ उपाध्यक्ष भएर काम गरेँ । अनुभव, योग्यता र क्षमताका हिसाबले महासंघलाई मजस्तो व्यक्ति चाहिन्छ भन्ने लाग्छ । व्यावसायिक व्यक्तित्व त्यो पनि महासंघमा प्रत्यक्ष÷अप्रत्यक्ष रूपमा जोडिएपछि लक्ष्य भनेको एक दिन नेतृत्व तहमा पुग्ने नै हो । वस्तुगत परिषद्तर्फ दिनानुदिन संख्या बढ्दो छ । हिजोका दिनमा ९८ वटा वस्तुगत कमिटी थिए भने अहिले १ सय ३ वटा पुगिसकेका छन् । उहाँहरूका विभिन्न समस्या छन्, समस्या समाधानका लागि नै वस्तुगत परिषद् चाहिएको हो । मैले त्यसका लागि हिजोको दिनमा तीन वर्ष काम गरें । वरिष्ठ उपाध्यक्षका प्रत्याशी चन्द्रप्रसाद ढकाललगायतका सबै साथीहरूको अनुरोधमा मैले पुनः त्यही पदमा उम्मेदवारी दिएको हो ।

नयाँ उद्योगी–व्यवसायीहरू पनि जन्मिएका छन्, धेरैलाई महासंघमा आउने इच्छा होला, तर एउटै व्यक्ति दशकसम्म कुनै न कुनै भूमिकामा रहँदा अरूले अवसर कहिले पाउँछन् ?
मेरो यो वैधानिक अधिकार हो, यसमा कसैले केही भन्ने कुरा हुँदैन । हिजोका दिनमा पनि यस्तो दोहोरिने प्रचलन थियो । तीन पटकसम्म उपाध्यक्ष भएका व्यक्तिहरू छन्, यसमा आश्चर्य मान्नुपर्छ जस्तो लाग्दैन ।

यदि त्यसो हो भने तपाईंको जितको आधार के ?
विगत १२÷१३ वर्षसम्म लगातार महासंघमा मैले गरेको समर्पण नै मेरो जितको बलियो आधार हो । महासंघमा जुन प्रकारले सरकारसँग समन्वयकारी भूमिका निर्वाह गरेको छु, निजी क्षेत्रका साथीहरूसँग मिलेर काम गरेको छु, त्यसमा सफल पनि भएको छु । त्यसकै आधारमा साथीहरूको आग्रह मानेर नै वरिष्ठ नगई वस्तुगतमै बसेको हो । मेरो लक्ष्य त सगरमाथा पुग्ने नै हो, तर अहिलेका लागि क्याम्प ४, क्याम्प ५ तिर रोकिएको मात्रै हो ।

महासंघमा जुनसुकै प्यानल आए पनि भोलिका दिनमा अध्यक्षले मिलाएर काम गर्नुपर्छ । हालका वरिष्ठ उपाध्यक्ष अर्थात् आउँदो अध्यक्ष शेखर गोल्छाको भूमिकालाई कसरी लिनुहुन्छ ?
हालका अध्यक्ष भवानी राणा खुलेर कुनै पनि प्यानलमा लाग्नुभएको छैन जस्तो लाग्छ । हामीले जानी–बुझीकन वर्तमान अध्यक्ष र हुनेवाला अध्यक्षलाई विवादमा तान्न हुन्न । उहाँहरू आफैं पनि बुझेर विवादमा आउने काम गर्नुहुन्न । चुनावपछि पनि हामी सँगै बस्नु छ भने धेरै विभाजित हुनु र तेरो÷मेरोको भाव राख्न हुँदैन । शेखरजीले जे गर्दै हुनुहुन्छ त्यो गलत हो । जुन मर्मले विधान संशोधन गरेर वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने काम गरियो, उहाँले कसैलाई काखापाखा गर्न हुन्न । हामीले उहाँलाई भनेका पनि छौँ, तर व्यक्तिगत कारण भन्नुभएको छ । अहिले उहाँले हामीलाई असहयोग गरे पनि भोलिका दिनमा हामीले असहयोग गर्दैनौँ, किनकि जितेर जाने त हामी नै हो । हामी कुनै विरोधी दल होइनौँ । उहाँले त्यसो नगर्दा राम्रो हुन्थ्यो । चुनावपछि उहाँलाई असहयोग हुन्न, यसमा उहाँ निर्धक्क भए हुन्छ ।

वस्तुगततर्फको मतभार किन २० प्रतिशतमात्रै हुन्छ, जबकि १ सय ३ वस्तुगत कमिटी छन्, हैन र ?
महासंघको परिकल्पना ५४÷५५ वर्ष पहिला गर्दा वस्तुगतको खासै केही थिएन । त्यतिबेला १४-१५ वटा मात्रै थियो, अहिले बढेर १ सय ३ पुग्यो । त्यतिबेला नै मतभार कम थियो, अहिले पनि कम छ, यो सबैले अनुभूति गरेको कुरा हो । यसका लागि पहल गर्नुपर्छ । मेरो एजेन्डामा छ । विधान संशोधन भएमा अवश्य यो विषयले स्थान पाउँछ । यस अगाडिको विधान संशोधनका बेला ५ प्रतिशत बढाउने भनेर पहल भएको हो, केही कारणले हुन सकेन । अबको एजेन्डामा यो छुट्नै नहुने विषय हो ।

