स्पार्कलाई फेरि तमोर–मेवा अनुमति «

स्पार्कलाई फेरि तमोर–मेवा अनुमति

१२८ मेगावाट क्षमता
लागत २६ अर्ब
५ वर्षमा निर्माण सम्पन्न


ताप्लेजुङ-ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले १२८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत् आयोजनालाई निर्माण अनुमति दिएको छ । हालै मन्त्रालयले स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेडले निर्माण गर्न लागेको आयोजनालाई निर्माण अनुमतिपत्र दिएको हो । उर्जा मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेद्वारा हस्ताक्षरित अनुमतिपत्र लिमिटेडले प्राप्त गरेको जनाएको छ । अनुमतिपत्र वहाल अवधि २०७७ असोज २५ गतेदेखि वि.सं. २११२ असोज २४ गते (३५ वर्ष) तोकिएको छ ।
पाँच वर्षको अवधिमा आयोजना सम्पन्न गर्ने उद्देश्यसहित सुरुवातको १ वर्षको अवधिमा भौतिक संरचना निर्माण प्रारम्भ गर्ने लिमिटेडले जनाएको छ । लिमिटेडका संस्थापक अध्यक्ष भानेन्द्रकुमार लिम्बुका अनुसार तत्काल आयोजनास्थलमा देखिने गरी काम सुरुवात हुनेछ । “आयोजना प्राप्त गर्न २२ वर्षसम्म कुर्नुप-यो, परिस्थितिअनुसार अनुमतिप्राप्त गर्न ढिला हुँदा असजिलो अवस्था बल्ल पूर्णविराम लाग्यो,” लिम्बुले भने, ‘‘५ वर्षको अवधिमा कुनै अप्रिय बाधा व्यवधान नभए निर्माण सम्पन्न गर्न कुनै गाह्रो छैन् ।’’
आयोजनाको लागत २६ अर्ब रुपैयाँ छ । लागतमध्ये ७५ ऋण र २५ प्रतिशत स्वपुँजी (इक्विटी) लगानी हुन लागेको छ । आयोजनाको कुमारी बैंकको नेतृत्वमा वित्तीय व्यवस्थापन गर्ने सहमति भएको अध्यक्ष लिम्बुले जानकारी दिए । उनका अनुसार २५ प्रतिशत इक्वेटीमा भने स्थानिय समुदाय र सर्वसाधारणको पनि लगानी हुनेछ । लिम्बुका अनुसार तमोर र मेवा दुवै हिमनदीको पानी भएकाले आयोजना आकर्षक छ । आयोजनास्थलमा २१ हेक्टर सरकारी र १५ हेक्टर निजीको जग्गा पर्छ । जग्गाको व्यवस्थापन चाँडोगरी टुंग्याउने कम्पनीले जनाएको छ । सरकारीबाहेकको बाँकी जग्गा क–कसको हो भनि पहिचान गर्न समय खर्चिनुबावहेक खरिद प्रक्रियामा समस्या छैन् । उत्पादित विद्युत् ढुङेसाँघस्थित नेपाल विद्युत् प्राधिकरणको सवस्टेशनमा जडान गरिने भएको छ । ग्रीड कनेक्सन एग्रिमेन्ट विद्युत् प्राधिकरणअन्तर्गत ग्रीड सञ्चालन विभागसँग सहमति गरेको छ ।
अबको १ वर्ष भौतिक संरचना निर्माणसहित टेण्डर डकुमेन्ट तयार, सडक स्तरोन्नति र जग्गा खरिद लगायतका काम गर्ने योजना बनाएको छ । जिल्लाको फुङलिङ नगरपालिका, मिक्वाखोला गाउँपालिका, मेरिङदेन गाउँपालिका र आठराई त्रिवेणी गाउँपालिका आयोजनास्थलमा पर्छ । मिक्वाखोला गाउँपालिका र मेरिङ्देन गाउँपालिका भएर बग्ने मेवा खोलाको पानी तमोर नदिमा मिसाइनेछ । मेवा र तमोर नदीको पानी फर्काउन विभिन्न संरचना बन्ने भएका छन् । डाइभर्सन, इनटेक, बेडलोड, ट्रयाप, ग्राभेल रोक्ने संरचना, बालुवा थिग्य्राउने पोखरी जस्ता संरचनाहरु छुट्टाछुट्टै गरी बनाइनेछ ।

प्रतिक्रिया दिनुहोस्