निर्वाचनको भोलिपल्टै गुटबन्दी अन्त्य हुनुपर्छ «

निर्वाचनको भोलिपल्टै गुटबन्दी अन्त्य हुनुपर्छ

महासंघमा स्वस्थ प्रतिस्पर्धा गर


नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारणसभा तथा निर्वाचन अर्को साता हुँदैछ । तर, साधारणसभाको मिति नजिकिँदै जाँदा निजी क्षेत्रबीच स्पष्ट विभाजन देखिएको छ । कोभिडका कारण अर्थतन्त्र थलिएको तथा राज्यबाट अपेक्षित स्टीमुलस प्याकेजसमेत आउन नसकेको अवस्थामा निजी क्षेत्र भने आफैंमा विवाद गरेर अलमलिनु निश्चय पनि शोभनीय होइन । अहिलेको अवस्थामा सर्वसम्मत नेतृत्व चयन गरेर आर्थिक एजेण्डामा मुलुक एकमत हुनुपर्ने थियो । तर, महासंघभित्र विभिन्न स्वार्थ समूह हावी हुँदा यो सम्भव भएन ।
पछिल्ला गतिविधि हेर्दा महासंघमा सहमतिको सम्भावना क्षीण र निर्वाचन अवश्यम्भावी छ । कुनै पनि लोकतान्त्रिक संस्थामा निर्वाचन स्वाभाविक भएजस्तै यसको परिणामलाई पनि स्वाभाविक रुपमा लिन सक्नुपर्छ । निर्वाचनमा विजयी हुने समूहले अहम्ता देखाउने र पराजीत हुने समूहले अर्को पक्षलाई असहयोग गर्नेजस्ता गतिविधि हुँदा विगतदेखि नै महासंघ कमजोर देखिएको हो । महासंघमा व्यक्तिको जीतहार आफैंमा ठूलो कुरा होइन त्यसैले संस्थालाई र समग्र निजी क्षेत्रलाई नै जिताउनेतर्फ आम व्यवसायीको ध्यान जानु जरुरी छ । यसका लागि निर्वाचन परिणामलाई स्वाभाविक रुपमा स्वीकार गरी आत्मसात गर्न सबै पक्ष तयार हुनुपर्छ ।
महासंघको ५४ औं साधारणसभा तथा निर्वाचन गत चैत अन्तिम साता नै हुनुपर्ने थियो । तर कोरोना महामारी नियन्त्रणका लागि लकडाउन गरिएका कारण सम्भव हुन सकेन । त्यसयता जेठ र साउनमा साधारणसभा र निर्वाचन गर्न मिति तय गरिए पनि हुन सकेन र अहिले मंसिर ११ गतेदेखि १३ गतेसम्मका लागि नयाँ मिति निर्धारण गरिएको छ । मुलुक कोरोना संकटमा रहेको, कोरोनाले अर्थतन्त्र नै शिथिल बनेको तथा स्वास्थ्यसम्बन्धी जोखिमसमेत यथावत रहेकाले यस्तो बेला निर्वाचनको जोखिम पनि उत्तिकै छ । तर, विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले लागू गरेको स्वास्थ्य प्रोटोकललाई पूर्ण पालना गरेर तथा सुरक्षाजन्य सामग्रीको उपयोग गरेर सरकारले दिएको सीमाभित्र रहेर निर्वाचन गर्नुपर्छ । निश्चय पनि यस्तो बेला सर्वसम्मत नेतृत्व चयन हुनुपर्दथ्यो र त्यो सर्वसम्मतिको पहल समयमै गरिनुपथ्र्यो । यसका लागि पूर्वअध्यक्षहरूको प्रभावकारी भूमिका अपेक्षा गरिए पनि त्यो पहल हुन सकेन र महासंघ निर्वाचनमा जानुपर्ने स्थिति पैदा भएको छ । महासंघजस्तो निजी क्षेत्रको प्रतिनिधिमूलक संस्थामा व्यवसायीले दिएको म्याण्डेटअनुसार तीन वर्षे कार्यकाल सकिइसकेको समितिले लामो समय कामचलाऊ नेतृत्व दिइहनु उपयुक्त पनि थिएन । यद्यपि कुनै पनि जीवन्त संस्थालाई निर्वाचनले थप गतिशील बनाउने भएकाले अहिलेको यसका सकारात्मक पक्ष पनि छन् ।
त्यसो त मंसिर १३ गतेसम्म महासंघमा दुई प्यानल भए पनि १४ गतेबाटै महासंघ एउटै प्यानल हो । आम व्यवसायीका समस्या समाधान र मुलुकको दिगो आर्थिक विकासमात्र यसको एजेण्डा हो । जसले जिते पनि महासंघ नेतृत्वको मूल स्पिरिट यही नै हुनु आवश्यक छ । कोभिडबाट सिर्जित समस्याको सम्बोधन नै पहिलो आवश्यकता हो । कोभिडले क्षतविक्षत पारेको अर्थतन्त्रलाई माथि उठाउन राज्य र निजी क्षेत्रको संयुक्त प्रयास पनि आवश्यक छ । यससँगै नेपालका परम्परागत समस्याहरू जस्तैः लगानीमैत्री वातावरण, श्रम सम्बन्ध, जग्गाप्राप्ति, वातावरण, भन्सार तथा करका दरहरूलगायत समग्र क्षेत्रमा पुनर्संरचना आवश्यक छ । नयाँ नेतृत्वले यसमै जोड दिएर महासंघको शाख बढाउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्