रुपन्देहीमा कोरोना संक्रमित ७ हजार ४ सय १४ पुगे «

रुपन्देहीमा कोरोना संक्रमित ७ हजार ४ सय १४ पुगे

भैरहवा-रुपन्देही जिल्लामा कोरोना भाइरस संक्रमितहरुको संख्या ७ हजार ४ सय १४ पुगेको छ । रुपन्देहीमा गत वैशाख १९ गते पहिलो केस देखिएको थियो । १९ वैशाखमा रुपन्देहीको कोटहीमाई सिपवाका एक युवामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीले बताए । उनी भारतबाट आएका थिए । पहिलो केस देखिएको करिब साढे ६ महिनामा संक्रमितहरु ७ हजार ४ सय १४ नाघेका छन्, डा. गिरीले भने ।
भारतसँगको खुला सिमानाका भएका कारण अबैध रूपमा घुसपैठ, भारतमा रोजगारीका लागि गएकाहरु फर्केर आउने क्रम बढी, पहाडी जिल्ला र छिमेकी जिल्लाका साथै अन्य पनि यो नाका सहज भन्दै यहीबाट फर्कने क्रम बढी जस्ता कारणले रुपन्देहीमा कोरोनाको संक्रमणको जोखिम उच्च देखिएको हो ।
समुदायमा फैलेको कारण अब अझै बढी सतर्कता अपनाउनु जरुरी छ, संख्याको आधारमा बढी संक्रमित हुने जिल्लामा रुपन्देही छ, डा. गिरीले भने ।
स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक तथा कोभिड–१९ का फोकल पर्सन केदार नाग शाहका अनुसार मंसिर २ गते बेलुका ४ बजेसम्म ७ हजार ४ सय १३ संक्रमित पुगेका छन् । त्यसैगरी उपचारपछि निको हुनेहरु ६ हजार २ सय १४ जना, उपचारमा रहेका(एक्टिभि केस ) १ हजार १ सय ११ जना तथा मृत्यु हुनेमा ८८ जना छन् ।
मंगलबार जिल्लामा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको शाहले बताए । रुपन्देहीमा सबैभन्दा बढी बुटवल उपमहानगर पालिकामा ३ हजार १ सय १२ जना, सिद्धार्थनगर (भैरहवा)मा १ हजार २ सय ९१, तिलोत्तमा नगर पालिकामा १ हजार १ सय ९९, देबदह नपामा ३ सय ७, सैनामैना नपामा २ सय ९४, शुद्धोधन गापामा १ सय ४८, सियारी गापामा १ सय २८, ओम सतिया र कञ्चनमा १ सय २४।१ सय २४, मायादेवी गापामा १ सय १३, लुम्बिनी सास्कतिक नपामा ८५, कोटहीमाई गापामा ७८, रोहिणी गापामा ५८,सम्मरीमाई गापामा ४७, गैडहवा गापामा ४२ , मर्चवारीमा २० र अन्य (ठेगाना नखुलेका) ७ रहेको भेक्टर कन्टा्रेल अधिकृत शाहले जनाए । संक्रमितहरुको उपचार बुटवल धागो कारखानास्थित कोभिड अस्पताल, भैरहवा भीम कोभिड अस्पताल साथै अन्य निजी अस्पताललका कोभिड युनिट साथै होम आइसोलेसनमा राखेर उपचार भइरहेको स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीले बताए ।

प्रतिक्रिया दिनुहोस्