लमजुङको हर्सिङडाँडामा प्याराग्लाइडिङ परीक्षण «

लमजुङको हर्सिङडाँडामा प्याराग्लाइडिङ परीक्षण

लमजुङ-उत्तरी लमजुङको ऐतिहासिक पर्यटकीय हर्सिङडाँडाबाट परीक्षण प्याराग्लाईडिङ भएको छ । मस्र्याङदी गाउँपालिका–३ अन्तर्गत ऐतिहासिक हर्सिङडाँडाको पर्यटन प्रवद्र्धनमा थप विकास गर्ने उद्देश्यसहित परीक्षण प्याराग्लाईडिङ भएको हो ।
मस्र्याङदी गाउँपालिकाको समन्वयमा पोखरास्थित ओपन स्काई प्याराग्लाईडिङ प्रालिले दुईवटा परीक्षण उडान गरेको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए । हर्सिङडाँडाबाट उडान भएको प्याराग्लाईडिङ सोही गाउँपालिकाको वडा नम्वर ८ भुलभुले कुवापानीमा अवतरण गरिएको थियो ।
परीक्षण उडानकै क्रममा गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले समेत प्याराग्लाईडिङको अनुभव लिएका थिए । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनेसँगै विस्थापन हुने अनुमान गरिएको प्याराग्लाईडिङलाई प्रदेशका अन्य जिल्लाहरुमा पनि स्थापित गर्ने प्रदेश सरकारको कार्यक्रम रहेको छ । सोहि अनुरुप मस्र्याङदी गाउँपालिकाले पनि ऐतिहासिक हर्सिङडाँडालाई प्याराग्लाईडिङको गन्तव्य बनाउने लक्ष्य राखेर परीक्षण उडान गरेको अध्यक्ष गुरुङको भनाइ छ ।
पहिलो पटक गरिएको परीक्षण उडान सफल भएसँगै हर्सिङडाँडा प्याराग्लाईडिङको लागि उपयुक्त गन्तव्य रहेको अनुमान गरिएको छ । परीक्षण उडान सफल भएसँगै यसको सम्भाव्यतालाई थप अध्यन गरी आवश्यक विकास र प्रवद्र्धनका लागि सरोकारवालासँग आवश्यक सहकार्य गरी अघि बढ्ने अध्यक्ष गुरुङको भनाइ छ ।
पालिकाभित्र नै पहिलो पटक गरिएको प्याराग्लाईडिङमा ओपन स्काई प्याराग्लाईडिङ प्रालिका फ्लाईट पाइलट नुरेन रानाले गाउँपालिका अध्यक्ष गुरुङलाई लिएर उडाएका थिए भने अर्का फ्लाइट पाइलट सुमन मगर एक्लैले प्याराग्लाईडिङ उडाएका थिए ।
अंग्रेज नेपाल युद्धका नाईके सरदार भक्ति थापाको जन्मथलो समेत रहेको हर्सिङडाँडाको प्रवद्र्धनका लागि यसअघिनै विविध गतिविधि गरेको गाउँपालिकाले प्याराग्लाईडिङको गन्तव्य बन्नसके थप पर्यटक आकर्षण गर्न सकिने मस्र्याङदी–३ का वडा अध्यक्ष प्रेम बस्नेतले बताए । कोभिड–१९ को प्रभावका बावजुत पनि पछिल्लो समय दैनिक ४०÷५० जना आन्तरिक पर्यटक हर्सिङ डाँडा पुग्ने गरेका छन् । उक्त ऐतिहासिक स्थलमा थप पर्यटकीय संरचना निर्माण गर्नसके अझै थप स्वदेशी तथा विदेशी पर्यटक आकर्षण गर्न सकिने स्थानीयको विश्वास छ ।
विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्गअन्तर्गत मस्र्याङदी–३ खुदीबजारबाट साढे १२ किलोमिटर दूरीमा रहेको हर्सिङडाँडामा हाल कच्ची मोटरबाटो निर्माण भइसकेको छ । सरदार भक्ति थापाले बाल्यकालमा वस्तु चराउने तथा खेल्ने थलोको रुपमा चिनिएको हर्सिङ डाँडामा अझैपनि ऐतिहासिक सम्पदाका वस्तुहरु रहेको बताइएको छ ।
समुन्द्री सतहबाट दुई हजार दुई सय ६० मिटर उचाइमा रहेको हर्सिङडाँडा प्राकृतिक दृष्यावलोकनका लागि पनि महत्वपूर्ण मानिन्छ । उक्त स्थानबाट बुद्ध, हर्कपिक, ङादी पिक, हिमचुली, लमजुङ, माछामुच्छ्रेलगायतका दर्जनौं हिम श्रृंखला देख्न सकिन्छ । हर्सिङडाँडाको प्रवद्र्धनसँगै नजिकै रहेका ढंगै र सिउरुङमा यसअघिनै व्यावसायिक होमस्टे सञ्चालनमा आएका छन् । व्यावसायिक व्याराग्लाईडिङ सुरु भएसँगै उक्त होमस्टे गाउँहरुमा पनि थप पर्यटकीय चहलपहल हुने विश्वास गरिएको छ ।
जिल्लामा व्यावसायिक प्याराग्लाईडिङ नभएपनि यसअघि विभिन्न मेला तथा महोत्सवको अवसरमा विभिन्न डाँडाहरुबाट प्याराग्लाइडिङ उडान हुँदै आएको छ । सो बाहेक पूर्वी लमजुङको ऐतिहासिक राईनासकोटबाट पनि व्यावसायिक प्याराग्लाईडिङका लागि सफल परीक्षण भइसकेको छ भने व्यावसायिकताको लागि पहल पनि सुरु भई आवश्यक संरचना निर्माणको तयारी भइसकेको छ ।
पछिल्लो समय पोखराबाट प्याराग्लाइड विस्थापित हुने हल्लासँगै नयाँ सम्भाव्यता खोजी भइरहेका बेला लमजुङको राईनासकोट, हर्सिङडाँडा, बेसीशहरको पुमालगायतका ठाउँहरुको सम्भाव्यताले व्यावसायिक प्याराग्लाइड गर्नेहरु उत्साहित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्