बैंकिङ क्षेत्रको वर्तमान परिदृश्य

बैंकिङ क्षेत्रलाई विकासको संवाहकका रूपमा हेरिन्छ । देशको बृहत्तर आर्थिक विकासमा बैंकिङ क्षेत्रले प्रत्यक्ष वा परोक्ष रूपमा ठूलो योगदान पुराएको छ । देशको समग्र जीडीपीमा बैंकिङ क्षेत्रको योगदान करिब ९ प्रतिशत रहेको छ । वर्तमान परिस्थितिसम्म आइपुग्दा बैंकिङ क्षेत्रले अनेकन आरोह–अवरोह झेल्दै आइरहेको छ । पछिल्लो समयसम्म आइपुग्दा नेपाली अर्थतन्त्रमा २८ वटा वाणिज्य बैंक, ३३ वटा विकास बैंक, २४ वटा वित्त कम्पनी, ६६ वटा माइक्रोफाइनान्स रहेका छन् ।
बैंकहरूको नियामक निकाय नेपाल राष्ट्र बैंकले २०७२ सालमा ल्याएको पुँजी वृद्धिको निर्देशनबमोजिम सबै बैंक तथा वित्तीय संस्थाले आफ्नो पुँजीमा वृद्धि गरेको अनुपात भन्दा कर्जा लगानी अनुपात निकै कम भएकाले कर्जा लगानीमा दबाब सिर्जना भएको छ, जसको परिणामस्वरूप कर्जा लगानी गर्दा पालना गर्नुपर्ने न्यूनतम मापदण्ड पनि पूरा गर्नमा बैंक तथा वित्तीय संस्थाहरू चुकेको देखिन्छ । जसले दीर्घकालीन रूपमा आर्थिक गतिविधिमा नकारात्मक असर पर्न गई बचतकर्ताको बचतमा समेत असरहरू देखा पर्न जाने अनुमान गर्न सकिन्छ । यस आर्थिक वर्षको गएको दुई महिनामा कर्जाको वृद्धि पछिल्लो आर्थिक वर्षको दुई महिनाको तुलनामा ४६ अर्ब रुपैयाँले वृद्धि भएको छ, जुन वृद्धिदर ५३.५० प्रतिशतले बढी हो । यसरी पछिल्लो समयको डाटा हेर्दा कर्जा प्रवाह २१.२० प्रतिशतले वृद्धि हुँदा बचत परिचालन १६ प्रतिशतले मात्र वृद्धि भएको छ, जसको परिणामस्वरूप पुनः बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेको छ ।
अर्कातर्फ यस आर्थिक वर्षको हालसम्ममा विकासतर्फ कुल बजेटको ५.५ प्रतिशत मात्र खर्च हुनुले पनि बजारमा बचतको परिचालन कम भएको बुझ्न सकिन्छ । देश संघीय संरचनामा गएको र विकास–निर्माणले राम्रो गति पाउने अनुमान आमनागरिकमा रहे पनि सोअनुरूप विकासले गति लिन सकेको छैन । सरकारी खर्चमा कमी आउनु, लगानीका लागि एथोचित वातावरण नहुनु, पर्वहरूका लागि आवश्यक रकम बैंकिङ सिस्टमबाट बाहिरिनु जस्ता विविध पक्षले गर्दा बचत परिचालनमा कमी आएको अनुमान लगाउन सकिन्छ ।
यदि यही गतिमा कर्जा प्रवाह वृद्धि हुदै जाने र बचत परिचालनको दर यही रहन गएको खण्डमा बैंकिङ क्षेत्रमा फेरि लगानी योग्य रकमको कमी हुन गई पुनः लिक्युडिटी क्रन्च आउन सक्ने कुरा अनुमान लगाउन सकिन्छ । साथै अहिले बजारमा देखिएको कर्जा लगानीका अवसरहरूको उचित मूल्याङ्कनबिना आफ्नो संस्थाको वासलात ठूलो देखाउनका लागि हतारमा निर्णय गर्दा दीर्घकालमा यसले पक्कै पनि राम्रो नतिजा दिन्छ भन्ने छैन ।
बैंकिङ् क्षेत्रमा हाल देखिएको परिदृश्यलाई नियाल्दा हाल देखिएको लगानी–ऋण अनुपात हेरेर लगानी गर्दै जाने हो भने भविष्यमा लगानीकर्ताले आफ्नो लगानीको प्रतिफल खोज्ने भन्दा पनि आफूले गरेको लगानीको रकम नै खोज्नुपर्ने समय नआउला भन्न सकिँदैन । पछिल्लो डाटाअनुसार हाम्रो छिमेकी मुलुक भारतमा एनपीएल १० प्रतिशत रहेको सूचना प्रकाशित भएकोमा नेपालमा भने २.२३ प्रतिशत मात्र त्यस्तो खराब कर्जा छ । यदि यही गतिमा अस्वस्थ प्रतिस्प्रर्धा गर्दै जाने हो भने त्यसको नतिजा पक्कै पनि उल्टिन समय लाग्नेछैन ।
समग्रमा हाल नेपाली बैंकिङ क्षेत्रको स्थायित्व र गुणस्तरीय लगानी गर्नेका लागि सम्पूर्ण सरोकारवालाहरू, व्यवस्थापन र कर्मचारी सबैले बेलैमा सोचविचार गरी छिटो प्रतिफलमुखी हुनुभन्दा दीर्घकालीन रूपमा स्थायी किसिमको प्रतिफल खोज्नु उपयुक्त देखिन्छ । त्यसैले पुँजी वृद्धिको अनुपातमा कर्जा लगानी वृद्धि गर्नका लागि अस्वस्थ प्रतिस्पर्धा गरी जोखिम मोल्नुभन्दा दीर्घकालीन किसिमको प्रतिफल हुने र बचतकर्ताको बचत सुरक्षित हुने गरी लगानी गर्न जोड दिनु राम्रो देखिन्छ ।
–कृष्णप्रसाद घिमिरे