संघीयता स्थापित गराउन निजी क्षेत्रलाई पनि मजबुत बनाउन आवश्यक छ «

संघीयता स्थापित गराउन निजी क्षेत्रलाई पनि मजबुत बनाउन आवश्यक छ

महासंघ महासंग्राम

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरूले प्रचारप्रसार तीव्र बनाएका छन् । लामो बहस र विवादपछि महासंघको वरिष्ठ उपाध्यक्षसहित नयाँ नेतृत्व चयनका लागि मंसिर दोस्रो साता निर्वाचन हुने भएको हो । महासंघले मंसिर ११ र १२ गते ५४औं साधारणसभा र १३ गते निर्वाचनको मिति तय गरेसँगै मनोनयन सुरु भएको थियो । दसैंअघि नै सुरु भएको मनोनयन बिहीबारसम्म गर्न सकिनेछ भने महासंघको सूचनामा ईमेलबाटै मनोनयन दर्ता गर्न सकिने र त्यसको सक्कल कागजात पनि आज (मंसिर ४ गते) भित्र नै बुझाइसक्नुपर्ने उल्लेख छ । निर्वाचन कार्यक्रमअनुसार उम्मेदवारको पहिलो नामावली आज (मंसिर ४ गते) नै प्रकाशन हुनेछ भने सक्कल कागजातका आधारमा मंसिर ५ गते उम्मेदवारको दोस्रो नामावली प्रकाशन हुने निर्वाचन समितिले जनाएको छ । यस्तै, मतदान गर्न पाउने सदस्यहरूको नामावली मंसिर २ गते नै प्रकाशन भइसकेको छ भने ३ गतेसम्म नामावलीमाथि दाबी–विरोध गर्ने समय तोकिएको थियो । मतदान गर्न पाउने सदस्य तथा प्रतिनिधिको अन्तिम नामावली मंसिर ११ गते प्रकाशन हुने तथा उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिने समय मंसिर ६ गतेदेखि ८ गतेलाई तोकिएको छ । मंसिर ८ गते नै उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुने र १३ गते बिहान निर्वाचन भई गणना गरी नतिजा घोषणा गरिने महासंघको निर्वाचन कार्यक्रममा उल्लेख छ । सरकारले स्वास्थ्य प्रोटोकल पालना गरी चुनाव गर्न अनुमति दिएसंगै यसपटक महासंघको निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षका लागि चन्द्रप्रसाद ढकाल र किशोर प्रधान प्यानल नै बनाएर अगाडि बढेका छन् । जिल्ला नगर, वस्तुगत तथा एसोसियटतर्फ कार्यकारिणी सदस्यका दावेदारहरूसँग महासंघलाई चाहिने वर्तमान नेतृत्व, निजी क्षेत्रको भूमिका, व्यवसायीहरूले झेल्नुपरेका समस्या र आ–आफ्ना चुनावी एजेन्डाका विषयमा कारोबारकर्मीहरूले गरेको कुराकानीको सार :

औद्योगिक क्रान्तिका लागि कृषि क्रान्ति आवश्यक छ
सुबोध गुप्ता
केन्द्रीय सदस्यका उम्मेदवार (वस्तुगततर्फ)

