रोजगारी सिर्जना र सीआईपीले मात्र नेतृत्व दाबी गरेको होइन «

रोजगारी सिर्जना र सीआईपीले मात्र नेतृत्व दाबी गरेको होइन

उद्योगपति रामचन्द्र संघई त्रिवेणी समूहका निर्देशक हुन् । त्रिवेणी स्पिनिङ मिल्सका सञ्चालकसमेत रहेका संघईलाई सरकारले उत्कृष्ट निर्यातकर्ताको रूपमा यस वर्ष महत्वपूर्ण व्यावसायिक व्यक्तित्व (सीआईपी) सम्मान प्रदान गरेको छ । महासंघमा डेढ दशकदेखि कार्यकारिणी समिति सदस्य रहेका संघई नेपाल धागो उत्पादक संघका महासचिव हुन् । संघईको नेतृत्वमा रहेको त्रिवेणी समूहले धागो उद्योगसहित बैंक, बिमा, चिया, सिमेन्ट, एलपी ग्यासलगायत दर्जनौं उद्योगमा लगानी गरेको छ । महासंघमा एसोसिएटतर्फ उपाध्यक्षमा उम्मेदवारी दिएका संघईसँग उनको उम्मेदवारीका विविध पक्षबारे कारोबारले गरेको कुराकानी :

डेढ दशकसम्म महासंघ कार्यकारिणी समितिमा रहेर पनि कहिल्यै कुनै समितिको समेत जिम्मेवारी नलिएको व्यक्ति एकैपटक उपाध्यक्षमा प्रतिस्पर्धा गर्नुभयो नि, किन ?
नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा मैले चन्द्र ढकाल समूहबाट एसोसिएटतर्फ उपाध्यक्ष पदमा उम्मेदवारी दिएको छु । तपाईंले प्रश्न गर्नुभएजस्तै म महासंघका लागि नयाँ उम्मेदवार होइन र मेरो लागि पनि महासंघ नौलो संस्था होइन । विगतमा मैले महासंघमा रहेर कुनै भूमिका नै निर्वाह नगरेको भने पक्कै होइन । कुनै पनि समितिको जिम्मेवारी नलिएको भन्दा पनि नदिइएको तपाईंमार्फत स्पष्ट पार्न चाहन्छु । झगडा गरेर जिम्मेवारी लिन मेरो स्वभावले दिएन । निश्चय पनि महासंघको फ्रन्टलाइनमा मलाई तपाईंहरूले देख्नुभएन होला, त्यसमा आफ्नो प्रचार नचाहने मेरो स्वभाव पनि कारण रह्यो । महासंघमा रहेर निजी क्षेत्रका लागि मैले गरेका कामको प्रचार गर्न सकिनँ र त्यो कमजोरी नै हो भने म स्वीकार्नसमेत तयार छु । गीतामा लेखिएको छ ‘कर्म गर तर फलको आशा नगर’ भनेजस्तै महासंघजस्तो निजी क्षेत्रको धरोहर संस्थामा सामूहिक हितको भावनाले गरिने कामको जस आफूमात्र लिनु हुँदैन भन्ने मान्यताको पक्षपाती हो म । महासंघ सफल भयो भने त्यहाँको अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र सदस्यहरूमात्र नभई सिंगो निजी क्षेत्र पनि सफल हुनेछ, तर महासंघ असफल हुने तर अमूक व्यक्ति सफल हुने कुरामा मलाई रत्तिभर विश्वास छैन ।

विगतमा सदस्यमै चित्त बुझाइरहनुभएको थियो । आफैंले भन्नुभयो कि समितिमा नरहे पनि काम गरिरहेको थिएँ भनेर, त्यसो भए यो वर्ष उपाध्यक्षमा नै उम्मेदवारी दिनुपर्ने त्यस्तो कारणचाहिँ के रह्यो ?
मैले उपाध्यक्षमा उम्मेदवारी दिने चर्चा चलेदेखि नै यो प्रश्न धेरैले सोध्नुभएको छ । महासंघमा १५ वर्षको अनुभवमात्र नभई हाम्रो समूह (त्रिवेणी ग्रुप) को व्यवसायमा पनि ३६ वर्षदेखि म निरन्तर संलग्न छु । यस हिसाबले म आफूलाई अब अनुभवी ठान्ने अवस्थामा आइपुगेको छु र हिजोका दिनमा जस्तो व्यवसायमा पूर्णकालीन समय दिइरहनुपर्ने अवस्था पनि मलाई रहेन । अहिलेको अवस्थामा आर्थिक विकास राज्यको एजेन्डा भएको छ र यसका लागि निजी क्षेत्रमार्फत अगाडि बढ्न तयार रहे पनि केही नीतिगत र केही कार्यगत विषयमा सरकार अलमलिएको देखिन्छ । मैले मेरो अनुभव महासंघमार्फत राज्यको नीति निर्माणको तहसम्म पु-याउन सक्छु र सँगसँगै मेरो व्यावसायिक विविधतामात्र नभई देशैभरका एसोसिएट सदस्य साथीहरूको भावनाको प्रतिनिधित्व गर्न आफूलाई योग्य ठानेकाले नै अहिले उपाध्यक्षमा उम्मेदवारी दिएको हो । मलाई व्यावसायिक र संस्थागत अनुभवका आधारमा अब नेतृत्व तहमा पुग्नुपर्छ भन्ने आत्मबोध भएर नै यो निर्णय लिएको हो भने सँगसँगै मेरा सयौं साथीभाइको सल्लाह, सुझाव तथा उत्प्रेरणा त यसमा छँदै छ ।

