प्रदेशबाट सहकारीको अनुगमन «

प्रदेशबाट सहकारीको अनुगमन

झापा-डिभिजन सहकारी कार्यालयको खारेजीसँगै सहकारीको नियमन तथा अनुगमको अख्तियारी पाएको प्रदेश सरकार मातहतको निकायले सहकारीको अनुगमन सुरु गरेको छ । झापामा पहिलोपटक बुधबार ५ वटा सहकारीको अनुगमन गरिएको हो । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले प्रदेश–१ का सहकारी मन्त्रालयका प्रशासन तथा सहकारी शाखा प्रमुख रामप्रसाद चापागाईँ नेतृत्वको टोलीले सहकारीको अनुगमन सुरु गरेको हो । टोलीमा सहकारी शाखाका शाखा अधिकृत सहभागी थिए ।
टोलीले बिर्तामोडको सतासी बहुमुखी सहकारी संस्था, साना मझौला सहकारी संस्था, शिखर साकोस, सिम्रिक बचत तथा ऋण सहकारी संस्था र लक्ष्मी बहुउद्देश्य सहकारीको अनुगमन गरेको हो । झापामा प्रदेश–१ को मातहतमा रहेका ३७४ वटा सहकारीको अनुगमन गर्ने क्रममा पहिलो चरणमा पाँचवटाको अनुगमन गरिएको प्रमुख चापागाईँले बताए । टोलीले सहकारीको वित्तीय कारोबार, कार्यालय व्यवस्थापन, सहकारी सुशासनको अवस्थाबारे जानकारी लिएको छ । मन्त्रालयले निरन्तर सहकारीको नियमन र अनुगमन गर्ने कार्ययोजना बनाएको उनले जानकारी दिए ।
प्रमुख चापागाईँका अनुसार अनुगमनका क्रममा लेखापरीक्षण प्रतिवेदन कसरी बनाउने र कहाँ पठाउने भन्ने अन्योल रहेको देखिएको छ । उनले प्रदेशस्तरीय मन्त्रालयमा जनशक्ति कम भए पनि कामलाई निरन्तरता दिने र प्रदेश मातहतका सहकारीले सम्बन्धित निकायमा आफ्नो गतिविधि जानकारी गराउनुपर्ने बताए । उनले प्रदेश सहकारी मन्त्रालयअन्तर्गत ७२ जना कर्मचारी रहने स्वीकृत दरबन्दी भए पनि तत्काल ४० जना कर्मचारी रहेको जानकारी दिए । टोलीले अनुगमनका साथै सहकारी सूचना प्रणाली स्थापनमा इमेल र सम्बन्धित सहकारीलाई पासवर्ड उपलब्ध गराएको छ । जसले सहकारीको गतिविधिलाई अनलाइन प्रविधिमार्फत हेर्न र अनुगमन गर्न सकिने विश्वास लिइएको छ ।
संविधानले सहकारीलाई स्थानीयदेखि केन्द्र तहसम्म वर्गीकरण गरेको छ । जसअन्तर्गत स्थानीय तहमात्र कार्यक्षेत्र भएको सहकारी स्थानीय तहमै रहने र त्यसको अनुगमन स्थानीय स्तरबाटै हुने व्यवस्था छ । एकभन्दा बढी स्थानीय तहमा कार्यक्षेत्र रहेको सहकारी प्रदेश सरकार मातहत र एकभन्दा बढी प्रदेश कार्यक्षेत्र भएका सहकारी केन्द्र सरकारको मातहतमा रहने व्यवस्था गरेको छ । झापामा प्रदेश सरकारको मातहतमा ३७४ वटा सहकारी संस्था छन् । नेपालमा जम्मा ३५ हजारको हाराहारीमा सहकारी रहेका छन् । सहकारीबाट ३ खर्ब भन्दा बढी रुपैयाँको कारोबार हुने तथ्यांक छ । ६० हजार नागरिक सहकारीका सदस्य रहेका छन् ।
प्रदेश सरकारले काम सुरु गरेसँगै सहकारीकर्मीले सहकारी क्षेत्रमा नयाँ अध्याय सुरु हुने आश गरेका छन् । सीमित स्रोत साधनका बाबजुत पनि अनुगमन थालिएको हो । चापागाईँले सहकारीको अनुगमनलाई निरन्तरता दिने बताए । झापामा अनुगमन गर्नुअघि टोलीले उदयपुर, सुनसरी, झापाको दमकलगायत क्षेत्रमा अनुगमन गरिसकेको छ । अनुगमनका क्रममा भेटिएका त्रुटि सच्याउन निर्देशन दिएको प्रमुख चापागाईँले बताए ।

मनिषा चम्लागाईँ

प्रतिक्रिया दिनुहोस्