मुक्तिनाथ विकास बैंकलाई यूरोपियन माइक्रोफाइनान्स अवार्ड २०२० «

मुक्तिनाथ विकास बैंकलाई यूरोपियन माइक्रोफाइनान्स अवार्ड २०२०

मुक्तिनाथ विकास बैंक ‘यूरोपियन माइक्रोफाइनान्स अवार्ड २०२०’ बाट पुरस्कृत भएको छ । अन्तर्राष्ट्रिय स्वतन्त्र विशेषज्ञ छनौट समितिले अध्ययन तथा अनुसन्धान गरी ‘यूरोपियन माइक्रोफाइनान्स अवार्ड २०२०’ को प्रथम पुरस्कारबाट मुक्तिनाथ विकास बैंकलाई पुरस्कृत गरेको हो ।
बैंकले साना तथा लघु बैंकिङ कार्यक्रममा आवद्ध न्यून आय भएका सदस्यहरुलाई प्रदान गरिरहेको नविनतम र ग्राहकमैत्री समावेशी बचत सेवाहरुको प्रभावकारिता र त्यसले सदस्यको जीवनमा पारेको सकारात्मक परिवर्तनबारे छनौट समितिले मूल्यांकन गरी प्रथम पुरस्कारबाट पुरस्कृत गरेको जानकारी दिएको छ ।
‘युरोपियन माइक्रोफाइनान्स अवार्ड २०२०’ को लागि ३७ राष्ट्रबाट ७० वटा संस्थाले सहभागीता जनाएका थिए । उक्त प्रतियोगिताका लागि उत्कृष्ट ३ मा नेपालबाट मुक्तिनाथ विकास बैंक लगायत वेनिन र ईथोपियाको १–१ वटा लघुवित्त संस्थाहरु छनौट भएका थिए ।
यो पुरस्कार वापत मुक्तिनाथ विकास बैंकले नगद १ लाख यूरो प्राप्त गरेको छ । यो पुरस्कार रकमबाट न्यून आय भएका सदस्यहरुलाई डिजिटल बैंकिङमा सहभागी गराउन विभिन्न कार्यहरु गरिने बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले जानकारी दिएका छन् ।
मुक्तिनाथ विकास बैंकको ४२ जिल्लामा रहेका १३८ वटा शाखामध्ये ११८ वटामार्फत साना तथा लघु बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । साना तथा लघु बैंकिङ्ग अन्तर्गत १ लाख ८० हजार भन्दा बढी ग्राहक सदस्यहरुले प्रत्यक्ष सेवा लिई रहेका छन् भने यो क्षेत्रमा १७ अर्ब भन्दा बढी लगानीमा रही रहेको छ ।

प्रतिक्रिया दिनुहोस्