ग्लोबल आईएमई बैंकको नाफा अर्बमाथि «

ग्लोबल आईएमई बैंकको नाफा अर्बमाथि

गत आथिक वर्षमा जनता बैंकलाई मर्ज गरेको ग्लोबल आईएमई बैंकले चालु आर्थिक वर्ष (२०७६-०७७) को प्रथम त्रैमासमै एक अर्बमाथि मुनानाफा आर्जन गरेको छ । प्रथम त्रैमासको अपरिस्कृत विवरणअनुसार बैंकले एक अर्ब ५ करोड ८८ लाख ४० हजार खुद मुनाफा आर्जन गरेको छ । बैंकको खुद मुनाफा गत आर्थिक वर्षको सोही अवधिको भन्दा ४०.५९ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ७५ करोड ३१ लाख ४४ हजार खुद मुनाफा आर्जन गरेको थियो । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा भने २२ करोड ६१ लाख ६१ हजार रहेको छ । कोभिड १९ को प्रभावको बाबजुत पनि बैंकले जनता बैंकलाई मर्ज गर्दा उल्लेख्य प्रगति गरेको देखिएको छ । बैंकको खुद ब्याज आम्दानीमा भएको वृद्धि कमिसन आम्दानी वृद्धि हुँदा सम्भावित कर्जा नोक्सानीका लागि प्रोभिजन बढाउँदा पनि सञ्चालन मुनाफा भने बढेको छ । पहिलो त्रैमासमा बैंकले दुई अर्ब ५९ करोड ६६ लाख ९ हजार खुद ब्याज आम्दानी गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको भन्दा ६५.७५ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले एक अर्ब ५६ करोड ४७ लाख २७ हजार खुद ब्याज आम्दानी गरेको थियो । बैंकको प्रोभिजन बढ्दा आम्दानीको तुलनामा नाफा बढ्न सकेन । बैंकको निष्क्रिय कर्जा बढेर १.८३ प्रतिशत पुगेको छ भन्दै बैकले गत वर्षको निष्क्रिय कर्जा ०.४२ प्रतिशत रहेको पनि जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्