कोरोना महामारीले वस्तुगत क्षेत्रमा कस्तो प्रभाव पा-यो र त्यसको समाधानका लागि तपाईंका एजेन्डा के हुन् ?
औषधि, खाद्यान्न, दैनिक उपभोग्यबाहेक सबैमा समस्या छ । सबैभन्दा बढी प्रभावित क्षेत्र पर्यटन, साना मझौला उद्योग क्षेत्र हो । निर्यात क्षेत्र ठप्प छ । समग्र देशको अर्थतन्त्रमा ठूलो घाटा भएको छ । कोरोनाका कारण हामी साँच्चै भन्नुपर्दा १० वर्ष पछाडि धकेलिएका छौँ ।

वर्तमान कार्यसमितिले गर्न नसकेको र आगामी कार्यसमितिले छुटाउनै नहुने कामहरू के हुन् ?
आफ्नै कार्यकाललाई म आफैंले धेरै आलोचनात्मक रूपमा जानु पनि ठीक हुँदैन, किनकि म आगामी कार्यकालको पनि प्रत्याशी हो । निजी क्षेत्रले संयुक्त रूपमा आवाज उठाउँदा प्रभाव बलियो हुन्छ । एक÷दुईवटा मुद्दाबाहेक अरूमा मिलेर काम गर्न सकेको अवस्था छैन । नयाँ नेतृत्वले निजी क्षेत्रलाई एक बनाएर कार्यपद्धतिलाई सुधार गरेर जानुपर्छ । अहिलेसम्म एक÷दुई व्यक्ति हाबी हुने प्रचलन छ, त्यसलाई अन्त्य गर्नुपर्छ । सामूहिक नेतृत्वमा लैजानुपर्छ व्यक्तिमा जानु हुँदैन । अबको नेतृत्वले गइसकेपछि सबैभन्दा पहिला सचिवालयलाई चुस्त–दुरुस्त र व्यावसायिक बनाउनुपर्छ । सरकार र सरकारी निकायसँग समन्वय राम्रो हुनु जरुरी छ । निजी क्षेत्रले ७० प्रतिशत जीडीपी धानेको छ । सरकारबाट जति मान्यता पाउनुपर्ने हो, त्यो हामीले पाउन सकेका छैनौ । यसका लागि निजी क्षेत्र एकजुट भएर आफ्ना एजेन्डामा एउटै आवाज बनाउनुपर्ने जरुरी छ ।

तपाईंले टिमवर्कलाई प्राथमिकता दिनुभएको छ, तपाईंको टिमको बलियो पक्ष के ?
मेरो टिम नै सबल छ । यस अगाडिको चुनावमा पनि १४ जनामा १२ जना मेरो टिमका साथीहरूले नै जितेको हो । अहिले त्योभन्दा राम्रो नतिजा आउँछ । हाम्रो टिम समावेशी टिम छ । हाम्रो टिममा महिलाहरू अर्काे टिममा भन्दा धेरै सक्रिय हुनुभएको छ । चन्द्रजी, म र गुणनिधिजी एकदमै तल्लो तहबाट धेरै संघर्ष गर्दै माथि उठेका मान्छे हौँ । हामी कुनै व्यापारिक घरानाका थिएनौँ । महासंघले साना, मझौला उद्योगलाई हेर्दैन भन्ने छ, तर हामी त्यही परिस्थितिबाट आएका हौँ । हामीलाई वास्तविकता बुझ्न सजिलो छ । संघाईजी पनि कुनै दिन निकै मेहनत गरेर आएको व्यक्ति हो । हामीले सबै साथीका समस्या बुझ्न सक्छौँ । समस्यालाई समाधानमा लैजान सहयोग हुन्छ । यसपटक हाम्रो १६ जनाले नै जित्छ, कोही पनि छुट्नु पर्दैन ।

तपाईंको टिमको कमी–कमजोरी नै नभएको हो त ?
कहिलेकाहीं ओभर कन्फिडेन्स हुन्छ, हो हाम्रो कमजोरी हो । कति मेहनत गरिरहेको, जितिहालिन्छ नि भन्ने पनि लाग्छ । अर्कातर्फ हाम्रो टिमले खुराफात गर्दैन, आफ्नै तरिकाले काम गर्छ । अरूको संघमा गएर खैलाबैला मच्चाउने काम पनि गर्दैनौँ ।

महासंघको चुनावमा राजनीतिक गन्ध धेरै हुँदा योग्य व्यक्ति छनोट नहुने हो कि भन्ने पनि व्यवसायीको चिन्ताको विषय छ नि ? तपाईं त राजनीतिक घरानाको व्यक्ति पनि हुनुहुन्छ, आरोप लाग्दैन ?
अहिलेसम्म महासंघमा देखिने गरी राजनीति छिरिसकेको छैन । तर, महासंघभित्र विभिन्न विचारधारा बोक्ने, विचार, वादहरूको प्रतिनिधित्व गर्ने साथीहरू छन् । हामी व्यवसाय गर्ने व्यक्ति हो, यहाँ राजनीति प्राथमिकता होइन । अर्काे कुरा, म राजनीतिक घरानाको व्यक्ति हो, तर कहिल्यै राजनीतिमा गइनँ । म जे गर्छु व्यवसायमै गर्छु भनेर लागिपरेको छु । महासंघमा जुन पार्टी भए पनि गर्ने उद्योग–व्यापार नै हो । हामीलाई कांग्रेस भए पनि, कम्युनिस्ट भए पनि, राप्रपा भए पनि केही समस्या छैन । हामी उद्यमी–व्यवसायीहरूको एउटै सरोकारको विषय व्यवसायी र सरकारबीच नीति, नियम तथा कानुनका विषयमा एउटा पुलको भूमिका निर्वाह गर्ने हो । आर्थिक उन्नति नभएसम्म देशको उन्नति हुनै सक्दैन ।

प्रतिक्रिया दिनुहोस्