सिमावर्ती बजारमा गुणस्तरहीन भारतीय तेल «

सिमावर्ती बजारमा गुणस्तरहीन भारतीय तेल

वीरगन्ज-स्थानीय प्रशासनको फितलो अनुगमनका कारण सीमावर्ती बजारमा भारतीय गुणस्तरहीन खाने तेल खुलेआम बिक्री वितरण भइरहेको पाइएको छ । अवैधरुपमा नेपाली बजारमा भित्रिएका भारतीय उत्पादनका गुणस्तरहीन र कम तौलको तेल खुलेआम बिक्री वितरण भइरहँदासमेत सम्बन्धित निकाय मौन देखिएको छ ।
भारतीय उत्पादनका गुणस्तरहीन र कम तौल भएका तेल नेपाली बजारमा छ्याप्तछ्याप्ती भएपछि सीमाक्षेत्रका नेपाली उपभोत्ता ठगिनुका साथै उनीहरूको स्वास्थ्यमा पनि प्रतिकूल प्रभाव पारेको छ । भारतमा उत्पादित सिपी, कोल्हु, दोपूmल, पूmल, नागा बाबा, रानी, धारा, हवाई घोडालगायतका ब्रान्डको तोरीको तेल अवैधरुपमा नेपाली बजारमा आउने गरेका कारण सीमाक्षेत्रका नेपाली उपभोक्ता ठगिइरहेका छन् । नेपाल–भारत सीमा नाकानजिक रहेका सहरहरू पर्साको वीरगन्ज, पोखरिया, भिस्वा, जानकीटोला, महुवन, पाँडेपुर, धोरे, पकहामैनपुर, लंगडी, बाराको कलैया, बरियारपुर, गन्जभवानीपुर, कोल्हवी, प्रसौनी, सिम्रौनगढ, जीतपुर सिमरा, रौतहटको गौर, गरुडा, शिवनगर, कटहरिया, सर्लाहीको मलंगवा, बरहथवा, महोत्तरीको गौशाला, जलेश्वर, धनुषाको जनकपुर, महेन्द्रनगर, सिराहाको माडर, मिर्चैया, सप्तरीको राजविराज, तिलाठी कोइलाडीलगायतका सीमावर्ती क्षेत्रमा रहेका नेपाली बजारमा यस्ता गुणस्तरहीन र तौल कम भएका खाने तेल बिक्री वितरण भइरहेको छ ।
तस्करीका माध्यमबाट अवैधरुपमा ल्याइने यस्ता गुणस्तरहीन र कम तौल भएका तेलको प्रयोगशालामा समेत कुनै परीक्षण हुने गरेको छैन । बोतलबाहेक एक लिटर बराबर ९ सय १० ग्राम हुनुपर्नेमा बोतलसहित ७ सय ९० देखि ८ सय ग्राम तौल भएको तेल सीमाक्षेत्रका बजारमा छयाप्पछ्याप्ती आउने गरेको छ । त्यस्तै १५ लिटरको टिनामा आउने तोरीको तेलको तौल पाँच सय ग्रामदेखि एक किलोग्रामसम्म कम आउने गरेको छ । भारतीय बजारबाट ल्याइएका यस्ता तेलले नेपाली उपभोक्ताको स्वास्थ्यमा पनि गम्भीर असर पारेको छ ।
भारत तथा तेस्रो मुलुकबाट नेपाल आयात हुने खाद्यान्नको गुणस्तर परीक्षणका लागि वीरगन्जस्थित खाद्य क्वारेन्टाइनको प्रयोगशालामा परीक्षण गर्नुपर्ने भए पनि अहिलेसम्म भारतबाट आयात हुने खानेतेलमा फच्र्युन र सफला गोल्डबाहेकका कुनै पनि ब्राण्डको तेल क्षेत्रीय क्वारेन्टाइनको प्रयोगशालामा परिक्षणका लागि नआएको खाद्य क्वारेन्टाइनका प्रमुख विजय खनालले जानकारी दिए । “भारतमा उत्पादित भारतीय रानी र धारा ब्राण्डका तेल धनगढी नाकाबाट मात्रै आउने गरेकाले अन्य नाकाबाट आयात गरिएको तेल तस्करीबाट ल्याइएको हो,” उनले भने ।
भारतबाट नेपालमा तोरीको तेल आयात गर्न नपाइने भएकाले वीरगन्ज भन्सार कार्यालयको तथ्यांकमा पनि भारतीय तेल आयातको मात्रा कम रहेको जनाएको छ । खासगरी नेपालकै उद्योगले उत्पादन गर्ने क्रुड आयल मात्रै बढी आउने गरेको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ ।
अवैधरुपमा आयात गरिएको भारतीय खाने तेलले नेपाली बजारमा साम्राज्य जमाउन थालेपछि नेपालमा उत्पादित गुणस्तरीय तेलको बजारलाई समेत प्रभावित पारेको छ । जसले गर्दा स्वदेशी उद्योगमा उत्पादित खाने तेल बजारमा बिक्री नहुँदा व्यवसायी मारमा परेका छन् । नेपाल तेल, दाल उद्योग संघका अध्यक्ष सुवोध गुप्ताले अवैध रूपमा आउने भारतीय ब्रान्डका तेल कम तौलको मात्रै नभई गुणस्तरहीन पनि भएकाले सम्बन्धित निकायले नियन्त्रण गर्नुपर्ने बताए । यसले मुलुकको राजस्वसमेत प्रभावित भइरहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्