वैदेशिक व्यापार बढ्दा व्यापारघाटा तीव्र «

वैदेशिक व्यापार बढ्दा व्यापारघाटा तीव्र

व्यापारघाटालाई न्यून गर्न सरकारको सक्रियता आवश्यक छ, तर सरकार भन्सार कर उठाएरै राजस्व बढिरहेकोमा मक्ख छ ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि चैत ११ गतेदेखि गरिएको बन्दाबन्दीपछि निरन्तर रूपमा ओरालो लागेको वैदेशिक व्यापार असोज महिनादेखि उच्च हुँदै गइरहेको छ ।

विश्व उदारीकरण र विश्वव्यापीकरणको अवधारणासँगै विश्वमा वैदेशिक व्यापार फस्टाउँदै गयो । लागत, गुणस्तर र प्रविधिजस्ता पक्षलाई आधार मानेर वैदेशिक व्यापार हुने गरेको हो । यातायात र सञ्चारको विकासले व्यापारलाई पनि विकसित गर्दै लग्यो । आज विश्वका हरेक देश व्यापारिक संलग्नताबाट अर्थतन्त्रलाई सक्रिय बनाउन लागिपरेका छन् । निर्यात प्रवद्र्धन, विदेशी मुद्राको आर्जन प्रत्येक देशको लक्ष्य बनेको छ, तर उत्पादन लागत, वस्तुको गुणस्तर र पारवहन सुविधा आदिले लक्ष्यलाई निर्धारण गरेको हुन्छ । प्राचीन वाणिकवाददेखि वर्तमान विश्वव्यापीकरणसम्म आइपुग्दा वैदेशिक व्यापारले देशहरूबीच पारस्परिक सम्बन्ध स्थापना गर्न पुगेको छ, जसबाट देशहरूले व्यापारिक सम्बन्ध कायम गरेका छन् ।
कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि चैत ११ गतेदेखि गरिएको बन्दाबन्दीपछि निरन्तर रूपमा ओरालो लागेको वैदेशिक व्यापार असोज महिनादेखि उच्च हुँदै गइरहेको छ । नेपालीहरूको महान् चाड दसैं, तिहार र छठ पर्व लगातारजस्तै पर्न जाने भएकाले चाडपर्व लक्षित वस्तुहरूको बढी व्यापार भएको देखिन्छ । भन्सार विभागका अनुसार असोज महिनामा नेपालले कुल २ खर्ब ४ अर्ब २ करोड रुपैयाँको व्यापार गरेको छ । यो बन्दाबन्दी सुरु भएयताकै सबैभन्दा उच्च हो । गत फागुन महिनासम्म नेपालको औसत व्यापार १ खर्ब २४ अर्ब ८९ करोड रुपैयाँ भएको थियो । बन्दाबन्दी सुरु भएको चैत महिनामा ६२ अर्ब २० करोडको व्यापार भयो, वैशाख महिनामा ४५ अर्ब ८४ करोड, जेठमा ८१ अर्ब ६२ करोड, असारमा १ खर्ब ५ अर्ब ६८ करोड, साउनमा ९५ अर्ब ४१ करोड, भदौमा १ खर्ब ३ अर्ब ८७ करोड, असोजमा १ खर्ब २४ अर्ब २ करोड रुपैयाँबराबरको व्यापार भयो । यसरी हेर्दा असोज महिनामा नेपालको निर्यात १० अर्ब ६० करोड र आयात १ खर्ब १३ अर्ब ४२ करोड हुन गई कुल २ खर्ब २ अर्बको व्यापार भएको भन्सार विभागले जनाएको छ ।
चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा नै नेपालको व्यापारघाटा २ खर्ब ५० अर्ब पुगेको छ । यो अवधिमा भएको कुल ३ खर्ब २३ अर्ब ४० करोडको वैदेशिक व्यापारबाट नेपालले २ खर्ब ६१ अर्ब २२ करोड रुपैयाँबराबर घाटा बेहोरेको थियो । नेपालमा असोज मसान्तसम्ममा २ खर्ब ९२ अर्ब ९६ करोड आयात भएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १२ प्रतिशतले आएको कमी हो । गत आर्थिक वर्षको असोज मसान्तसम्ममा ३ खर्ब ३४ अर्ब ९५ करोड रुपैयाँको आयात भएको थियो । यसै असोज मसान्तसम्म नेपालको निर्यात ३१ अर्ब ४ करोड पुग्दा गत वर्षको तुलनामा १४ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष नेपालले २७ अर्ब १६ करोड रुपैयाँबराबरको निर्यात गरेको थियो ।
