ढकाल प्यानलका दुई केन्द्रीय सदस्य निर्विरोध निर्वाचित «

ढकाल प्यानलका दुई केन्द्रीय सदस्य निर्विरोध निर्वाचित

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल समूहबाट दुई जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन् ।
ढकाल समूहका उम्मेदवारहरू प्रदेश १ बाट केन्द्रीय सदस्यमा राजेन्द्र राउत र एसोसिएटतर्फबाट द्विराष्ट्रिय उद्योग वाणिज्य संघका सन्दीप अग्रवाल निर्विरोध निर्वाचित भएका हुन् । यसअघि मोरङ व्यापार संघको कार्यकारी सदस्य समेत रहेका उनी हाल नेपाल उद्योग वाणिज्य महासंघको प्रदेश नं १ को उपाध्यक्षसमेत हुन् ।
विराटनगर निवासी उनको यो विजयलाई ढकाल समूहले एक महत्वपूर्ण विजयका रूपमा लिएको छ । किनभने मोरङ अर्का वरिष्ठ उपाध्यक्षका प्रत्यासी किशोर प्रधानको गृह जिल्ला हो ।
ढकाल समूहका सदस्य तथा पदाधिकारीहरूले १ नं प्रदेशबाट नै यसरी विजय यात्रा सुरु भएकाले निर्वाचनमा आफूहरूको समूहको विजय सुनिश्चित भएको बताएका छन् ।
बिहीबार उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने अन्तिम दिन हो । बिहीबार ५ बजेसम्म पनि कसैको उम्मेदवारी नपरेपछि १ नं प्रदेशबाट राउत निर्विरोध हुनुभएको हो । त्यस्तै, उपाध्यक्षका उम्मेदवार ढकाल हालैमात्र निर्वाचन प्रचारका क्रममा १ नं प्रदेशको भेडेटारमा छन् । त्यस क्रममा ५२ जिल्ला नगर अध्यक्षसहित १ सयभन्दा बढी उद्योगी व्यवसायी त्यहाँ पुगेका थिए । त्यस क्रममा उनीहरूले ढकाललाई समर्थन गर्ने बताएका थिए ।
यहीं मंसिर ११–१३ मा काठमाडौंमा आयोजना हुने महासंघको ५४ औं वार्षिक साधारणसभा तथा निर्वाचनमा वर्तमान उपाध्यक्षहरू चन्द्रप्रसाद ढकाल र किशोर प्रधानले प्यानल नै बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

प्रतिक्रिया दिनुहोस्