३ करोड लागतमा भरतपुरमा नयाँ तरकारी तथा फलफूल मण्डी तयार «

३ करोड लागतमा भरतपुरमा नयाँ तरकारी तथा फलफूल मण्डी तयार

भरतपुर-चितवनमा भरतपुर तरकारी तथा फलफूल मण्डी सञ्चालनमा आउने भएको छ । भरतपुर तरकारी तथा फलफूल प्रालिले ५ गतेदेखि भरतपुर–१० थानी चोकमा मण्डी सञ्चालन गर्न लागेको हो । प्रालिका अध्यक्ष शम्भु थापाले मण्डीमा ४४ वटा सुविधासम्पन्न स्टलहरू रहने बताए । ३ करोड लगानी गरिएको छ ।
मण्डीमा डिमाटमेण्टल स्टोर्स समेत रहनेछ । चामल, दाल, गेढागुडी, चिनीलगायतका खाद्यान्नसमेत खरिद बिक्री हुनेछ । थापाका अनुसार सहुलियत मूल्यमा तरकारी तथा फलफूल खरिद हुने गरी मूल्य कायम गरिनेछ । मण्डी आउने ग्राहकलाई हरेक दिन निःशुल्क हटलेमनको व्यवस्था हुनेछ । मण्डीको सुरक्षाका लागि सीसी क्यामेरा जडान गरिएको छ । बिहान ३ बजेदेखि ५ बजेसम्म स्टलवालाले सामान खरिद गर्ने, बिहान ५ बजेदेखि ६ बजेसम्म थोक बिक्री गर्ने र बिहान ६ बजेदेखि राती बजेसम्म खुद्रा बिक्रि गर्ने समय तोकिएको छ । प्रालिमा ३ जनाको लगानी रहेको छ । भरतपुर माविको जग्गा १० वर्ष भाडामा लिएर मण्डी चलाउन लागिएको हो ।
संस्थाले सहकारीको मोडेलमा कृषिमा युवालाई अभिप्रेरित गर्ने लक्ष्य लिएको छ । तरकारी खेतीका लागि ६ बिघा, गाई–भैंसी पालनका लागि २ बिघा, बंगुर पालनका लागि २ बिघा जमिनको व्यवस्था भइसकेको जनाइएको छ । कृषि उपजलाई बजारीकरण गर्दा हुने बिचौलिया प्रथा हटाउन मण्डीले सघाउने उनले बताए । मण्डीमा स्टल लिने सबैलाई सहकराीको सदस्यता वितरण गरीने योजना रहेको छ । स्टलबाट निस्कने तरकारीका पात, बिग्रेका तरकारी, फलफूल समेत खरिद गरेर उत्पादनमूलक काममा उपभोग गरिने जनाइएको छ । संस्थाले निकट भविष्यमा डेरी फर्म खोल्ने, बाख्रापालन गर्ने, मासु मण्डी स्थापना गर्ने, कृषि फर्म खोल्ने योजना बनाएको छ । यो मण्डीमा संकलित तरकारी तथा फलफूल अन्य जिल्लामा समेत पठाइनेछ ।

प्रतिक्रिया दिनुहोस्