कृषकले ड्यामको पानी सिँचाइ गर्न पाएनन् «

कृषकले ड्यामको पानी सिँचाइ गर्न पाएनन्

दाङ-बृहत् दाङ उपत्यका सिंँचाइ आयोजनाले घोराही उपमहानगरपालिका–१८ गिठेपानीमा सिँचाइका लागि ड्याम निर्माण गरे पनि हालसम्म कृषकले सिँचाइ गर्न पाएका छैनन् । उक्त स्थानमा ड्याम निर्माण भएको ३ वर्ष बितिसकेको छ । तर कृषकहरूले सिँंचाइ गर्न पाएका छैनन् ।
अहिले ड्यामको पानी हेरेर कृषकहरू चित्त बुझाउन बाध्य छन् । नजिकै तोरीखेती गरिएको छ पानी नपाएर तोरी सुक्न थालिसकेको छ तर सिँचाइका लागि निर्माण गरिएको ड्यामबाट लामो समयसम्म पनि सिँचाइ हुनसकेको छैन । सिँचाइको सुविधा भएर पनि तरकारीमा पानी सिँचाइ गर्न पाएका छैनन् । पानी भएपछि तरकारी खेती गरौंला भन्ने कृषक पनि समस्यामा परेका छन् । ड्याम निर्माण भएको लामो समयसम्म पनि स्थानीय बासिन्दाले उपभोग गर्न नपाएको गिठेपानी सिँंचाइ ड्याम जलउपभोक्ता समितिका सचिव दिनेश वलीले जानकारी दिए । “ड्याममा भएको पानीको समेत प्रयोग गर्न पाइएको छैन,” सचिव वलीले भने । सिँंचाइ गर्न पाएको भए तोरी उत्पादनसमेत बढने उनको भनाइ छ । आफूहरूले पटकपटक काम छिटो सम्पन्न गर्न भने पनि कार्यान्वय हुन नसकेको समितिले जनाएको छ ।
हालसम्म उक्त स्थानमा ड्यामबाट पानी लिफ्ट गरेर कृषकको बारीसम्म पु-याउनका लागि पाइप विस्तार, लिफ्ट गरेर पानी वितरण गर्ने ट्यांकी निर्माणलगायतका काम सम्पन्न भइसकेको छ भने विद्युत् विस्तार, पम्प जडान गरेर पानी लिफ्ट गरेर ट्यांकीमा पु-याउने र पानी वितरण गर्ने च्याम्बर निर्माण गर्ने काम बाँकी रहेको सचिव वलीको भनाइ छ । आयोजनामार्फत ४० हेक्टरमा सिँंचाइ गर्न सकिने बृहत दाङ उपत्यका सिंँचाइ आयोजनाले जनाएको छ । नगरमा निर्माण गरिएका ड्यामले खेर गएको पानीको संरक्षण तथा सदुपयोग हुने ड्याम निर्माण भएपछि जमिनमा रिचार्ज भई पानीको मुहानसमेत संरक्षण हुने स्थानीय बासिन्दाको भनाइ छ । वातावरण संरक्षणमा समेत सहयोग पुग्ने अपेक्षा लिएको छ ।
यता बृहत् दाङ उपत्यका सिँंचाइ आयोजनाले छिट्टै नै काम सम्पन्न हुने जनाएको छ । बृहत् दाङ उपत्यका सिंचाइ आयोजनाका प्रमुख राजु आचार्यले ठेकेदारसँंग यही मंसिर अन्त्यसम्म सम्पन्न गर्ने सहमति भएको बताए । ठेक्काको समय असार मसान्तसम्म भए पनि कोरोनाका कारण ६ महिना म्याद थप भएको उनको भनाइ छ । कोरोनाका कारण धेरै स्थानमा काम गर्न समस्या हुँदा निर्माणकार्य ढिलाइ भएको उनले बताए ।
निर्माणको जिम्मा लिएका टोपेन्द्र केसीले २, ३ दिनमा नै काम सुरु हुने बताए । कोरोनाका कारण सामान ल्याउन समस्या हुँदा काममा ढिला भएको उनको भनाइ छ । पम्पलगायतका अन्य सामग्री बाहिरबाट ल्याउनु पर्ने भएकाले समस्या भएको केसीले बताए । कोरोना संक्रमण फैलन नदिनका लागि सरकारले गरेको लकडाउनका कारण सामान ल्याउन समस्या भएको केसीले बताए । केही दिनमा सामान आइसक्ने उनले बताए । मंसिर मसान्तसम्म काम सम्पन्न हुने उनकोे दाबी छ । “मंसिर अन्त्यसम्मको समय रहेको छ त्यतिबेलासम्म हामीले काम सम्पन्न गर्छौ,” केसीले भने ।

प्रतिक्रिया दिनुहोस्