विगत १६ वर्षदेखि नगर जिल्लाको निजी क्षेत्रको संस्थामा क्रियाशील छु । त्यो क्रममा मैले धेरै काम गर्ने अनुभव बटुलेको छु । निरन्तर निजी क्षेत्रको संगठनमा काम गर्दा वीरगन्जको विकास कसरी हुनुपर्छ भन्ने चिन्ता नै थियो । वीरगन्ज एउटा व्यापारिक हब हो । आयात–निर्यातको मुख्य नाका, ७० प्रतिशत आपूर्ति गर्ने नाका हो । तर, वीरगन्जको विकास त्यो गतिमा भएन । अझै पनि यो क्षेत्रमा द्रुत मार्ग, अन्तर्राष्ट्रिय विमानस्थल, हुलाकी राजमार्ग बन्ने क्रममा नै छ । यानिकि कुनै पनि ठूला आयोजनाहरू निर्माण सम्पन्न हुन सकेका छैनन् । यो क्षेत्रको विकासका लागि अहिलेसम्म पनि सम्बन्धित निकायले सम्बोधन गरेको अवस्था छैन । हामीले यो क्षेत्रलाई औद्योगिक करिडोर घोषणा गर्न माग गरिरहेका छौं ।
अर्को एउटा छुट्टै औद्योगिक क्षेत्रको पनि आवश्यकता छ । २० वर्षमा डाइपोर्ट र आईसीपीबाहेक हामीले अरू के पाएका छौं ? अब अर्को आईसीपी र भएको आईसीपीको क्षमता विस्तारलगायतका कामहरू छन् । हामीले वीरगन्जमा जुन भौगोलिक सुगमताको अवसर पाएका छौं, त्यसको भरपुर सदुपयोग गर्न सकिरहेका छैनौं । मैले १६ वर्षसम्म वीरगन्ज उद्योग वाणिज्य क्षेत्रको मात्रै राजनीति गरेँ । त्यसपछि विगत दुई वर्षदेखि मैले चामल, दाल, तेल उद्योग संघको केन्द्रीय नेतृत्व गरिरहेको छु । चामल, दाल, तेल भनेको एउटा मान्छेको भान्सामा नभई नहुने उपभोग्य वस्तुहरूमा कमसेकम आत्मनिर्भर हुनुपर्छ र यस्ता वस्तुको आयातलाई प्रतिस्थापन गरेर शून्यमा झार्र्नुपर्छ भन्ने मान्यता बोकेको व्यक्ति हुँ । त्यस्तै यहींको कच्चा पदार्थले नेपाली उद्योगहरू सञ्चालन हुनुपर्छ भन्नुको अर्थ यहींका किसानले उत्पादन गरेको धान, गहुँ, मकै, उखुले नै यहाँका उद्योगहरू पूर्ण क्षमतामा चल्नुपर्छ भन्ने मेरो मान्यता हो । त्यसका लागि यहाँ कच्चा पदार्थ कसरी उत्पादन गर्ने भन्नेमा पनि मेरो स्पष्ट धारणा छ ।
