कात्तिकमा २ हजार पर्यटक «

कात्तिकमा २ हजार पर्यटक

कात्तिक महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै २ हजार ९ पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागले ९८ मुलुकबाट २ हजार ९ पर्यटक नेपाल भित्रिएको जनाएको छ । जसमा अमेरिकाबाट ४५५, बेलायतबाट ३२६ र चीन र भारतबाट क्रमशः १६१ र १२५ रहेको विभागले जनाएको छ ।
कोभिड–१९ का कारण रोकिएको पर्यटन आगमन सरकारले कात्तिक १ देखि पर्यटक आगमन आंशिक रूपमा खुला गरेसँगै सहज बन्दै गएको थियो भने पर्यटकीय गतिविधि बढेर गएको छ । अर्थतन्त्र चलायमान बनाउन र थलिएको पर्यटन उद्योगलाई लयमा फर्काउने प्रयाससहित सरकारले कोरोना महामारी बीचमा पनि विदेशी पर्यटक आगमन खुला गरेको जनाएको छ ।
हिमाल आरोहण र पदयात्राको लागि भदौ २८ गते बसेको मन्त्रिपरिषद् बैठकले पछिल्लो ७२ घण्टाको पीसीआर रिपोर्ट नेगेटिभ भएको आधारमा कात्तिक १ देखि यात्रामा अनुमति दिने निर्णय गरेको थियो । सरकारले कोरोनाभाइरस (कोभिड–१९)को रोकथामको लागि २०७६ चैत ९ गतदेखि वाह्य उडानमा प्रतिबन्ध लगाएको थियो । यता, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रालयले पर्यटकीय गतिविधि हुने क्षेत्र खुलागर्ने निर्णय गरेको छ । मन्त्रालयले केवलकार, जंगल सफारी र संग्रहालय जस्ता क्षेत्र खोल्न मन्त्रिपरिषद्ले स्वीकृत दिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेका स्वास्थ्य सुरक्षा अपनाएर सुरक्षित रहने उपाय अपनाएर खुलागर्न अनुरोध गरेको हो । कात्तिक २४ गते बसेको मन्त्रिपरिषद्को बैठकले पर्यटकीय क्षेत्र खुल्ला गर्ने निर्णय गरेको थियो ।
सरकारले नेपाल प्रवेश गर्ने अन्तर्राष्ट्रिय सीमा नाका मंसिर ३० गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । नेपाल आगमन गर्ने विदेशी नागरिकको हकमा नेपालस्थित विदेशी कुटनीतिक नियोग, अन्तर्राष्ट्रिय संघ संस्था र अन्तर्राष्ट्रिय गैर सरकारी संस्थामा कार्यरत विदेशी नागरिक तथा नीजका परिवारका सदस्यहरू र नेपाली मूलका गैर आवासीय नेपाली नागरिक लगायतलाई यात्रा गर्नुभन्दा ७२ घण्टा अगाडिको पीसीआर नेगेटिभ आएको रिपोर्टका आधारमा नेपाल प्रवेशलाई सहजीकरण गर्ने अध्यागमन विभागले जनाएको छ ।
विभागले बुधबार सूचना जारी गर्दैं यसरी पीसीआर रिपोर्ट नेगेटिभ आएका अभिभावकका ५ वर्षभन्दा मुनीका बालबालिकाको हकमा भने पीसीआर रिपोर्ट आवश्यक नपर्ने समेत विभागले जनाएको छ । आरटी पीसीआरसरहका परीक्षणका प्रमाणपत्रलाई मात्रै मान्यता दिने सूचनामा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्