नेपाल रग्बी संघलाई विश्व रग्बीको सदस्यता «

नेपाल रग्बी संघलाई विश्व रग्बीको सदस्यता

नेपाल रग्बी संघलाई विश्व रग्बीको मान्यता प्राप्त भएको छ । बिहीबार संघले सूचना जारी गर्दै नेपाल रग्बीले विश्व रग्बीबाट एसोसिएट सदस्यता प्राप्त भएको जानकारी दिएको हो ।
‘विश्व रग्बीको २०२० अक्टोबर १८ मा सम्पन्न बैठकबाट नेपाल रग्बी संघलाई एसोसिएट सदस्यता प्राप्त भएको छ,’ संघले सूचनामा बताएको छ ।
यसअघि सन् २०१८ मा संघलाई एसिया रग्बी महासंघको पूरक सदस्यता प्राप्त भएको थियो । त्यसअघि सन् २०१२ देखि नेपालमा रग्बी संघ स्थापना भएर काम गर्दै आएको छ ।
‘विश्व रग्बीको सदस्यता पाउनु हाम्रो मुख्य उपलब्धि हो। घरेलु र बाह्य प्रतियोगितालगायत रग्बी खेलको लागि सम्बद्ध सबै पक्षको साझ उपलब्धि हो,’ संघले बताएको छ ।
संघको सदस्यताका लागि नेपाल ओलम्पिक कमिटी, राष्ट्रिय खेलकुद परिषद् र एसिया रग्बीले सहयोग गरेका थिए । संघले सदस्यता पाएसँगै थप जिम्मेवार भएको भन्दै यो जिम्मेवारीलाई निर्वाह गर्न तयार रहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्