कमजोर वितरण प्रणालीले गुणस्तरीय बिजुलीमा अवरोध

काभ्रेको पाँचखालस्थित ११ केभीको सबस्टेसनबाट गएको फिडरबाट पलाञ्चोक भगवती, दोलालघाट हुँदै कोशीपारीको माझीफेदादेखि माँदनकुँडारीसम्म बिजुली बल्छ । प्राविधिक रूपमा ११ केभीको फिडरबाट ११ किलोमिटर बिजुली प्रवाह हुनुपर्ने हो तर यस फिडरले झण्डै एक सय किलोमिटर धानेको छ ।
नेपाल विद्युत् प्राधिकरण पाँचखाल वितरण केन्द्रका प्रमुख मेघनाथ ढकाल पाँचखालबाट गएको ११ केभीको फिडरबाटै कोशीपारीसम्मका क्षेत्रमा बिजुली बलिरहेको र निर्माणाधीन माझीफेदाको सवस्टेशनपछि गुणस्तर बिजुली पु-याउन धेरै सहज हुने बताउँछन् । “गएको तिहारमा त त्यति धेरै बिजुली जाने समस्या त भएन तर वितरण प्रणालीको कुरा गर्दा पाँचखालबाट गएको फिडरले पलाञ्चोक हुँदै कोशीपारीसम्मलाई बिजुली सेवा दिएको छ, ६ महिनाभित्र सम्पन्न गर्ने गरी माझीफेदामा सवस्टेशन बनिरहेको छ, यो बनेपछि कोशीपारीका साथै रामेछापलाई समेत विद्युत् वितरण गर्न धेरै सहज हुन्छ,” उनी भन्छन् ।
विद्युत् प्राधिकरणका अनुसार, दुहबी ग्रिडबाट विराटनगरतर्फ गएका ३३ केभीका दुई फिडर ओभरलोड छन् । ढल्केबरबाट दुहबी ग्रिडसम्म आउने १३२ केभीको प्रसारण लाइनमा देखिएको चुहावटको समस्याले समेत विद्युत् आपूर्तिका लागि समस्या परेको छ । प्राधिकरणले दुई फिडर स्तरोन्नतिका लागि प्रक्रिया भने अझै बढाइसकेको छ तर यहाँ देखिएको लो भोल्टेजको समस्या समाधान भईसकेको छैन । गएको लक्ष्मीपूजा, तिहार र नेपाल संवदको बेला काठमाडौंसहित मुलुकभरका विभिन्न क्षेत्रमा ट्रान्सफर फ्यूज जाने, रुखका हाँगा लागेर लाइन चुँडिने, पुरानो र पातलो जम्परमा लोड बढ्दै गएर ओभर लोड हुने समस्या देखियो । माग धान्ने गरी बिजुली भएपनि यही समस्याले बिजुली झ्याप्प गइरह्यो ।
यी त केही उदाहरण मात्र होइन, पर्याप्त उत्पादन र वितरणको लागि ट्रान्सफर्मर भएर पनि वितरण र प्रसारणलाइनको अभावले बिजुली झ्याप्प जाने समस्या बढ्दो छ । कुनै वितरण लाइनमा समस्या आउनेवित्तिकै मर्मत सम्भार गर्ने र काम चलाउने परम्परागत कामचलाऊ प्रवृत्ति प्राधिकरणमा छ । कमजोर वितरण प्रणालीलाई सुधार्नका लागि प्रयास त भएका छन् तर लोडसेडिङ अन्त्यपछिको उत्पादनको आधारमा वितरण प्रणालीलाई बलियो र आधुनिक बनाउन भने प्राधिकरणले सकेको छैन ।
प्राधिकरणको तथ्यांकले ग्रीड सवस्टेशनहरूको क्षमता ४ हजार ५ सय एमबीए पुगेको छ । हाल करिब ४ हजार ३ सय एमबीएको सवस्टेशन निर्माण भईरहेको छ । प्राधिकरणका निमित्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार १२ सय मेगावाट धान्ने वितरण प्रणाली प्राधिकरणसँग छ तर उत्पादन १४ सय मेगावाटको हाराहारीमा पुगिसकेको छ ।
शाक्य गुणस्तरीय बिजुली प्रदानका लागि कमजोर वितरण प्रणाली अवरोधकको रूपमा देखिएको बताउँदै यसमा ध्यान केन्द्रित गरेर योजना अघि बढाउन लागिएको बताउँछन् । “पहिला लोडसेडिङ अन्त्य भएमात्र पुग्छ भनेर सहेका थिए, बिजुली नियमित नहुने समस्या बढ्दै जाँदा अब जनताले यसलाई सहदैनन, नियमित बिजुली खोज्छन्, समस्या बढाए ठूलो रूप लिँदै जान्छ,” उनी भन्छन्, “उत्पादन त पर्याप्त छ तर वितरण र प्रसारण प्रणाली कमजोर छ, अब वितरण प्रणाली सुधार्न केन्द्रित हुन्छु, अहिलेकै मुल्यमा नबढ्ने गरी हामीभन्दा विकसित देशले अपनाएको आधुनिक प्रणाली ल्याएर गुणस्तरीय बिजुली दिनु आवश्यक छ तर वितरण र प्रसारण राजमार्ग विस्तारमा ठूलो समस्या छ ।”
हुन पनि हरेक सर्वसाधारण उपभोक्ता आफ्नो घरमा २४ घण्टानै गुणस्तरीय बिजुलीको झिलिमिलि खोज्छन् तर वितरण र प्रसारण लाइन आफ्नो जग्गा र आगन अगाडीबाट नजाओस् भन्ने चाहन्छ । यसमा प्राधिकरणको पनि कमजोरी छ । वितरण प्रणालीको पोल र तारहरू व्यवस्थित गर्न नसक्दा यसको कारणले हुन सक्ने दुर्घटनाको खतराको कारणले सर्वसाधारण बिजुली पोल र तारदेखि त्रसित छन् । प्राधिकरणले वितरण प्रणालीलाई स्मार्ट बनाएर आफ्नो जग्गा वा आँगनबाट लाँदा सुरक्षाको दृष्टिकोणले कुनै खतरा हुँदैन भनेर सर्वसाधारणलाई बुझाउन सकेको छैन । शाक्य भने प्राधिकरणले भुमिगत वितरण प्रणाली सुरु गरिसकेको तथा वितरण प्रणालीलाई सुधारका लागि धेरै योजना अघि बढाउन लागेको बताउँछन् ।
एउटा फिडरमा समस्या आएमा पुरै क्षेत्रमै विद्युत् जाने समस्या अहिले छ तर प्राधिकरणले ११ केभीका वितरण लाइनहरूको ठाउँ ठाउँमा लोड ब्रेक स्वीच राखेर एकातिर बिजुली बन्दा हुँदा अर्कोतिर निरन्तरता दिने गरी वितरण प्रणाली व्यवस्थितका लागि प्राधिकरणले योजना अघि बढाएको छ । “एउटा फिडर मर्मत गर्दा पुरै बिजुली बन्द गर्नुपर्ने अवस्था आउन नदिन लोड ब्रेक स्वीचहरू राखेर विद्युत् अवरुद्ध कम गर्ने गरी योजना अघि बढाएका छौं, यसबारे वितरण ग्राहक छलफल सुरु भइसकेको छ,” उनले भने, “यो वर्ष प्राधिकरणको बजेटले भ्याएसम्म बनाउँछौ, अर्को बर्षदेखि निश्चित योजना र बजेट नै छुट्याएर काम हुन्छ ।”