एक–एक प्रकरणको हिसाब संसद् र सडकबाट मागिन्छ :थापा «

एक–एक प्रकरणको हिसाब संसद् र सडकबाट मागिन्छ :थापा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ दल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले उठाएका एक–एक प्रकरणको हिसाबकिताब अब संसद् र सडकबाट मागिने बताएका छन् ।
थापाले बुधबार विज्ञप्ति जारी गर्दै आरोप लगाउने र आरोपित जसले जसलाई ‘फकाए’ पनि जसले आएर फकाइदिए वा मिलाइदिए पनि अब एक–एक प्रश्नको उत्तर दिन तयार हुन भनेका छन् ।
‘पुष्पकमल दाहालले खड्गप्रसाद ओलीमाथि लगाएको आरोपहरूमा नौला विषय छैनन् र गलत पनि होइनन् । संसद्, सडक सबैतिरबाट प्रधानमन्त्री ओलीविरुद्ध उठ्दै र लाग्दै गरेका आरोप हुन्,’ उनले विज्ञप्तिमा भनेका छन्,‘तर पनि यो प्रकरण विशेष छ । प्रधानमन्त्रीकै पार्टीभित्रबाट नेकपा अध्यक्ष प्रचण्डसहित अन्य दुई पूर्वप्रधानमन्त्री समेतका शीर्ष नेताहरूले प्रधानमन्त्री ओलीलाई सरकार सञ्चालन गर्न अयोग्य मात्र होइन, राज्य सञ्चालन र सुशासनका सन्दर्भमा प्रधानमन्त्रीको प्रवृत्ति र नियतमै गम्भीर प्रश्न उठाएका छन् ।’
आफ्नै पार्टीको संसदीय दलको नेताको रूपमा प्रधानमन्त्री बनाएको व्यक्तिविरुद्ध उदाहरणसहित असक्षम र भ्रष्टाचारीलाई प्रोत्साहन र संरक्षण गरेको, राष्ट्रिय सुरक्षामा असंवेदनशील भएको निष्कर्ष निकाल्नुले प्रधानमन्त्री ओलीविरुद्धको विरोधको पछिल्लो श्रृङ्खलालाई विशेष बनाएको र यो संवेदनशिल रहेको थापाको भनाइ छ ।
‘पार्टी सञ्चालनको सन्दर्भमा रहेका मतभेदका बारेमा, नेकपाभित्रको गुटबन्दीका बारेमा कसले आत्मासमीक्षा गर्ने, कसले आत्मालोचना गर्ने, कसले त्याग गर्ने, कसले कसलाई कति फकाउने, कसलाई तर्साउने, को कता जाने, कसको जिम्मेवारी हेरफेर गर्ने, त्यो नेकपाका साथीहरूले नै छलफल गर्ने विषय हो,’ उनले भनेका छन् ।
प्रधानमन्त्री ओलीको अर्थात् नेकपाको एकल नेतृत्वको सरकार सञ्चालन गर्दा देखिएको अनियमितता, भ्रष्टाचार, अपराध, कुशासन लगायत विषय बैठकमा मन पखालेर नपखालिने भन्दै थापाले यी सार्वजनिक चासो र राष्ट्रिय सरोकारका विषय भएकाले सबैको उत्तर आरोपीले वा आरोप लगाउनेले दिनुपर्ने बताएका छन् ।
‘नेकपाको आन्तरिक शक्ति संघर्ष र कलहबीच विदेशी गुप्तचर प्रमुखसँगको प्रधानमन्त्रीको भेटको विषय अनि नेकपाका नेताहरूले चिनियाँ राजदूतसँग गरेको अस्वाभाविक भेटघाट समेतका बारेमा प्रधानमन्त्री र सिंगो नेकपाले उत्तर दिनुपर्छ,’ उनले विज्ञप्तिमा भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्