सूचीकृत कम्पनीहरू र लगानीमा ध्यान दिनुपर्ने पक्ष «

सूचीकृत कम्पनीहरू र लगानीमा ध्यान दिनुपर्ने पक्ष

लाभांश कम्पनीको मुनाफाले निर्धारण गर्दा पुँजीगत लाभ र मूल्यगत जोखिम कारोबार मूल्यले निर्धारण गर्छ ।

अर्थतन्त्रमा कोभिडको नकारात्मक प्रभावका बाबजुद नेपाली धितोपत्र बजारको परिसूचक र कारोबार बढ्दो छ । बढ्दो बजारमा लगानीकर्ता वा कारोबारीलाई वित्तीय विवरण, व्यावसायिक अवस्था, मुनाफा, लाभांश क्षमताजस्ता लगानीका आधारभूत कुरासँगै कम्पनी, विगत र वर्तमानसमेत मतलब नगरी केवल तत्कालीन मूल्य, मूल्यवृद्धि र पुँजीगत लाभलाई प्राथमिकता दिएको देखिन्छ । तर, लगानीकर्ताहरूले क्षणिक लाभभन्दा कम्पनीको व्यावसायिक चरित्र र लगानीका आधारभूत तथ्य केलाएर गरिने लगानी निर्णय लाभदायी मानिन्छ ।

समग्र पक्षहरू
लगानी भन्नेबित्तिकै कम्पनी, लाभांश, प्रतिफल र जोखिम जोडिएर आउँछ भने त्यसको मुख्य आधार व्यावसायिक अवस्था, वार्षिक वृद्धिदर (ग्रोथ रेट), मुनाफा, प्रतिसेयर आय (ईपीएस), सेयरको किताबी मूल्य (नेटवर्थ), मूल्य–आम्दानी अनुपात (पीई) जस्ता केही तथ्यांकीय आधारसँगै प्रवद्र्धक, सञ्चालक, व्यवस्थापन, विगत र लाभांश अवस्था तथा नीतिलाई लगानी निर्णयको आधार मानिन्छ । दीर्घकालीन लगानीमा कम्पनीको संस्थागत सुशासन, भावी रणनीति तथा योजना, प्रतिस्पर्धी क्षमता तथा बजारको अवस्था, नीतिनियमसँगै आर्थिक परिदृश्यसमेतलाई ध्यान दिनुपर्छ । यससँगै जोखिमवहन क्षमता, लगानीको स्रोत, नगद वा सेयर लाभांशको प्राथमिकता हेर्दै लागत र लाभको व्यवस्थापन तथा मूल्य अनुमानका लागि ग्राहम भ्यालुजस्ता विधिको सहयोग लिन सकिन्छ ।

