सेयर बजारमा फेरि ऐतिहासिक कारोबार «

सेयर बजारमा फेरि ऐतिहासिक कारोबार

Nepal Stock Exchange (NEPSE) building onTuesday, 9th January, 2018, showing recovery from the damages of 2015 earthquake. Photo: RSS


सेयर बजार परिसूचक (नेप्से) थोरै अंकले बढे पनि आइतबार बजारमा हालसम्मकै उच्च रकमको सेयर कारोबार भएको छ । कोरोनाका कारण अन्य आर्थिक गतिविधि ठप्प भएपछि लगानीकर्ताले लगानीको विकल्पको रूपमा सेयर बजारमा कारोबार गर्न थालेपछि पछिल्लो सातादेखि कारोबार रकम उच्च हुन थालेको हो ।
साताको पहिलो दिन आइतबार २०१ कम्पनीको ६३ हजार ५ सय ७० कारोबारबाट ६ अर्ब ८७ करोड ८७ लाख ८७ हजार रुपैयाँ बराबरको १ करोड ५९ लाख ६५ हजार ५२६ कित्ता सेयर खरिद बिक्री भएको नेप्सेले जनाएको छ । नेप्सेका अनुसार गत साताको अन्तिम दिन बिहीबार ६ अर्ब ११ करोडको सेयर कारोबार भएको थियो । आइतबार नेप्सेमा कारोबार रकम, कारोबार संख्या र कुल कजार पुँजीकरणका आधारमा समेत हालसम्मकै धेरै हो । तर, आइतबार दिनभर नेप्सेमा करिब ५० अंकको उतारचढाव देखिएको छ ।
निवर्तमान अर्थमन्त्री सेयर बजारप्रति असहिष्णु भएकाले पर्ख र हेरको मुडमा रहेका लगानीकर्ताहरू वर्तमान अर्थमन्त्री नियुक्त भएदेखि नै कारोबारमा झुम्मिन थालेका छन् । कारोबार रकम बढ्दै जाँदा सेयर बजारको आकार पनि ठूलो भएको छ । बजारमा कारोबार रकमले कीर्तिमान रख्दै गर्दा नेप्सेको बजार पुँजीकरण पनि २३ खर्ब ८८ अर्ब रुपैयाँ पुगेको छ । आइतबार कारोबार सुरु हुँदा १७७८.१२ अंकमा रहेको नेप्से परिसूचक ४.६९ अंकले बढेर १७८२.८१ पुगेको छ भने सेन्सेटीभ इण्डेक्स पनि करिब २ अंकले बढेको छ ।
नेप्सेमा आइतबार कारोबार भएका समुहगत परिसूचकमध्ये बैंकिङ २९.४४, विकास बैंक १३.४६ र अन्य समूह १.३५ अंकले वढेका छन् । तर वित्त ४.१७, जलविद्युत् २१.४३, लघुवित्त ४.८८, जीवन बिमा २७८.८१, निर्जिवन बिमा २४३.१४ होटल ८४.४९, व्यापार १२४.७७, उत्पादनमूलक ८९.२९ र सामूहिक लगानी कोष ०.२७ अंकले घटेका छन् ।

प्रतिक्रिया दिनुहोस्