सोच रूपान्तरण «

सोच रूपान्तरण

समाजसेवाको नाममा देशको गरिबीका सूचीहरू विदेशीको हातमा दिन तयार एनजीओहरूलाई संरक्षण गरेर देशको विकास देख्ने सोचका लागि रूपान्तरण नै जरुरी छ ।


नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनको सँघारमा कोभिड–१९ पोजेटिभ भएर बसेका बेला उद्योग वाणिज्य संघको निर्वाचन वरपर रहेर देखेका केही सत्यतथ्य सूचकहरू नै भन्दा पनि हुन्छ । देशमा जनता छ, सरकार छैन । देशमा व्यवसायीहरू छन्, उद्योग वाणिज्य महासंघ छैन । करदाताहरू छन्, सम्मान छैन । सम्भावनाहरू छन्, स्थापित गर्न दिँदैनन् । यस्तो अवस्थामा देशको आर्थिक क्षेत्र, सामाजिक क्षेत्र र खासगरी माउ पार्टीहरूले चलाएको राजनीति पनि धरापमा छ । सोचलाई रूपान्तरण गर्नुपर्ने बेला आएको छ ।
सधैं पछौटेपनले ग्रसित मनोभावलाई बदल्नु जरुरी देख्छु । देश र जनताका बारेमा नयाँ बाटो सिर्जित गर्ने बाटोमा कसैले कतैबाट पनि जोखिम उठाउन खोजेको देखिन्न । प्रतिपक्ष दल छ र भन्ने अवस्था देखिरहेका छौँ । सत्ता पार्टीले कहींकतैबाट पनि राम्रो गर्न सकिरहेको छैन । आफैँभित्रको अव्यवस्थाका कारण टुक्रा–टुक्रा अवस्थामा प्रस्तुत भइरहेको छ । विश्वभरि फैलिइरहेको कोभिड–१९ ले हाम्रो अर्थव्यवस्थाले घुँडा नै टेकिसकेको छ । फेरि पनि केका लागि हामी लडिरहेका छौं ? यसको उत्तर कसरी खोज्ने हो ।
देश र जनतालाई सर्वोपरि राखेर बहुदलीय जनवादमा सर्वसत्ता हातमा हुँदा पनि हामी जनता टुहुराझैँ जीवनयापन गरिरहने हो भने, बलिया दुई छिमेकको प्रभावमा बन्दकी राख्दै जाने हो भने साहूले आसामीको घरजग्गा खाएको जस्तो परिदृश्य हामीले भोग्नु नपर्ला भनेर भन्न सकिन्न । ठालू पल्टेकाहरूलाई सम्झाउने बाटो र शब्दहरू हाम्रो शब्दकोशमा नभएरै होला कि वा उनीहरू जन्मजात बहिरा भएर हो कुन्नि देशले एकपछि अर्को समस्याको बाटो समाइराखेको देखिन्छ । मागेर अर्थतन्त्रको मल्हम लगाउनेभन्दा गरेर देशको अर्थतन्त्रलाई सबल बनाउने कार्यको थालनीका लागि सोचलाई रूपान्तरण गर्नु नै आजको आवश्यकता हो । यो आजको अराजक परिस्थितिको जिम्मेवारी लिने कोही नभएपछि हामीले जनस्तरबाट नयाँ सोच नै स्थापित गर्नुपर्छ भन्ने लाग्छ ।
देश ६० को दशकमा जुन अवस्थामा थियो, आज त्योभन्दा सबै सूचकांकहरूलाई हेर्ने हो भने खराव स्थितिमा देखिन्छ । वैदेशिक ऋणदेखि आत्मनिर्भरको पृष्ठभूमिलाई हेर्ने हो भने हामी ६० को दशकमा राम्रो अवस्थामा थियौँ । वैदेशिक व्यापारघाटादेखि परनिर्भरतामा हामी दबिँदै, थिचिँदै गएको देखिन्छ । हाम्रो अर्थतन्त्र कहाँनिर चुकेको छ ? हाम्रो देशको भू–राजनीतिमा कहाँ भूल भयो ? हाम्रो कूटनीति, राजनीति कहाँ फस्यो ? हाम्रो पञ्चशील कता हरायो ? हाम्रो आत्मनिर्भरता कोसँग गएर ओरालो लाग्यो ? यस प्रकारका अनेकन् प्रश्नहरूले आज हामीलाई जिस्क्याइराखेको देखिन्छ । चुनावका घोषणापत्रहरूमा लेखिएका के–कति हामीले पूरा गर्न सकेका छौँ ? कहिले हामीले हामीलाई यी सब प्रश्नको उत्तर दिने हो ?
