सडक सञ्जाल जोडिएपछि पर्यटकको संख्या वृद्धि «

सडक सञ्जाल जोडिएपछि पर्यटकको संख्या वृद्धि

संखुवासभा-ओझेलमा परेका पर्यटकीय गन्तव्य सडक सञ्जालसँंग जोडिएपछि ती क्षेत्रमा पर्यटक र यात्रुको चाप बढ्न थालेको छ ।
संखुवासभामा ओझेलमा परेका दर्जन बढी पर्यटकीय स्थलमा यतिबेला पर्यटकको घुइँचो लाग्ने गरेको छ । संखुवासभाको मकालुमा पर्ने धार्मिक तीर्थस्थल शिवधारा, ख्याम्पालुङ् गुफा, चैनपुरमा रहेको शिद्धकालीको मन्दिर, भ्यागुते ढुंगा, खाँदबारीमा रहेको लहरीखर्क, छहरे छाँगा, ठुलो ढुंगा, मनकामना मन्दिर, पाँचखपनमा रहेको घोर्ले झरना, बालेश्वर मन्दिर गुफा, चिचिलामा रहेको मत्स्यपोखरी, कप्ताने पोखरीजस्ता पर्यटकीय गन्तब्यमा पर्यटकको उल्लेख्य वृद्धि भएको संखुवासभाका जिल्ला समन्वय प्रमुख सुमन शाक्यले बताए । केही वर्षसम्म नामै नसुनिएका क्षेत्रसमेत अहिले पर्यटकको रोजाइमा पर्ने गरेका छन् । सडक खुलेका कारण संखुवासभाको आन्तरिक पर्यटनमा वृद्धि भएको उनले बताए । वडा वडाले स्थानीय रूपमा रहेका धार्मिक तथा पर्यटकीयस्थलसम्म सडक निर्माण, पूर्वाधार निर्माण र प्रचारप्रसारमा जोड दिएका कारण आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा पुगेको समन्वय प्रमुख शाक्यको भनाइ छ । अहिले सडक सञ्जाल जोडिएपछि आफ्नो वडामा रहेको छहरेछाँगामा दिनहुँजसो सैयौंको संख्यामा जिल्लाका विभिन्न स्थानबाट पर्यटक आउन थालेपछि गाउँमासमेत खुशीयाली छाउन थालेको खाँदबारी–१० का वडाध्यक्ष केशवराजशिंह थापाले बताए । उनले करिब २ सय ५० फिट माथिबाट १२ तला हुँदै झरेको छहरे झरनाले अहिले आफ्नो वडालाई जिल्ला र छिमेकी जिल्लाका पर्यटकबीच परिचित गराएको भन्दै यस झरनाको विकास र थप व्यवस्थापनमा वडाले उचित ध्यान पु¥याइरहेको जनाए । सदरमुकाम खाँदबारीबाट सडक यातायातमार्फत १ घण्टाभित्रै पुग्न सकिने छहरे छाँगाका विभिन्न उचाइमा पौडीखेल्न सकिने गरी प्राकृतिक रूपमा १२ तहमा सानाठूला आकर्षक दह छन् । पौडी खेल्न, स्नान गर्न, पिक्निक खान र पारिवारिक भ्रमण गर्न सहज भएकाले अहिले छहरे छाँगामा भोजपुर र संखुवासभाका स्थानीय बासिन्दा आउने गरेका छन् ।
सदरमुकाम खाँदबारीनजिकै रहेको पूर्वको प्रसिद्ध धार्मिक तीर्थस्थल मनकामना धाममासमेत पर्यटकको संख्या बढेको छ । गतवर्षमा सवारीसाधन रोकेर करिब ४०÷४५ मिनेटको पैदलदूरी हिँड्नुपर्ने भए पनि अहिले तीर्थस्थलसम्मै सवारी साधन जान थालेपछि धार्मिक पर्यटक बढ्न थालेको खाँदबारी–९ का वडाध्यक्ष टीकाराम कुमाल बताउँछन् ।
यसैगरी मकालु गाउँपालिकामा रहेको शिवधारा पनि पर्यटकको रोजाइमा परेको छ । सदरमुकाम खाँदबारीबाट तीन दिनमा पुग्न सकिने यस तीर्थस्तलमा आधाजसो दूरी पैदल मार्गबाटै पुग्नुपर्ने बाध्यता छ । यस क्षेत्रको पूर्वाधार विकास र प्रचारप्रसारमा प्राथमिकता दिइएको मकालु गाउँपालिकाका प्रमुख तेजबहादुर पोख्रेलले बताए । उनले शिवधारा क्षेत्र आधाजसो पैदल हिँडेरै पुग्नुपर्ने र ३ हजार बढीको उचाइ भएकाले बालबच्चा र वृद्धवुद्धालाई केही समस्या हुने गरे पनि पर्यटकको बाक्लो उपस्थिति रहने गरेको जानकारी दिए । अहिले कतिपय अप्ठ्यारो भीरपहरोको बाटो भएका ठाउँमा वाल लगाउने, तारजालीले घेर्ने र रेलिङ् निर्माणको कामसमेत अघि बढाइएको जानकारी दिए ।
यता संखुवासभाको उत्तरी क्षेत्रमा अवस्थित लहरीखर्क, मत्स्यपोखरी, कप्तानेपोखरीमा पनि सडक पुगेपछि पर्यटकको घुइँचो लाग्ने गरेको चिचिला गाउँपालिकाका अध्यक्ष पाशाङनुर्बु शेर्पाले बताए । ८ हजार ४ सय ६३ मिटर अग्लो मकालु हिमाललाई नजिकबाट नियाल्न सकिने भएकाले मकालु हिरकपार्क निर्माणको प्रक्रिया सुरु गरिनुका साथै विश्वभर शान्तिको सन्देश छर्ने गौतम बुद्धको पूर्वमै अग्लो बुद्धको मूर्ति राख्ने तैयारी भइरहेको अध्यक्ष शेर्पाको भनाइ छ ।
संखुवासभाको दक्षिणी क्षेत्र चैनपुरमा पर्ने प्रसिद्ध धार्मिक तीर्थस्थल शिद्धकाली मन्दिरले पनि पर्यटकलाई तान्ने गरेको छ । चैनपुरमा रहेको भ्यागुते ढुंगा, बालेश्वर महादेवको मन्दिरमा पनि आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ । सतिदेवीको दाहिने आँखा पतन भएको स्थलको रूपमा परिचित शिद्धकालीको मन्दिरमा पूर्वका धरान विराटनगर, झापा र काठमाडौंबाट समेत यातायातका साधनमार्फत नै पर्यटक आउने गरेको चैनपुर नगरपालिकाका उपप्रमुख मुना श्रेष्ठले बताइन् ।
पर्यटकका लागि सेवासुविधा सहितको बासस्थानको व्यवस्था र होटल पसल नभएकाले पर्यटकलाई समस्या भएको भन्दै अहिले नगरपालिकाले त्यस क्षेत्रमा होटल ब्यवसायलाई ब्यवस्थित रूपमा सञ्चालन गराउन आवश्यक तालिम र क्षमता अभिवृद्धिको काम अघि बढाएको पाँचखपन नगरपालिकाका प्रमुख विपिन राईले बताए । यस वर्षदेखि नागेश्वर महादेव मन्दिर र घोर्ले झरना ब्यवस्थित सडक सञ्जालसँंग जोडिएकाले पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको छ । पाँचखपनमै रहेको घोर्लेझरना अवलोकन र भ्रमणका लागि समेत पर्यटक आउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्