बैंक तथा वित्त समूह
नेपाली धितोपत्र बजारको आधाभन्दा बढी हिस्सा ओगट्ने बैंक तथा वित्तीय संस्थाहरूमध्ये अहिले २६ वाणिज्य बैंक, १५ विकास बैंक, १६ वित्त र ४२ लघु वित्तका सेयर नेप्सेमा कारोबारमा छन् । सूचीकृतमध्येपनि कतिपय विकास बैंक, वित्त र लघुवित्तहरू मर्ज तथा प्राप्तिको प्रक्रियामा रहँदा कारोबारयोग्य कम्पनीहरू घटिरहेका छन् । नेपाल राष्ट्र बैंकको प्रत्यक्ष नियमन, नियामकीय नियन्त्रण र निर्देशनमा सञ्चालन हुने बैंक तथा वित्तीय संस्थाहरू हाल क) वाणिज्य बैंक, ख) विकास बैंक, ग) वित्त र घ) लघु वित्त गरी चार उपसमूहमा कारोबार तथा सूचीकृत छन् । यस समूहका कम्पनीले पैसाको कारोबार गर्दै मुख्यतः ब्याज, कमिसन तथा शुल्कबाट मुनाफा आर्जन गर्छन् । लगानी निर्णय गर्दा ईपीएस, नेटवर्थ, पीईसँगै पुँजी, पुँजी कोष वा पुँजी पर्याप्तता, लाभांश क्षमता जनाउने वितरणयोग्य मुनाफा, सञ्चित मुनाफा र साधारण जगेडा कोषमा ध्यान दिनुपर्छ । सबै सूचक सकारात्मक हुँदा पनि सञ्चित मुनाफा नकारात्मक भए लाभांश रोकिन्छ भने ब्याज अन्तर (स्प्रेड), सीसीडी (पुँजी–निक्षेप र कर्जा अनुपात), पुँजीकोष अनुपात (क्यापिटल एडिक्वेसी) र निष्क्रिय कर्जा (एनपीएल) तोकिएबमोजिम नभए नियामकले कारबाही गर्न सक्छ । यसबाहेक निक्षेप–कर्जा अनि समग्र व्यावसायिक र मुनाफाको वार्षिक वृद्धिदर, खुद ब्याज आय, कोषको लागत, आधार दरजस्ता सूचकहरूको तुलनात्मक अवस्थासँगै खुद मुनाफा र वितरणयोग्य मुनाफाको शुद्धता, सम्भावित कर्जा नोक्सानीका लागि पर्याप्त रकमको व्यवस्था (इम्पेरिमेन्ट-प्रोभिजन), डिबेन्चर रिडेम्पसन र नियामकीय कोषहरूमा पर्याप्त रकमको व्यवस्थामा ध्यान दिनुपर्छ ।

बिमा समूह
हाल ८ कम्पनी जीवन बिमा उपसमूह तथा १८ कम्पनी निर्जीविन उपसमूहमा सूचीकृत र कारोबारमा छन् । बिमा समितिको प्रत्यक्ष नियमन, नियामकीय नियन्त्रण र सञ्चालन निर्देशनमा सञ्चालन हुने बिमा कम्पनीहरूको मुख्य आय खुद प्रिमियम र लगानीमा प्रतिफल हो । यसरी आर्जित सबै रकम भने सेयरधनीको हुन्न, त्यसबाट निर्जीवन कम्पनीले बिमा र महाविपत्ति कोष तथा जीवन बिमा कम्पनीले जीवन बिमा र महाविपत्ति कोषमा रकम छुट्ट्याउनुपर्नेछ । आयबाट रकमान्तर र सेयरधनीका लागि उपलब्ध रकमको निर्धारण बिमांकीय मूल्यांकन (एक्चुअरी भ्यालुअसन) बाट मात्र निर्धारित हुन्छ । त्यसैले बिमा कम्पनीका प्रकाशित वित्तीय विवरणको मुनाफा र ईपीएस केवल अन्तिरिम हुने मान्यता राखिन्छ । वित्तीय विवरण अध्ययन र लगानी निर्णय गर्दा ईपीएस, नेटवर्थ, पीईसँगै जारी र नवीकरण भएको बिमा लेख, खुद प्रिमियम, बिमा कोषहरूको अवस्था, भुक्तानी गर्न बाँकी दाबीसमेतमा ध्यान दिनुपर्छ । अझ जीवन बिमा कम्पनीहरूको देखिने ईपीएसभन्दा बिमांकीयपछिको वितरणयोग्य आय निकै फरक हुने हुँदा जीवन बिमा कोषको आकार, दीर्घकालीन लगानी, बिमा लेख धितो कर्जासमेत हेर्नुपर्छ ।

