सहरी क्षेत्रमा फोहोर व्यवस्थापनको चुनौती «

सहरी क्षेत्रमा फोहोर व्यवस्थापनको चुनौती

विश्वका धेरै मुलुकले फोहोरको संकलन र फोहोर व्यवस्थापन गर्दै फोहोरबाट मोहोर बनाउँछन् । ती देशहरूले कुहिने र नकुहिने फोहोरको उचित व्यवस्थापन गरी अहिले रासायनिक मलको प्रयोग कम गर्दै प्राङ्गारिक र जैविक मलको उत्पादनमा निकै ठूलो फड्को मारिसकेका छन् । नेपालमा पनि यस किसिमको प्रयोग बढेको भए तापनि यसले खासै सार्थकता भने प्राप्त गर्न सकेको छैन । आज सहर–बजारको फोहोर व्यवस्थापनमा चुनौतीका चाङ दिनदिनै बढ्दै गइरहेको छ ।
आज नेपालमा खेती गर्ने समयमा रासायनिक मलको चरम अभावले किसानहरूले घण्टांैसम्म लाइनमा बसेर रासायनिक मल खरिद गर्नुपर्छ । यतिमात्र होइन कि यसपालि समयमा मल आयात नहुँदा बंगलादेश सरकारसँग पैंचो रासायनिक मल ल्याउनुपर्ने अवस्थासमेत सिर्जना भयो । नेपालमा रासायनिक मलको प्रयोग दिनप्रतिदिन बढ्दै गइरहेको छ । छोटो समयमा बढी उत्पादन गर्ने र मनग्य आम्दानी गर्ने अचुक औषधिका रूपमा रासायनिक मल र कीटनाशक औषधि प्रयोग गरिन्छ, जसको प्रत्यक्ष सेवन गर्नका लागि मानिसहरू तयारसमेत हुन्छ ।
नेपालमा बढ्दै गइरहेको अव्यवस्थित सहरीकरणको नाममा सहरमा एकपछि अर्को समस्याहरू देखिँदै गइरहेका छन् । सहरहरू व्यवस्थित नबन्दा सहरबाट बग्ने नदीहरू प्रदूषित भएका छन् । चेतनशील र शिक्षित मानिसको पनि आफ्नो दैनिक व्यवहार परिवर्तन गर्न नसक्दा आज नदीमा सीधै ढल मिसाएर वातावरण प्रदूषित गरिरहेका छन् । नदीमा मिसाइएको ढलका कारण नदी त फोहोर बन्ने नै भयो । नदीमा आश्रित जीव–जनावरको समेत लोप भएर वातावरणीय पारिस्थितिक प्रणालीमा समेत नकारात्मक असर पर्दै गइरहेको छ ।
जग्गाको कित्ताकाट र खण्डीकरणले अव्यवस्थित सहरीकरण बढ्दै गइरहेको छ । मानिसले आफ्नो सहज बसोबास सहर केन्द्रित गर्दा सहरमा बसोबासको चाप दिनदिनै बढ्दै गइरहेको छ, जसको परिणाम फोहोर व्यवस्थापनमा पर्दै गइरहेको छ । आज हप्ता दिनसम्म फोहोर व्यवस्थापन नहुने हो भने सहर दुर्गन्धित बन्छ । विभिन्न रोगको संक्रमण हुने निश्चित नै छ । उदाहरणका लागि आज काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा देखिएको समस्यालाई लिन सकिन्छ । यहाँ बसोबास गर्ने ५० औं लाख जनसंख्याले गर्ने फोहोरको व्यवस्थापन उचित किसिमले व्यवस्थापन हुन नसक्दा यस आसपासको जिल्लाको भर पर्नुपर्ने आसपासमा जिल्लाले पनि प्रदूषणको मार भोग्नुपर्ने अवस्थाको सिजना भइरहेको छ ।
यदि त्यस फोहोरलाई उचित व्यवस्थापन गर्न सकेमा, कुहिने र नकुहिने फोहोर आ–आफ्नो घरमा नै व्यवस्थापन गर्न सकेमा मात्र पनि सुन्दर सहरको परिकल्पना गर्न सकिन्छ । सरकार तथा सम्बन्धित निकायले पनि विभिन्न कार्यक्रमहरू सञ्चालन गरी फोहोरमैत्री सहरको अवधारणा ल्याउन जरुरी छ । घरमा कुहिने फोहोर व्यवस्थापन गरी गमला खेती, कौसी खेतीको विकास गरी आफ्नो दैनिक क्रियाकलापमा परिवर्तन गर्न सकिन्छ; जसको परिमाण एकातर्फ स्वच्छ वातावरणमैत्री सहर निर्माण हुन्छ भने अर्कातर्फ फोहोर व्यवस्थापनमा सरलता र सहजतासमेत हुन्छ । त्यसपछि सरकारले चाहेको हराबरा सहर, हाम्रो समृद्ध सहरको परिकल्पना यथार्थमा परिणाम हुन्थ्यो ।
बालकोट, भक्तपुर

प्रतिक्रिया दिनुहोस्