देशमा आर्थिक क्रान्ति ल्याउनका लागि औद्योगिक क्रान्ति र त्यसका लागि कृषि क्रान्ति अपरिहार्य छ । औद्योगिक क्रान्तिका लागि कृषि क्रान्ति आवश्यक छ । त्यसका लागि कृषिमा आधुनिकीकरण र आधुनिक प्रविधिको कृषि आवश्यक छ । कन्ट्याक्ट फार्मिङका कुरा, सिँचाइ, मल, बीउलगायतका वस्तुहरूमा सहज उपलब्धता आवश्यक छ, जुन क्षेत्रमा मैले नेतृत्व लिइरहेको छु । त्यसमा सरकारसँगको सहकार्यमा केही सहजता र सफलता प्राप्त गरेका छौं । अब मेरो सोच के छ भने मैले के यो दाल, चामल, तेल उद्योगहरूको मात्रै नेतृत्व गर्ने त ? वीरगन्जको विकासले मात्रै देशको विकास हुन्छ त ? हामी नेपालको विकास गर्नका लागि पूरा देशभरको समस्या र मुद्दा उठाउनु आवश्यक छ । त्यसैले अब केन्द्रमा पनि प्रतिनिधित्व हुनुपर्छ । अब देश संघीयतामा गइसकेको छ । संघीयता स्थापित गर्नका लागि त्यस क्षेत्रको निजी क्षेत्रलाई पनि उत्तिकै मजबुत बनाउन आवश्यक छ । त्यसका लागि प्रदेशहरूमा रहेका मुख्य सहरहरू विराटनगर, वीरगन्ज, भैरहवा, नेपालगन्ज, बुटवल क्षेत्रका औद्योगिक क्षेत्रहरूको विकास पनि उत्तिकै आवश्यक छ ।
नेपालको समग्र विकासका लागि पहिलो नम्बरमा औद्योगिक विकास, दोस्रोमा पर्यटन विकास, तेस्रो नम्बरमा हाइड्रोपावरको विकास र चौथोमा नेपालमा अद्वितीय जडीबुटीहरूको पाइन्छ । पाँचांैमा नेपाललाई प्रकृतिले यस्तो उपहार दिएको छ, हामीले त्यसलाई उपयोगमा ल्याउन सकिरहेका छैनौं । विभिन्न शैक्षिक हबहरू बनाउने विदेशी विद्यार्थीहरूलाई यहाँ ल्याएर रिसर्च गर्न लगाउने, अध्ययन गर्ने वातावरण बनाउन सकिरहेको छैन । हाम्रो देशका प्राविधिक जनशक्तिहरू सहर केन्द्रितमात्रै छन् । ती जनशक्तिहरूलाई कसरी गाउँगाउँमा लान सकिन्छ ? हामीलाई आवश्यक जनशक्तिहरू आफ्नै नागरिकबाट उत्पादन गर्नका लागि पोलिटेक्निक इन्स्टिच्युट, प्राविधिक शिक्षालयहरू स्थापना गरेर जनशक्ति उत्पादन गर्न सकिन्छ । यी यावत् कुराहरू राज्यसम्म पु-याउने काममा मेरो सहभागिताका लागि नै मैले उम्मेदवारी दिएको छु । मेरा प्राथमिकताका क्षेत्रहरू पनि यिनै हुन् । समग्र निजी क्षेत्रको विकास र उत्थानका लागि नै मैले प्रतिनिधित्व गर्ने भएकाले यसमा मलाई सबै निजी क्षेत्रका साथीहरूको पनि साथ र सहयोग पाइरहेको छु । अब आउने निर्वाचनमा पनि मैले अझ बढी साथ र सहयोग पाउनेमा निश्चिन्त छु । जसले गर्दा मैले निजी क्षेत्रमा अहिलेसम्म गरेका कामको मूल्यांकन गरी आगामी दिनमा निजी क्षेत्रलाई अझ उचाइमा पु-याउने अवसर पनि दिनुहुनेछ ।
प्रस्तुति : निरज पिठाकोठे