खुला सिमाना र खुला बजारका कारण अतिक्रमित हाम्रो अर्थबजारलाई होस् वा हाम्रो आफ्नो बलबुतामा तयार पार्न सक्ने ऊर्जा बजार होस्, सबै कुनै न कुनै कारण अरूको प्रभावमा परेको छ । यो सब व्यवस्था बन्नुमा कसको कमजोरी हो भनेर हामीले प्रश्नसमेत गर्न सकेको देखिन्न । नखाऊँ भने दिनभरिको सिकार, खाऊँ भने कान्छाबाउको अनुहारजस्तै भएको छ । करिब ३ करोड नेपालीको देशमा हामी ३ सय करोडलाई व्यवस्थापन गर्न जस्तो ठूलो भारी सम्झिरहेका छौँ । देश चलाउन व्यवस्थापकीय कमजोरीको कारणहरूका लागि सोच रूपान्तर नै गर्नुपर्छ ।
आफंैले माथि पठाएका ती निरीह ठूला व्यक्तिहरूलाई सुलीमा चढाएर निकास आउँदैन । बरु उहाँहरूलाई लक्षित बनाउन नयाँ सोच र रूपान्तरणको सोच छ । यो देशले बन्दुकको बलमा पनि परिवर्तन गरेर हेरियो । अझै केही बन्दुकको बलमा थप कोसिस गरिरहेका छन् । केही आफ्नो वालाहरू र मुडे बलमा रूपान्तरणको भाषण गरिरहेका छन् । हामीले कति आफ्नो समय र कालखण्डलाई बलिदान दिने, अब हुन्न चुप लागेर बस्न । हरेक युवाहरूले देखेको सपनालाई साकार बनाउन हामी रूपान्तरको नयाँ उद्घोष गरौँ ।
जसरी हामीले, हाम्रा पुर्खाहरूले जहानियाँ शासनलाई हटाएर अर्कोलाई सुम्पेर गल्ती ग¥यौँ, त्यस्तै अर्को गल्ती हामीबाट भइसकेको छ । यो प्रायश्चित्तको यात्रा हो । आऔँ हामी प्रायश्चित्त गरौँ र रूपान्तरणसहित नयाँ सोच बनाऔँ । यो वा ऊ कुनै पनि कोणबाट हामी हाम्रो देशलाई उकालो लगाउने छाँट देखिरहेका छैनौँ । कडा कानुन, कडा शासन र जंगे शैलीको व्यक्तित्व आजको आवश्यकता हो । मकै पिन्दा घुन पनि पिसिन्छ, बरु हामी यो सहन गर्न तयार हुनुपर्छ । देश एकपल्ट सबल बनाउन हामीले बलिदान दिन परे पनि दिन सक्छौँ । बहुसंख्यक नेपालीहरूको भावनालाई आत्मसात् गर्दै यो सोच प्रस्तुत गरेको छु ।
सिंहदरबारबाट निस्केको सिंह र नारायणहिटीबाट निस्केको सिंहले हामीलाई खास कुनै अन्तर प्रदान गर्न सकेन । गाँठो फुकाएर भाग लगाएको प्रदेश, संघले आसेपासे र ‘ख’ वर्गका नेताहरूको व्यवस्थापन त ग¥यो तर देशले नयाँ बाटो समाउन भने सकेन । किनभने जब हामीले ‘क’ वर्गको दलबाट त कुनै आशा गर्न नसकिरहेका बेला ‘ख’ वर्ग र ‘ग’ वर्गका नेता र कर्मचारीहरूबाट के आशा गर्ने ? कहिलेकाहीं यो धर्तीको माटो नै यस्तो हो कि हाम्रो मूलको पानी नै तीनपानेभन्दा खराब हो भन्ने लाग्छ । तर जे होस्, समाजमा एकपल्ट देश हाँक्नेहरूप्रति वितृष्णा आएपछि नयाँ पुस्ता, नयाँ सोच र रूपान्तरण जबसम्म दलाल पुँजीपतिहरूको हातमा देशको कर्मचारीतन्त्र, देशका दलहरू रहन्छन् तबसम्म यही हाल हो ।
