Logo

व्यवसायीको हत्यारालाई पक्राउ गर्न माग

रुपन्देहीको देवदह–५ का युवा व्यवसायी वसन्त पौडेलको हत्यामा संलग्नलाई यथाशीघ्र पत्ता लगाई कारबाही गर्न र शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन उद्योगी व्यवसायीहरुले माग गरेका छन् । उद्योग–व्यवसाय क्षेत्रका आधा दर्जन बढी संघसंस्थाले पौडेलको हत्याले सिंगो निजी क्षेत्रले असुरक्षित महसुस गरेको भन्दै यथाशीघ्र दोषी पत्ता लगाई कारबाही गर्न माग गरेका हुन् ।
शुक्रबार देवदह नगरपालिकाको खैरेनीचोकबाट ६ किलोमिटर दक्षिण देवदह–२ ढेकारमा रहेको आफ्नै काष्ठ उद्योग (उज्ज्वल सः मिल) मा बसिरहेका बेला पौडेललाई मोटरसाइकलमा आएका दुईजना अपरिचित व्यक्तिले गोली हानेर हत्या गरेका थिए । पौडेल नेपाल वन पैदावर उद्योग व्यवसायी संघका सदस्य र देवदहका स्थापित काष्ठ उद्योगी हुन् । उनी एमाले निकट युवा संघका पूर्व क्षेत्रीय कोषाध्यक्ष र हाल सक्रिय पार्टी सदस्य समेत थिए ।
एक वर्षपहिले युवा संघ रुपन्देहीका अध्यक्ष एवं इँट्टा उद्योगी दुर्गा तिवारीको मनोज पुनको समूहले ढेकार भन्ने स्थानमै गोली हानेर हत्या गरेको थियो । आफ्नै उद्योगमा रहेका बेला दिनदाहाडै गोली चलाएर व्यवसायीको हत्याले असुरक्षा महसुस गराएको भन्दै उद्योगी–व्यवसायीले शान्ति सुरक्षाको प्रत्याभूति दिलाई व्यवसायमैत्री वातावरण बनाउनुपर्ने माग गरेका छन् । रुपन्देही उद्योग संघ, नेपाल वन पैदावर उद्योग व्यवसायी संघ रुपन्देही, देवदह उद्योग वाणिज्य संघ, उद्योग व्यापार संगठन देवदह, देवदह व्यापार संघ लगायतका संघ–संस्थाले छुट्टाछुट्टै प्रेस विज्ञप्ति निकालेर हत्याको निन्दा गरेका छन् ।
गोली कसले र किन हान्यो भन्नेबारेमा आवश्यक अनुसन्धान सुरु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक पवन भट्टराईले बताएका छन् । घटनाको विरोधमा युवा संघ रुपन्देहीले शनिबार दिनभर रुपन्देही बन्द गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्