जलविद्युत् समूह
यस समूहमा हाल ३६ कम्पनी कारोबारमा छन् भने नयाँ कम्पनी थपिने क्रम जारी छ । यी कम्पनीको प्रत्यक्ष नियमनका लागि हालै विद्युत् नियमन आयोग स्थापना भएको छ । जलविद्युत् कम्पनीले उत्पादन र बिक्री पूर्वनिर्धारित सम्झौता र दरमा हुने हुँदा अन्य उद्योग–व्यवसायमा जस्तो ग्राहक खोज्नु र मूल्यको मोलमोलाइ गर्नु पर्दैन । त्यसैले कम्पनीको सुनिश्चित आय र कम व्यावसायिक जोखिमपूर्ण मानिन्छन् । लगानी निर्णय गर्दै गर्दा ईपीएस, नेटवर्थ, पीईजस्ता आधारभूत कुराहरूसँगै वार्षिक ऊर्जा उत्पादन र बिक्री, बिक्री र मूल्य वृद्धिदर, उत्पादन लागत, ग्रिड कनेक्सन, सञ्चालन खर्च अनि निर्माणाधीन आयोजनाबाट उत्पादन र व्यावसायिक सञ्चालन मिति र वास्तविक लागतसँगै कम्पनीले सञ्चालन तथा स्वामित्वका विद्यमान विद्युत् आयोजनाहरूको लाइसेन्स अवधि, कर छुटको अवधि, प्रवद्र्धकहरूको प्रतिष्ठासमेतमा ध्यान दिनुपर्छ । मुख्य कच्चा पदार्थ खोलाको पानी, विद्युत् खरिद–बिक्री सम्झौता र सरकारको नीतिले कम्पनीहरूको आय नियन्त्रित र प्रभावित हुँदा थप आयोजना बनाउने अवस्थामा बाहेक पुँजीको आकार र आम्दानीसमेत सीमितसँगै सम्झौताअनुसार आयोजना हस्तान्तरण पछि कम्पनीको आय पनि अनिश्चित छ ।

व्यापार समूह
साल्ट ट्रेडिङ र विशाल बजार कम्पनीसहित केवल दुई कम्पनीको कारोबार हुने व्यापारिक समूह निकै कम सेयर आपूर्ति भएको समूह पनि हो । प्रत्यक्ष नियामक नभएका सरकारको संलग्नतासँगै विभिन्न कानुनी झमेलामा रहेका र नियमित वित्तीय विवरणसमेत प्रकाशित नगरेका यी कम्पनीहरूको वित्तीय अवस्था समेत थाहा नहुने अवस्थामा लगानीमा निकै सतर्क हुनुपर्ने देखिन्छ ।

उत्पादन तथा प्रशोधन समूह
अर्थतन्त्रको मुख्य आधार मानिने उत्पादन तथा प्रशोधन क्षेत्रका केवल ७ कम्पनी मात्र नेप्सेमा कारोबार भइरहेका छन् । हालै श्रीराम सुगर मिल्सको कारोबार रोकिएको अवस्थामा बोटलर्स नेपाल–बालाजु, बोटलर्स नेपाल–तराई, नेपाल ल्युब, युनिलिभर, हिमालयन डिस्टिलरी र शिवम् सिमेन्टमात्र लगानी तथा कारोबारका लागि उपलब्ध छन् । व्यावसायिक मुनाफासँगै सेयर माग र आपूर्तिमा असन्तुलनले बजारमा मूल्य प्रभावित हुने यस समूहका कम्पनीहरूमा लगानी गर्दा ईपीएस, पीई, नेटवर्थसँगै व्यावसायिक उत्पादनको माग र आपूर्तिको अवस्था अनि सञ्चालक र मुख्य सेयरधनीहरूलाई विशेष ध्यान दिनुपर्छ ।

होटल
यस समूहमा तारागाउँ, ओरियन्टल र सोल्टीसमेत केवल तीन कम्पनी मात्र कारोबारमा छन् । आतिथ्य सत्कारबाट आयआर्जन गर्ने तीनै पाँचतारे होटलहरू हाल कोभिडको अति प्रभावित छन्, तर पर्यटकीय र आतिथ्यका लागि चर्चित नेपालमा होटलहरूको व्यवसायको सम्भावना र चुनौती उत्तिकै रहन्छ । लगानी निर्णय गर्दा ईपीएस, नेटवर्थ, पीईसँगै होटलको विगतको व्यापार, मुनाफा र सम्भावना अनि सोल्टिको अंकित मूल्य रु. १० मात्र रहेकोमा ध्यान दिनुपर्छ ।

