पुल मर्मतपछि जोगबनीबाट आयात–निर्यात «

पुल मर्मतपछि जोगबनीबाट आयात–निर्यात

विराटनगर: विराटनगर भन्सार नाका जोड्ने भारत बथनाहस्थित मिरगञ्ज पुल सोमबारदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ । पुल सञ्चालनमा आएसँगै मोरङ–सुनसरी औद्योगिक क्षेत्रका उद्योगीहरू खुसी भएका छन् । गत साउन २७ र २८ गते आएको बाढीले पुलमा क्षति पुगेको थियो । त्यसपछि भारतीय पक्षले पुलबाट मालबाहक सवारीको आवतजावतमा रोक लगाएको थियो ।

भारतीय पक्षले पुलको मर्मत सकेपछि आइतबार ३० टनको मालबाहक सवारीबाट परीक्षण गरिएको थियो । सोमबार पनि ३५ र ४० टनका मालबाहक सवारी पुलबाट प्रवेश गराइएको थियो । “अब पुल पूर्ण रूपमा सञ्चालनमा आएको छ,” नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ का उपाध्यक्ष राजेन्द्र राउतले भने, “उद्योगी व्यवसायीलाई धेरै नै राहत भएको छ ।”

महासंघ, मोरङ व्यापार संघ, उद्योग संगठन मोरङलगायतका संघसंस्थाले पुलको मर्मतका लागि नेपाली र भारतीय पक्षलाई दबाव दिएका थिए । झँडै डेढ महिनादेखि मर्मतसम्भार भइरहेको पुलको निर्माण कार्य आइतबार सकिएको छ । फलामको पुल स्कुपाइलिङ हालेर मर्मतसम्भार गरेपछि पुल सञ्चालनमा आएको हो । आइतबार पुलको निर्माण कार्य सकिएपछि २ वटा मालबाहक सवारी साधन विराटनगर भन्सार प्रवेश गरेका थिए ।

सोमबार विराटनगर भन्सार कार्यालयमा रहेका दर्जनौं मालबाहक सवारीहरू मिरगञ्जकै पुलबाट भारततर्फ लागेका छन् । मंगलबारदेखि निर्बाध रूपमा दुवैतर्फबाट सवारीसाधन सञ्चालन हुने मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडाले बताए । मिरगञ्ज पुल सञ्चालनमा आएपछि मोरङ–सुनसरी औद्योगिक करिडोरका उद्योगीहरू उत्साहित भएका छन् । यो क्षेत्रका उद्योगीले आयात निर्यातका लागि यही मार्ग प्रयोग गर्दै आएका छन् ।

पुल भत्किएपछि डेढ महिनादेखि जोगबनी नाका हुँदै विराटनगर भन्सार प्रवेश गर्ने मालबाहक सवारी साधनहरू रिरुट हुँदै कोशी ब्यारेज भन्सारबाट पुनः विराटनगर भन्सारमा आउँथ्यो, जसको कारण एक कन्टेनरमा ५० हजारभन्दा बढी रकम खर्च उद्योगीहरूले बेहोर्नु परेको थियो । “करिब १ सय किलोमिटर लामो घुमाउरो बाटो प्रयोग गरेर सामान आयात निर्यात गर्दा ढुवानी खर्च अत्यधिक बढेको थियो,” उद्योग संगठन मोरङका उपाध्यक्ष राजकुमार गोल्छाले भने, “पुल सञ्चालनमा आएसँगै उद्योगीलाई धेरै नै राहत मिलेको छ ।” विराटनगर रानी भन्सार नाकादेखि मिरगञ्ज पुलको दूरी करिब ५ किलोमिटर छ ।

रेलमार्गको प्रयोग गर्दै व्यवसायीले कर्कटपाता र फलामे डन्डीका कच्चापदार्थ तथा सिमेन्टका कच्चापदार्थ क्लिङ्कर, जिप्सम, फ्लाई यास, कोइला एवम् खाद्य उद्योगमा प्रयोग हुने भटमासलगायतका सामग्री पैठारी गर्दछन् । बाढीले भत्किएको रेलमार्ग २ हप्तामै मर्मत गरिएको थियो । विराटनगर भन्सारले साउन र भदौमा कार्यालयले राजस्व संकलनमा ३० प्रतिशतसम्म ह्रास बेहोर्नुपरेको जनाएको छ । कोशीब्यारेजको भन्टाबारी नाका हुँदै सामान आयात गर्दा व्यवासायीहरूलाई अनावश्यक झन्झट, ढुवानी भाडा महँगो र समय पनि बढी लाग्ने भएकोले तत्काल पुल मर्मत गर्न दबाव परेको थियो ।

प्रतिक्रिया दिनुहोस्