महासंघमा तपार्इंहरूको जस्तो विभिन्न क्षेत्रमा लगानी रहेको ठूलो घराना यसरी नेतृत्व तहमा पुग्दा निजी क्षेत्रले कतै साना–मझौला व्यवसायदेखि धेरै क्षेत्रका समस्या ओझेलमा पर्ने त होइनन् भन्ने चिन्ता पनि छ नि ?
महासंघजस्तो प्रजातान्त्रिक संस्कार बोकेको संस्थाले गर्ने काम र उठाउने आवाज कुनै गोप्य हुँदैनन् । हामीले राज्यलाई बुझाउने सुझावदेखि विभिन्न डेलिगेसनमा समेत मिडियालाई पनि सँगै लगिरहेकै हुन्छौं भने त्यसमा हाम्रो स्वार्थ बाझिन्छ कि भन्ने चिन्ता रहँदैन । महासंघमा हरेक क्षेत्रको उत्तिकै सशक्त प्रतिनिधित्वसमेत भएकाले ‘चेक एन्ड ब्यालेन्स’ पनि भइहाल्छ । यसैले म उद्योग व्यवसाय र महासंघमा काम गर्दा लिएको धैरे खालको अनुभवलाई महासंघमार्फत निजी क्षेत्रको हित तथा देशको आर्थिक विकासमा निस्वार्थ ढंगले योगदान गर्न चाहन्छु भनेरै अघि बढेको हो । यसमा आशंका गर्नेहरूलाई पनि म सम्मान नै गर्छु र उहाँहरूको आशंका निवारण म मेरो कामबाटै गर्ने प्रतिबद्धता पनि यहाँमार्फत व्यक्त गर्न चाहन्छु ।

औद्योगिक व्यावसायिक क्षेत्रका अहिलेका समस्यालाई कसरी हेरिरहनुभएको छ, त्यसको समाधानका लागि यहाँको रोडम्याप के हो ?
अहिलेको मुख्य समस्या भनेकै कोभिड–१९ बाट तहसनहस भएको व्यवासायिक क्षेत्रलाई पहिले पुरानै अवस्थामा फर्काएर त्यसको जगमा समग्र आर्थिक विकास गर्नु नै हो । निजी क्षेत्रमैत्री नीति निर्माणदेखि उद्योग व्यवसायको हितका लागि काम गर्नु नै मेरो मुख्य एजेन्डा हो । सरकारले हालै ल्याएको व्यावसायिक निरन्तरताका लागि ५० अर्बको कोषलगायत राष्ट्र बैंकको पुनर्कर्जाजस्ता कार्यक्रमको प्रभावकारी कार्यान्वयन हुन सके केही मात्रामा भने पनि राहत पाउने अवस्था रहन्छ । यसबाहेक श्रममैत्री औद्योगिक क्षेत्र निर्माण, श्रमिकको उत्पादकत्वलाई पारिश्रमिकसँग जोड्ने एवं क्षेत्रगत आधारमा न्यूनतम ज्यालादर निर्धारण मेरा एजेन्डा हुन् । वैदेशिक लगानी आकर्षणका लागि पहिले आन्तरिक लगानीको स्थितिमा सुधार हुनु आवश्यक छ । कतिपय क्षेत्रमा करका दरमार्फत पनि लगानीको वातावरण बनाइनुपर्छ । कच्चा पदार्थ र तयारी वस्तुको आयातमा रहेको न्यून भन्सारदरलाई फराकिलो बनाउनेदेखि स्वदेशी कच्चा पदार्थको उपलब्धता र प्रशोधनमा राज्यको सहयोगजस्ता विषयलाई नीतिगत संरक्षण गरिनुपर्छ । यस्तै, निर्यातजन्य उद्योगलाई संरक्षणका निमित्त नगद प्रोत्साहनसहित सेजलगायतका अवधारणाको प्रभावकारी कार्यान्वयन, कृषिसहित वित्तीय क्षेत्र, शिक्षा, स्वास्थ्य पर्यटनलगायतका क्षेत्रमा देखापरेका समस्याको सम्बोधन हाम्रो प्राथमिकतामा रहेका छन् ।

महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा अर्को टिममा हुनुहुन्छ । तपाईंले जित्नुभयो भने पनि यी एजेन्डा भोलिका दिनमा कसरी कार्यान्वयन होलान् ?
यसलाई मैले समस्याका रूपमा हेरेकै छैन । गोल्छाजी भोलिका दिनमा हामी सबैको अध्यक्ष हो र उहाँ सिंगो निजी क्षेत्रको नेता भएकाले हिजोका दिनमा केके भए भन्ने बिर्सनैपर्छ । चुनावलगत्तै महासंघ एकढिक्का भएर अगाडि बढ्नेछ । बरु हामी एसोसिएट समूहलाई त गोल्छाजी अध्यक्ष, चन्द्रप्रसाद ढकालजी वरिष्ठ उपाध्यक्ष हुने अवस्थामा निजी क्षेत्रभित्र एसोसिएट समूहका समस्या बुझ्ने टिम बन्नेछ र समाधान चाँडो हुनेछ भन्ने आशा गर्न सक्छौं । उहाँहरू दुवै जना रोजगारदाता परिषद्को सभापति भइसक्नुभएकाले भोलिका दिनमा महासंघमार्फत एसोसिएट क्षेत्रको एजेन्डा अगाडि बढाउन सहज हुने देखिन्छ ।

श्रमसम्बन्ध सुधारका लागि तपाईंका एजेन्डा के छन् ?
श्रम क्षेत्रमा विभिन्न समयमा भिन्न खाले समस्या देखिए पनि तिनको समाधान भने वार्ताकै माध्यमबाट हुनुपर्छ । श्रमिकको पनि रोजीरोटी चल्नुपर्छ र रोजगारदाताले पनि प्रतिफल पाउनैपर्छ । यसरी विन–विन गर्न नसकिने भन्ने छैन । यसो भयो भने उत्साहपूर्वक ठूलो लगानी गर्न सक्ने वातावरण बनाउन सकिन्छ । श्रमका समस्या जति लम्ब्याउँछौं उत्तिकै जटिल बन्दै जाने भएकाले चाँडो समाधान खोज्नुपर्छ ।

आत्मनिर्भर अर्थतन्त्रका पक्षमा पनि आवाज उठाइरहनुभएको छ नि ?
मुलुक सधैँ रेमिट्यान्सका भरमा चल्न सक्दैन भन्नेमा म प्रस्ट छु । वैदेशिक रोजगारीमा नेपालको औद्योगिक क्षेत्रलाई बढी भएका दक्ष श्रमिकमात्र पठाउने हो । यसैले मेरो एजेन्डा आत्मनिर्भर अर्थतन्त्र पनि हो । म आफैं निर्यातजन्य व्यवसायमा पनि संलग्न भएकाले यसको महŒव बुझ्न सक्छु । हामी धागो, तेल, दाल र चिया निर्यात गरिरहेका छौं । निर्यात व्यवसायलाई विविधीकरण गर्ने, एनटीआईएस सूचीका वस्तुको निकासीमा भएका समस्या पहिल्याउनेलगायत धेरै काम हामी गर्न सक्छौं ।

तपाईंलाई त राज्यले महत्वपूर्ण व्यावसायिक व्यक्ति (सीआईपी) को सम्मान पनि दिएको छ, यसले निर्वाचनमा कत्तिको अर्थ राख्छ ?
हाम्रो कम्पनी त्रिवेणी स्पिनिङ मिल्सले गत वर्ष सबैभन्दा धेरै निर्यात गरेका कारण सरकारबाट महŒवपूर्ण व्यावसायिक व्यक्ति (सीआईपी) सम्मान पाएको हो । निश्चय पनि यो मेरा लागि र हाम्रो कम्पनीका लागि मात्र नभई सिंगो निजी क्षेत्रका लागि नै गर्वको विषय हो । यसलाई निर्वाचनमा प्रचारको माध्यम बनाउनुभन्दा पनि म यो सम्मानको लायक हाम्रो निजी क्षेत्रलाई बनाउने प्रतिबद्धता जनाउँछु । खासगरी उत्पादन र निकासीका माध्यमले राज्यलाई योगदान पु¥याउने सन्दर्भमा निजी क्षेत्रबीच यस्तै स्वस्थ प्रतिस्पर्धा आवश्यक छ । अहिले पनि हाम्रो समूहअन्तर्गतका कम्पनीमा १५ हजारभन्दा बढीले रोजगारी पाइरहनुभएको छ र यस्तो सम्मानले थप रोजगारी सिर्जनाका लागि प्रेरित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्