‘उत्पादनले कहिले बजार पाउँछ ?’ «

‘उत्पादनले कहिले बजार पाउँछ ?’

सहकारी संघसंस्थाको विकास र सहकारी मार्फत उद्यमशीलताको प्रवद्र्धन गर्ने उद्देश्यका साथ आयोजित गोष्ठीमा सहकारीकर्मीहरूले आफूले उत्पादन गरेको उत्पादनले बजार पाउन नसकेको गुनासो गरेका छन् । सहकारी क्षेत्रको नेटवर्क ठूलो भएपछि यसमार्फत उत्पादित वस्तुको बजारीकरणबाट संघहरूको भूमिका प्रभावकारी नभएको उनीहरूको गुनासो थियो ।
कार्यक्रमममा रोल्पाबाट सहभागी सहकारीकर्मी यनारजन घर्तीले जिल्लामा सहकारीमार्फत सिस्नुको धुलो उत्पादन गरेको तर उक्त उत्पादनले बजार नपाउँदा काम नै बन्द गर्नुपरेको गुनासो गरे । “सहकारीमार्फत उत्पादन हुने वस्तुको संघहरूमार्फत ब्राडिङ र बजारीकरण गर्न नसकिए उद्यमशीलताबारे गफ गरेर मात्र उपलब्धी हँुदैन,” उनले भने । सहकारी बजारीकरणका लागि केन्द्रीय संघहरूले नेतृत्व लिएर काम गर्नुपर्ने उनले बताए ।
काठमाडौंको एक पार्टी प्यालेसमा सहकारीका सदस्यहरूलाई कसरी उद्यमशील बनाउन सकिन्छ भन्ने बहस चलिरहँदा बाहिर परिसरमा नेपाल मौरीपालन केन्द्रीय सहकारी संघका अध्यक्ष अर्जुन पोखरेल सहकारीमार्फत उत्पादित महको बिक्रीका लागि बसेका थिए । कारोबारसँगको कुुुराकानीमा उनले सहकारीमार्फत बस्तु उत्पादन र बजारीकरणमा समस्या रहेको र गोष्ठी मात्र गरेर उपलब्धी नहुने बताए । “सहकारीबाट उत्पादित सामान भण्डारण गर्ने, त्यसलाई प्रशोधन गर्ने, ब्रान्डिङ तथा बजारीकरणका लागि केन्द्रीय स्तरमा कुनै काम हुन सकेको छैन,” उनले भने, “त्यसैले सहकारीमार्फत उद्यमशीलता विकास गफमै मात्र सिमित भएको छ ।”
नेपालमा ३४ हजार सहकारी संघसंस्था स्थापना भए पनि अधिकांश बचत तथा ऋण कारोबारमा मात्र केन्द्रीत छन् । सहकारीमार्फत उत्पादन बढाउन सरकारले सहकारीले गर्ने उत्पादन तथा प्रशोधनका काममा अनुदान दिए पनि त्यसको प्रभाव खासै देखिएको छैन । केही सहकारी संस्थाले सुरु गरेको स–सानो लगानीका उद्योग तथा व्यवसायीक कृषि फार्मका उत्पादन आफ्ना सदस्य र स्थानीस्तरमा मात्र सिमित रहेको छ । विषयगत सहकारीका केन्द्रीय संघहरू स्थापना भएपछि यिनीहरू व्यवसायीक काममा सक्रिय नहुँदा सहकारीमार्फत मार्केटिङ तथा बजारीकरणको च्यानल विकास हुन सकेको छैन ।

“सहकारीमार्फत उत्पादन हुने वस्तुको संघहरूमार्फत ब्राडिङ र बजारीकरण गर्न नसकिए उद्यमशीलताबारे गफ गरेर मात्र उपलब्धी हुदैन ।”

गोष्ठीमा सहकारीमार्फत कसरी उद्यमशीलता विकासबारे कार्यपत्र प्रस्तुत गर्दै अन्तर्राष्ट्रिय श्रम संगठनको नेपाल कार्यालयका कार्यक्रम निर्देशक नविन कर्णले छरिएर रहेको पहुँचबाट उद्यमशीलता विकास गर्न सहकारी मोडल प्रभावकारी रहेको बताए । सहकारीमा धेरै व्यक्ति सहभागी हुँदा यसमार्फत व्यवसाय गर्न पुँजीको खाँचो नहुने, जोखिम धेरै जनामा विकेन्द्रीकरण हुने र उत्पादित सामानको बजारीकरणमा समेत सजिलो हुने उनको भनाइ थियो ।
कार्यक्रममा सहकारी विभागमा लामो समय काम गरेका कृषि अर्थविज्ञ विष्णुप्रसाद घिमिरेले सहकारीमार्फत विकास भएको उद्यमशीलतामा पु¥याएको योगदानबारे कुनै अध्ययन नहुँदा ओझेलमा परेको दाबी गरे । “वित्तीय सहकारीले पनि उद्यम गर्न ऋण दिएका छन्,” उनले भने, “तर, सहकारीको ऋण लगानीबाट भएको उपलब्धीबारे अध्ययन नहुँदा सहकारीको योगदान ओझेलमा परेको छ ।”
दुई दिनसम्म भएको गोष्ठीमा देशभरका २ सयभन्दा बढी सहकारीकर्मी सहभागी थिए । कार्यक्रममा सहकारी ऐनका अप्ठ्यारा पक्ष, सहकारीमार्फत दिगो विकास लक्ष्य प्राप्ति, गरिवी निवारण, उद्यमशीलता विकास, नेतृत्व विकासलगायतका विषयमा छलफल भएको थियो । गोष्ठीले शनिबार ७ बुँदे काठमाडौं घोषणापत्रसमेत जारी गरेको छ । घोषणापत्रमा सहकारी मूल्य मान्यता तथा सिद्धान्त पालन गर्ने, सहकारीमा महिला र युवाहरूको सहभागिता सुनिश्चित गर्ने, सहकारीका उत्पादन, प्रशोधन, वजारीकरणमा भूमिका बढाउनेलगायतका विषय समावेश छन् ।

प्रतिक्रिया दिनुहोस्