पञ्चायतीकालमा नमिता, सुनिता काण्डको व्यथा हेरेको थिएँ । बहुदलीय कालखण्डमा निर्मला काण्ड छ, फरक के हो ? सुन काण्ड होस् जहाँज खरिद होस्, हतियार खरिद होस् वा मूर्ति बेच्ने कार्य— यी सबै–सबै कालखण्डमा भएका छन्, विधि र विधान जस्तो बनाए पनि आफ्नो आचरण बदल्न नसक्ने, पात्र मात्र बदल्ने नीतिले हामी दिनप्रतिदिन कालो भुमरीतर्फ धकेलिरहेका छौँ । एउटा वा दुईवटा नेताले दसैंको खर्च राजढुकुटीबाट लिँदैमा वा नलिँदैमा सोचमा रूपान्तरण हुन सक्दैन । लिनु बरु पुग्ने गरी लिनु, जसका कारण भष्ट्र आचरणलाई शून्यमा ल्याउने गरी लिनु । अरुण प्रोजेक्ट होस् वा बूढीगण्डकी होस् वा अन्य यस्ता कैयौँ योजनाहरू, भष्ट्रचारले ओतप्रोत भएर हामी गरिबीको रेखामुनि पुगेको ठहर छ ।
समाजसेवाको नाममा देशको गरिबीका सूचीहरू विदेशीको हातमा दिन तयार एनजीओहरूलाई संरक्षण गरेर देशको विकास देख्ने सोचका लागि रूपान्तरण नै जरुरी छ । एउटा डाक्टरको अभियानलाई रूपान्तरण देख्ने विदेशी चलखेलमा रमाउने समूह पनि हाम्रो विकासको बाधक हो । हामीले रूपान्तरणका लागि ठूलो जमात तयार भएको अवस्थाचाहिँ हो, तर यसका लागि हामीले नेतृत्वको खोज गर्नु जरुरी छ । बेलाबेलामा हामीले आशा गरेको देखिएका विभिन्न प्रलोभनमा युरोपियन र छिमेकीहरूको लोभले पतनको बाटो लागे, त्यसैले देशको आर्थिक अवस्थालाई सहज बनाउन सबै क्षेत्र चुस्त र सुस्त नै हुन जरुरी छ । देशको अर्थतन्त्र बलियो बनाउने भनेको देश चलाउने निकाय र दलको नै सोचमा रूपान्तण गर्नु जरुरी छ । देश बनाउन हामीले त्याग गर्नुपर्नेछ ।
यो लेख लेखिरहँदा म घरभित्र आइसोलेसनमा बसिरहेको छु । यो बेलामा रेडियो वा टेलिभिजनबाट सुनेको, देखेको स्थितिले थप पीडा पा¥यो, जुन कोभिडको पीडाभन्दा बढी नै हो । देश जलिरहेको छ । हाम्रो देश चलाउनेहरू बाँसुरी बझाइरहेका छन्, त्यो पनि दलको ताल र धुन । यो धुन र तालले नेपालीहरू आक्रान्त बनेका बेला बन्द गर्नुपर्छ । लडाइँबाट हैन, सकारात्मक सोचसहित सोच रूपान्तरणको भावले । जहाँबाट निद्रा खुल्छ त्यहीं सबेरा (बिहानी) हुन्छ । आर्थिक विकास नै हाम्रो लक्ष्य हो, सबल अर्थतन्त्र नै हाम्रो सपना हो । सोच रूपान्तरण गरौं ।

प्रतिक्रिया दिनुहोस्