विराटनगरमा पहिलोपटक आईसिटी एक्स्पो «

विराटनगरमा पहिलोपटक आईसिटी एक्स्पो

विराटनगर- विराटनगरमा पहिलोपटक आइसीटी एक्स्पो हुने भएको छ । लिभिङ विथ आइसिटीले आगामी पुस ६ देखि १० गतेसम्म विराटनगरस्थित जैन भवनमा एक्स्पो आयोजना गर्ने भएको हो । आयोजक समितिले पत्रकार सम्मेलन गरेर विराटनगरलाई सूचना प्रविधिको गन्तव्य बनाउने उद्देश्यसहित एक्स्पो गर्न लागेको जानकारी गराएको छ ।
एक्स्पोमा सूचना प्रविधि क्षेत्रका पछिल्ला आविष्कारहरू, उत्पादन र सेवाहरू प्रदर्शनमा राखिने आयोजक समितिका अध्यक्ष राजन लम्सालले बताए । आइटी शिक्षा, ज्ञान, आविस्कार र उद्यमशीलतालाई एक्स्पोमा प्रवद्र्धन गरिने उनले जानकारी दिइ ।
एक्स्पोमा १ सयभन्दा बढी स्टलहरू रहनेछन् । प्रदेश १ का सूचना प्रविधिमा कार्यरत कम्पनी, कलेज तथा संस्थासहित काठमाडौंबाट अन्तर्राष्ट्रिय उत्पादन तथा ब्राण्डको सहभागिता रहनेछ । ५० प्रतिशत कमर्सियल आइटी प्रडक्ट तथा सेवाहरूको स्टल रहनेछन भने ५० प्रतिशत स्टलहरू आइटी शिक्षा, इनोभेसन, स्टार्टअप, रोबोट, गेमिङ जोनसहितका साइन्स एक्जिविसनमा केन्द्रित हुने आयोजकले जनाएको छ । कमर्सियल स्टलहरूमा स्मार्ट प्रविधि, ल्यापटप, ग्याजेट्स, इन्टरनेट, सेक्युरिटी प्रडक्टहरूसँगै सफ्टवेयर, एप्लिकेसनहरू रहनेछन् ।
नयाँ प्रविधिहरूको विशेष प्रदर्शनी हुने एक्स्पोमा स्थानीय आइटी स्टार्टअप तथा उद्यमशीलतालाई प्रवद्र्धन गर्न ५ वटा स्टल निःशुल्क राखिने बताइएको छ । काठमाडौँ सहित प्रदेश १ र २ का २ लाखभन्दा बढीले उक्त प्रदर्शनीको अवलोकन गर्ने आयोजकले विश्वास लिएको छ । एक्स्पोमा स्टल तथा स्पोन्सर बुकिङ खुला गरिएको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्