जिल्ला नगर अध्यक्षको प्रोटोकल सांसद र मेयरपछि राखिनुपर्छ
अरुणराज सुमार्गी
केन्द्रीय सदस्यका उम्मेदवार (जिल्ला–नगर)

नेपाल उद्योग वाणिज्य महासंघको सुदृढीकरण र शुद्धीकरण मेरो पहिलो एजेन्डा हो । उद्योग वाणिज्य महासंघमा ठेक्का लिने प्रथा छ । ठेक्का लिएर चुनाव जिताइदिन्छु भनेर चुनाव लड्ने जून परम्परा बसेको छ त्यसको अन्त्य गर्नुपर्छ । पैसाको बलमा नयाँ–नयाँ मानिसहरूलाई महासंघमा स्थापित गराउने परम्परा राम्रो होइन । यसलाई निरुत्साहित गर्दै जिल्ला उद्योग वाणिज्य संघमा अध्यक्ष भएकाहरूले पनि केन्द्र महासंघको अध्यक्ष बन्ने मौका पाउनुपर्छ भन्ने मेरो मुख्य एजेन्डा हो । महासंघको इतिहासमा पोखरा उद्योग वाणिज्य संघको अध्यक्षबाहेक कुनै पनि जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष केन्द्र महासंघको अध्यक्ष बन्न सकेको छैन । महासंघमा लामो इतिहास बोकेको किशोर प्रधान दाइहरूले अहिले पैसा र पावर प्रयोग गरेर आएको व्यक्तिसँग लड्नुपरिरहेको छ । पूर्वअध्यक्षले ठेक्का लिएर चुनाव जिताइदिन्छु भनेको भरमा आएका व्यक्तिसँग किशोर दाइ चुनावमा लड्नुपरेको छ । पैसा र पावरभन्दा पनि अनुभवी समग्र उद्योगी–व्यवसायीको हितमा लाग्ने मानिसहरूलाई महासंघमा ल्याउनुपर्छ ।
अर्को कुरा, जिल्लाका अध्यक्षहरूले जिल्लाको प्रतिनिधिसभाको सांसदसरह क्षमता राख्छन् । स्थानीय तहको निर्वाचन नभएको बेलामा २० वर्षसम्म जिल्ला नगर उद्योग वाणिज्य संघले स्थानीय सरकारको काम गरेको सरकारलाई र जनतालाई पनि थाहा छ । त्यो बेलामा निर्वाचित प्रतिनिधिका रूपमा बसेर देशको विकासका काममा सहयोग ग¥यो । तर, अहिले संविधान बनिसकेपछि नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारीहरूको प्रोटोकल नै तयार भएन । वडाध्यक्षभन्दा मुनि पनि हामीलाई ड्यासकल हुँदैन । त्यो हुनाले उद्योग वाणिज्य संघको जिल्लाको अध्यक्ष निर्वाचित सांसदभन्दा एक तह तल हुनुपर्छ भन्ने मेरो अर्को एजेन्डा हो । सरकारलाई दबाब दिएर प्रोटोकल नीतिगत रूपमै राख्न मैले पहल गर्छु । त्यस्तै नगर उद्योग वाणिज्य संघको अध्यक्ष पनि मेयरभन्दा मुनि उपमेयरसरहको हुनुपर्छ भन्नेबारे पनि हामीले एजेन्डा ल्याएका छौं ।
हामी नेपालको कर तिर्ने संगठित संस्था हौं । नेपालमा रोजगारी दिने संगठित संस्थाको नेताहरूको भूमिका के हो, स्थान के हो भन्ने कुरा राज्यले स्पष्ट गर्नुपर्छ । हरेक नागरिकको आफ्नो प्रोटोकल छ । हाम्रो पनि त प्रोटोकल हुनुपर्छ ।
किशोर दाइसँग अनुभव छ, शेखर गोल्छासँग शालिनता छ । हाम्रो प्यानलले चुनाव जितेपछि शालिनता र अनुभवको प्रयोग गरी राज्य र निजी क्षेत्रबीच सहकार्यको पाँच वर्ष भन्ने योजना राज्यलाई दिन्छौं । त्योअनुसार राज्यका नीतिहरू पनि हामी तल्लो तहसम्म पु¥याउँछौं र राज्यले पनि उद्योगी–व्यवसायीहरूको प्रोटोकल निर्धारण गर्ने र नीतिहरू बनाउँदा पनि राज्य र निजी क्षेत्र सँगसँगै हातेमालो गरेर जाने भन्ने हाम्रो उद्देश्य हो । हामी बोल्नेभन्दा काम गरेर देखाउँछौं । नेपालमा कृषि क्रान्ति गर्नु छ । उच्च मूल्यको उत्पादनहरूमा हामी राज्यसँग सहकार्य गरेर काम गर्छौं । नेपालमा रोजगारी बढाउनका लागि फरक खालका प्याकेजहरू ल्याउँछौं । अन्तर्राष्ट्रिय लगानीदेखि राष्ट्रिय लगानीहरूलाई व्यवस्थित गर्छौं । पुँजी पलायनलाई रोक्न हामी राज्यसँग सहकार्य गर्नेछौं ।
प्रस्तुति : केशव समर्पण

आर्थिक एजेन्डालाई प्राथमिकतामा राख्ने नेतृत्व आवश्यक छ
कृष्णलाल महर्जन
केन्द्रीय सदस्यका उम्मेदवार ( एसोसिएटतर्फ)

नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएटतर्फबाट कार्यकारिणी सदस्यमा मैले उम्मेदवारी दर्ता गराएको छु । वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार चन्द्रप्रसाद ढकालको प्यानलबाट मैले उम्मेदवारी दिएको हुँ । नेपाल उद्योग वाणिज्य महासंघ उद्यमी–व्यवसायीहरूको साझा संस्था हो । यस्तो संस्थाको गरिमा माथि उठाउन उद्योग–व्यापार नै बुझेको व्यक्ति हुनुपर्छ भन्ने मलाई लाग्छ । उद्योग–व्यापार क्षेत्रमा काम गर्ने साथीहरूका धेरै समस्या छन् । कोभिडका कारण हामी उद्यमी–व्यवसायीले भोग्नुपरेका समस्या अझ बढेका छन् । त्यस्ता समस्या नीति–निर्माता तहसम्म पु¥याउन र सरकारसँगको लबिङमा आफ्नो प्रभाव दरिलो राख्न सक्ने व्यक्तिको खाँचो छ । व्यवसायीहरूले सच्चा इमानले काम गर्दा पनि हेर्ने दृष्टिकोणमा फरक छ । सरकारलाई राजस्व तिर्ने, रोजगारी सिर्जना गर्नेदेखि अर्थतन्त्रमा महŒवपूर्ण भूमिका खेल्ने निजी क्षेत्रलाई जुन प्राथमिकतामा राखिनुपर्ने हो, त्यसो हुन सकेको छैन । अहिले कोभिडका कारण रोजगारी सिर्जना गर्ने क्षेत्रहरू खुम्चिँदै गएका छन् । निजी क्षेत्रले उद्योग–व्यवसायमा जे–जति पहल गरेको छ त्यो पर्याप्त छैन । यसका लागि महासंघजस्तो संस्थाबाट लबिङ बढाउन जरुरी छ ।
उद्योग–व्यवसायका क्षेत्रमा मेरो लामो अनुभव छ । उद्योगी–व्यवसायीका समस्या के हुन् र कसरी समाधानको बाटो रोज्न सकिन्छ भन्नेमा पनि अनुभव छ । यसका साथै सरकारसँग कसरी लबिङ गर्नुपर्छ, आफ्ना समस्या कसरी राख्नुपर्छ भन्नेमा पूर्ण जानकार छु । आगामी कार्यकालका लागि मैले अवसर पाएँ भने मेरो अनुभवको भरपुर प्रयोग गर्नेछु । यसका साथै महासंघ नेतृत्वलाई सघाउने र संस्थाको गरिमा उचो राख्नमा कुनै कसर बाँकी रहनेछैन । महासंघमा संस्थागत सुधारदेखि पारदर्शिताका क्षेत्रमा पनि काम गर्न बाँकी छ । अब राजनीतिक एजेन्डाहरू सकिएका छन्, जसरी हुन्छ आर्थिक एजेन्डामा केन्द्रित हुनुको विकल्प छैन । सरकारले पनि आर्थिक एजेन्डालाई अगाडि सारेको छ भने महासंघले पनि आर्थिक एजेन्डालाई नै मुख्य एजेन्डा बनाउनुपर्छ । आर्थिक एजेन्डालाई दरिलोसँग प्रस्तुत गर्नसक्ने नेतृत्व महासंघलाइ आवश्यक छ । चुनाव जितेर गएपछि कार्यकारिणी सदस्यहरूको भूमिका नेतृत्वको एजेन्डालाई सघाउने नै हुन्छ । त्यसका अतिरिक्त आफ्नो क्षेत्रबाट प्राप्त गरेको अनुभवलाई महासंघमार्फत कार्यान्वयन गर्न सकियो भने धेरै उद्योगी–व्यवसायीहरूको हितमा लगाउन सकिन्छ । आर्थिक विकासको एजेन्डा नै हामी सबैको एजेन्डा हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्