कोरोना कहरबीच दीपावलीको लहर «

कोरोना कहरबीच दीपावलीको लहर

हिन्दूहरूको महान् पर्व दीपावली सकिएको छ । कोरोना कहरका कारण यसपालिको दीपावली प्रभावित बन्यो । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म पाँच दिन विशेष धूमधामसँग मनाइने पर्व नै यमपञ्चक वा दीपावली हो । यसलाई यमपञ्चक, दीपावली वा तिहार पनि भनिन्छ । तर, यस वर्ष विश्वव्यापी रूपमा कोरोना संक्रमण बढिरहेकाले सामाजिक दूरी कायम गर्दै विशेष सतर्कताका साथ दीपावली मनाइयो । हामी सबै सतर्क रहनुपर्ने हुनाले सबैलाई सावधानी अपनाउन र सूचित रहन काठमाडौँ उपत्यकाका तीनओटा प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायको भर्चुअल बैठक बसेको थियो । उक्त बैठकले तिहार, नेपाल संवत् र छठलगायतका पर्वहरूमा हुन सक्ने सुरक्षा सावधानी तथा स्वास्थ्य सावधानीका बारेमा निर्णयसमेत गरेको थियो । यस्ता चाडपर्वमा भीडभाड कम गर्न र स्वास्थ्य सुरक्षा अपनाउन सबैलाई अनुरोध गर्दै उनीहरूले पनि सजग गराएका थिए । यस्तै, गृह मन्त्रालयले पनि देशका सबै जिल्लाहरूमा कोभिडको अत्यधिक संक्रमण देखिएका कारण सबैले संयमित भएर विशेष सुरक्षाका साथ दीपावली मनाउन अनुरोध गरेको थियो । उपत्यकाका तीनओटा जिल्लाका जिल्ला प्रशासन कार्यालय, प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान तथा स्वास्थ्यकर्मीहरूलाई चाडबाडका समयमा सुरक्षा सतर्कता अपनाउन निर्देशन दिए पनि धेरै स्थानमा सुरक्षा सतर्कता अपनाइएको देखिएन । व्यवस्थित रूपमा चाडपर्व पनि मनाउने अनि कोभिडको जोखिम पनि बढ्न नदिन र काम थाल्न गृह मन्त्रालयले निर्देशन दिएको थियो । तर, नेपालीहरूको महान् पर्व दसैंपछिको चाड दीपावली तथा छठ पर्व सबै नेपालीको आँगनमा आएको खुसीमा कोभिडको जोखिमको ख्याल कमै भएको पाइयो । त्यसैले यसबाट जोगिन आमनागरिकलाई सचेत रहन सुरक्षा योजना व्यवस्थित बनाउनुपर्ने देखिन्छ ।
यस्तै तिहारका बेला लङ्गुरबुर्जा, तास, ओखर, जुवाजस्ता खेल हुने गर्छ र यसमा मानिसको भीड लाग्ने भएका कारण त्यसलाई पूर्ण रूपमा नियन्त्रण गर्न नेपाल प्रहरीले विशेष निगरानी गर्नुपर्ने देखिन्छ । अर्कातिर पटका र भुइँचम्पाका कारण ध्वनि प्रदूषण साथै आगलागीको पनि जोखिम हुने भएका कारण त्यसतर्फ सबैले ध्यान पु-याउनुपर्ने देखिन्छ । यस पटक केही कम होला भन्ने सोचिएको थियो । तर, धेरै ठाउँमा मानिसले कोभिडको महामारीलाई बेवास्ता गरिएको पाइयो । साथै, यस वर्ष देउसी–भैलो आयोजना नगर्न पनि जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको थियो । गृहका प्रवक्ताले अटेर गरेर पटका पट्काएमा, देउसी भैलो खेलेमा वा जुवातास खेलेमा तिनीहरूलाई तत्कालै कारबाही गरिने जनाएका थिए । यसमा भने मानिसहरूले मर्यादित रूपमा साथ दिएको देखियो । यस्तो महामारीमा संयमित भएर पर्व मनाउनतर्फ हामीले ध्यान दिनु जरुरी छ । महामारीमा आफू सुरक्षित रहनु र अरूलाई पनि सुरक्षित गर्नुपर्छ भन्ने मूल कुरालाई हामी सबैले अनुसरण गर्नुपर्ने देखिन्छ ।
हिन्दूहरूको महान् पर्व दीपावली उज्यालोको पर्व भएकाले मनमा भएको अँध्यारोलाई हटाएर उज्यालो बढाउनु यो पर्वको सार हो । शरद ऋतुमा पर्ने महत्वपूर्ण र सुन्दर पर्वका रूपमा यसलाई लिइन्छ । यस पर्वलाई फूलहरूको पर्व पनि भनिन्छ । तर पनि यस पर्वमा खासगरी उज्यालोलाई नै प्राथमिकता दिइएको पाइन्छ । तमसोमा ज्योतिर्गमय अर्थात् अन्धकारबाट उज्यालोतिर अग्रसर होऊ भन्ने भावनामा परापूर्वक कालदेखि नै यो पर्व मनाइँदै आएको प्रतीत हुन्छ । दीपावलीको धार्मिक, सांस्कृतिक र जैविक महŒव पनि व्यापक रूपमा रहेको छ । यस पर्वलाई तिहार, दीपावली, त्यौहार, यमपञ्चक, दीपोत्सव जुन नामले मनाए पनि खासगरी यो दीप वा उज्यालोको पर्व नै हो । त्यसैले यस पर्वमा विभिन्न खालका दीप प्रज्ज्वलन गरिन्छ । साथै, तिहार फूलको पर्व पनि हो । यस अवसरमा फुल्ने फूलले वातावरणलाई सुरम्य बनाउने मात्र होइन । वातावरणमा एक प्रकारको सुगन्ध नै प्रवाह गरेको हुन्छ । दीपावलीलाई वातावरणीय, जैविक तथा आयुर्वेदिक दृष्टिले समेत ज्यादै उपयोगी पर्वका रूपमा लिन सकिन्छ । विभिन्न जीवजन्तुको पूजाअर्चना गरेर मनाइने यस पर्वले प्रकृति र मानव समुदायबीचको घनिष्ठ सम्बन्धलाई बढाएको पाइन्छ । सांस्कृतिक, धार्मिक, पौराणिक महŒवको यस पर्वलाई जैविक तथा वातावरणीय दृष्टिले समेत उपयोगी पर्वका रूपमा लिन सकिन्छ । तर यस वर्षको दीपावली पर्व खासै उमङ्गका रूपमा मनाउन नपाए पनि यसलाई आन्तरिक उमङ्गका रूपमा सचेत भएर, सावधानीपूर्वक विशेष रूपमा मनाउने प्रयास गरिएको देखियो ।

प्रतिक्रिया दिनुहोस्