लमजुङ निर्वाचन क्षेत्र ‘क’ को २ करोड विनियोजन «

लमजुङ निर्वाचन क्षेत्र ‘क’ को २ करोड विनियोजन

लमजुङ-प्रदेशसभा सदस्यहरूले विनियोजन गर्ने निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत लमजुङ निर्वाचन क्षेत्र ‘क’ को योजना छनौटसँगै बजेट विनियोजन भएको छ । प्रदेशसभा सदस्य धनञ्जय दवाडीको अध्यक्षतामा समानुपातिक सांसदसहितको समितिको बैठकले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको दुई करोड रुपैयाँ विनियोजन गरेको हो ।
निर्वाचन क्षेत्र ‘क’ अन्तर्गत पर्ने पाँच स्थानीय तहका लागि बजेट विनियोजन भएको छ । निर्वाचन क्षेत्र ‘क’ अन्तर्गत सबैभन्दा धेरै बजेट दूधपोखरी गाउँपालिकामा परेको छ । दूधपोखरी गाउँपालिकाको आठवटा योजनाका लागि ४४ लाख बजेट विनियोजन भएको छ । दूधपोखरी गाउँपालिकाअन्तर्गत बलेडाँडा मोटरबाटोका लागि आठ लाख विनियोजन भएको छ भने दूधपोखरी संग्रहालयका लागि ६ लाख विनियोजन भएको छ । यस्तै दूधपोखरी गाउँपालिकाअन्तर्गत नयाँ गाउँ आमा समूह भवन, कल्लाबारीदेखि च्याखुरी पदमार्ग, लेउरानी आमा समूह भवन, बालदेवी आमा समूह भवन, साहसी युवा क्लब खेल मैदानका लागि छुट्टाछुट्टै पाँच लाख र युरी आमा समूह भवनका लागि चार लाख विनियोजन भएको छ ।
यसैगरी मस्र्याङदी गाउँपालिकाअन्तर्गत ४१ लाख विनियोजन भएको छ । यस आर्थिक वर्षको पूर्वाधार विकासअन्तर्गत योजनामा परेको सबैभन्दा बढी रकम संजापु जाने मोटरबाटोका लागि ३५ लाख विनियोजन भएको छ । सोबाहेक मस्र्याङदीकै नयाँगाउँ खेल मैदानका लागि छुट्टै ६ लाख विनियोजन भएको छ ।
त्यस्तै राइनास नगरपालिकाका आठ योजनाका लागि पनि ४१ लाख विनियोजन भएको छ । जसमा दलित सामुदायिक भवन साउनेपानी, सत्यदेवी आमा समूह भवन, सिमघारी सामुदायिक भवन, चेपे मस्र्याङ्दी सामुदायिक भवन, सुनौलो बिहानी युवाक्लब, चम्पावती आमा समूह भवनका लागि पाँच÷पाँच लाख विनियोजन भएको छ भने राइनासकै रुद्रदेवी युवा क्लब खेल मैदानका लाग ६ लाख विनियोजन भएको छ ।
निर्वाचन क्षेत्र ‘क’ अन्तर्गत बेसीसहर नगरपालिकामा पनि तीनवटा योजनाका लागि ३४ लाख विनियोजन भएको छ । बेसीसहरको रिठ्ठेबगर भकुण्डे तिलाहार मोटरबाटो स्तरोन्नतिका लागि १८ लाख विनियोजन भएको छ भने बेसीसहर–१० अन्तर्गत रेडक्रस पुलदेखि साँघु मोटरबाटो स्तरोन्नतिका लागि नौ लाख र गाउँ भाच्चोक जाने बाटोका लागि सात लाख विनियोजन भएको छ ।
त्यसैगरी दोर्दी गाउँपालिकाअन्तर्गत चारवटा योजनाका लागि ३९ लाख विनियोजन भएको छ । दोर्दीमा सबैभन्दा धेरै ठूलाखेत कामचोक दामराङ लिपे मोटरबाटोका लागि २५ लाख विनियोजन भएको छ । सोबाहेक दोर्दीमा उपल्लो पाचोक आमा समूह भवन, देउराली पिङडाँडा ढाप हुँदै भारत आरनसम्म पदमार्गका लागि पाँच÷पाँच लाख विनियोजन भएको छ । यसैगरी दोर्दी–१, भारतेको सगरमाथा आमा समूह भवन निर्माणका लागि चार लाख विनियोजन भएको छ ।
निर्वाचन क्षेत्रको २ करोडमध्ये योजना अनुगमन तथा मूल्यांकनका लागि प्रशासनिक खर्चतर्फ एक लाख बजेट छुट्याइएको लमजुङ प्रदेश सभा ‘क’ बाट निर्वाचित सांसद धनञ्जय दवाडीले बताए । समिति संयोजक दवाडीको अध्यक्षतामा समानुपातिक तर्फका सांसदद्वय मायानाथ अधिकारी र मधु अधिकारीसहितको बैठकले उक्त बजेट विनियोजन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्