अन्य
थोरै कम्पनी तर बजार पुँजीकरणमा ठूलो हिस्सा ओगट्ने नेपाल दूरसञ्चार (टेलिकम), नेपाल पुनर्बिमा, हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी, नागरिक लगानी कोषसँगै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टसहित पाँच कम्पनीको कारोबार हुने यस समूहले धितोपत्र बजारलाई निकै प्रभावित गर्छ । विभिन्न क्षेत्रमा लगानी तथा कारोबार गरी मुनाफा आर्जन गर्ने यी कम्पनीहरूमा सरकारको समेत राम्रै लगानी रहेको अवस्थामा लगानी गर्दा ईपीएस, नेटवर्थ, पीईसँगै सरकारको नीति, व्यावसायिक अवस्थामा समेत ध्यान दिनुपर्छ ।
उल्लिखितबाहेक १५ म्युचुअल फन्ड कारोबारमा छन् । म्युचुअल फन्डमा लगानी गर्दा मूलतः खुद सम्पत्ति मूल्य (न्याभ) का आधारमा डिस्काउन्ट (छुट) वा प्रिमियमसँगै बजारको अवस्था, फन्ड व्यवस्थापक, विगतको लाभांशलाई ध्यान दिनुपर्छ । यस्तै केही डिबेन्चरहरूसमेत कारोबारमा आएका छन् । डिबेन्चरमा लगानी गर्दा ब्याजदर भुक्तानी अवधी (कुपन रेट), हालैको र आगामी ब्याज भुक्तान हुने समय अनि बजार मूल्यलाई ध्यान दिनुपर्छ ।
यसरी नेप्सेमा हाल विभिन्न धितोपत्रहरू १) बैंकिङ, २) विकास बैंक, ३) फाइनान्स, ४) माइक्रोफाइनान्स, ५) निर्जीवन बिमा, ६) जीवन बिमा, ७) जलविद्युत्, ८) होटल, ९) उत्पादन तथा प्रशोधन, १०) व्यापार, ११) अन्य र १२) म्युचुअल फन्ड उपसमूहगत कारोबारमा छन् । लाभांश कम्पनीको मुनाफाले निर्धारण गर्दा पुँजीगत लाभ र मूल्यगत जोखिम कारोबार मूल्यले निर्धारण गर्छ । हुन त कारोबार र मूल्यान्तरको नियमन सेवोनले गर्ने भए पनि प्रत्यक्ष र दरिलो नियमन नहुने कम्पनीका सेयरमा स्वार्थगत मूल्यान्तरको खेलबाट हुने मूल्यगत जोखिमप्रति लगानीकर्ता चनाखो हुनैपर्छ । बैंकिङमा पूर्वाधार बैंकबाहेक नयाँ कम्पनीकोे सेयर आपूर्ति सिर्जित जोखिम कम भए पनि बोनस सिर्जित आपूर्ति र मूल्यगत प्रभाव उल्लेख्य हुन सक्छ । बिमामा थप जीवन बिमा कम्पनीका सेयर आपूर्तिले मूल्य र बजारमा प्रभाव अनिश्चित छ । थप कम्पनी सूचीकरणमा नआए उत्पादन तथा प्रशोधन र व्यापार समूहका कम्पनीका सेयरको माग तथा आपूर्ति सिर्जित मूल्यगत जोखिम उच्च रहिरहनेछ । बढ्दो जलविद्युत् आयोजना वा कम्पनी सूचीकरणसँगै बढ्ने सेयरको आपूर्तिको मूल्य प्रभाव अनिश्चित छ ।

प्रतिक्रिया दिनुहोस्