असोज महिना चाडपर्व सुरु हुने महिना तथा आर्थिक गतिविधि पनि खुकुलो बन्दै गएकाले चाडपर्व लक्षित आयात बढेकाले वैदेशिक व्यापार बढ्न गएको भन्सार विभागका महानिर्देशक सुमनप्रसाद दहाल बताउँछन् । चाडपर्व सुरु भएसँगै विकासका काम पनि सुरु भएकाले आयात बढ्न गएको हो । अब वैदेशिक व्यापारले गति लिने उनले बताएका छन् । चाडपर्वमा सबै खालका उपभोग बढ्न जाने भएकाले आयात व्यापार बढ्न पुगेको दाबी उनको छ । यो समयमा मात्र नभएर अन्य वर्ष पनि दसैंतिहारका बेलामा आयात बढ्छ । अहिले पनि त्यसैको निरन्तरता हो । कोभिड–१९ ले आक्रान्त बनाउँदै आइरहेको अवस्थामा असोज महिना लाग्दा कोभिडको डर र आर्थिक गतिविधि पनि खुकुलो बन्दै गएको हुनाले विकासका कार्यक्रमसमेत सुरु हुन थाले र आवश्यक मेसिनरी तथा निर्माण सामग्रीको आयात भएकाले आयातको अंश ठूलो देखिएको हो ।
प्राचीन कालमा चीनको तिब्बत र भारतको पट्नासम्म रहेको व्यापार आज विश्वभर धेरै मुलुकहरूसँग भैरहनु विश्व व्यापार संगठनको उपलब्धि नै मान्नुपर्छ । तर, नेपालका लागि विश्व व्यापार संगठनको सदस्यता अवसर नभएर चुनौती बनिरहेको छ । यसका प्रावधानहरूलाई थेग्न नसक्दा चुनौती बेहोर्नुपर्छ । निर्यातजन्य र गुणस्तरीय वस्तुको प्रतिस्पर्धामा प्रतिस्पर्धी बन्न नसक्नु चुनौती हो । आजकै दिनमा पनि नेपालको व्यापार स्थिति हेर्दा घाटा व्यापार चर्को छ । निर्यातको तुलनामा लगभग १० गुणाले आयात बढिरहेको छ । व्यापारघाटा चुलिएको छ । एक वर्षभरिको कुल निर्यातले वार्षिक ग्यास र पेट्रोलियम पदार्थ खरिद गर्न पनि नपुग्ने अवस्था छ । वैदेशिक रोजगारीबाट आउने रेमिट्यान्सले आयातलाई तिब्र बनाइरहेको छ भने अधिकांश रकम उपभोग र स्थिर सम्पति जोड्नमा खर्च भइरहेको छ । जम्मा रेमिट्यान्सको २÷३ प्रतिशत मात्र उत्पादनमुखी कार्यमा लगाइएकाले रेमिट्यान्स बढ्यो भनेर खुसी मनाउनुको कुनै अर्थ देखिँदैन । नेपाल विश्वमा रेमिट्यान्स भिœयाउने मुलुकहरूको सूचीमा अगाडि नै रहे पनि यसको प्रतिफल देशले पाइरहेको छैन । यसले केवल उपभोग क्षमता बढाउने, खरिद क्षमता घटाउने र मूल्यस्फीति गराउने काम गरिरहेको हुन्छ ।
भुक्तान सन्तुलन प्रतिकूल, व्यापारघाटा, ऋण धराप, न्यून प्रतिव्यक्ति आय, उच्च गरिबी, उच्च बेरोजगारीको दलदलमा फसिरहँदा दलदलबाट उन्मुक्ति पाउने अवस्था पनि क्षय हुँदै गइरहेको छ । कुल उत्पादनको ७÷८ प्रतिशतमात्र निर्यात भइरहेको र व्यापारघाटा धान्ने कामलाई रेमिट्यान्सले मद्दत पु¥याइरहेको छ । वर्षभरि गरिने व्यापारको ६० प्रतिशत भारतसँग र ४० प्रतिशत अन्य मुलुकसँग हुँदै आइरहेको छ । भूपरिवेष्टित राष्ट्रका कारण तटीय मुलुकहरूको तुलनामा पारवहन लागत २० प्रतिशतले बढी पर्दा वस्तुको बजारमूल्य उच्च हुन पुग्छ, जसले गर्दा व्यापारघाटा निरन्तर बढ्दै जान्छ । औसत ३० प्रतिशतले नेपालले व्यापारमा बढी खर्च बेहोर्नुपरिरहेको छ ।
बढ्दो व्यापार घाटाले भुक्तान सन्तुलनलाई पनि प्रतिकूल बनाउँछ र अन्य क्षेत्रमार्फत भुक्तान सन्तुलन व्यवस्थापन गरी अनुकूल बनाउनुपर्छ । व्यापारघाटालाई न्यून गर्न सरकारको सक्रियता आवश्यक छ, तर सरकार भन्सार कर उठाएरै राजस्व बढिरहेकोमा मक्ख छ । साना तथा घरेलु उत्पादनलाई प्रश्रय दिई राष्ट्रिय उपभोग र निर्यातलाई सहजीकरण हुने वातावरण बन्दा बढ्दो व्यापार घाटा क्षय हुँदै जाने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्