४ महिनामा ४ अर्ब ८३ करोड कर संकलन «

४ महिनामा ४ अर्ब ८३ करोड कर संकलन

भरतपुर–चितवनमा ४ महिनामा ४ अर्ब ८३ करोड कर संकलन भएको छ । आन्तरिक राजस्व कार्यालय भरतपुरले ४ महिनामा लक्ष्यभन्दा १ अर्ब १७ करोड रुपैयाँ कम कर असुली गरेको हो । कात्तिक अीन्तम सातासम्मको असुली विवरण केलाउँदा अन्तः शुल्क कर लक्ष्यभन्दा १ अर्ब ४२ करोड कम रुपैयाँ कम असुली भएको छ । असार मसान्तसम्म अन्तःशुल्क ५४ प्रतिशत कम संकलन भएको थियो । आन्तरिक राजस्व कार्यालय चितवनका प्रमुख सुवप्रसाद रिजालले लक्ष्यभन्दा कम कर असुली भएपनि विगतको तुलनामा सन्तोषजनक रहेको बताए ।
अन्तः शुल्क कात्तिक मसान्तसम्म ५ अर्ब २ करोड संकलन हुने अनुमान गरिएको थियो । तर, कोरोना कहरका कारण होटल, रेष्टुराँ, पार्टी प्यालेसमा मदिरा तथा वियरको खपत घटेकाले कर असुलीमा समेत कमी आएको छ । अन्तः शुल्कले समग्र कर असुलीको ८० प्रतिशत हिस्सा ओगट्ने गर्छ । अन्य कर असुली लक्ष्यभन्दा धेरै देखिन्छ । उनका अनुसार आयकर १० प्रतिशत, मूल्य अभिवृद्धि कर २५ प्रतिशत बढी असुली भएको छ । आयकर ४८ करोड ९६ लाख, मूल्य अभिवृद्धि कर ६७ करोड ८७ लाख रुपैयाँ संकलन भएको छ । व्याज कर १ सय ६३ प्रतिशत बढी संकलन भएको छ ।
व्याज कर ४ करोड ८२ लाख संकलन भएको छ । बहाल कर लक्ष्यभन्दा कम असुली भएको छ । १ करोड ५५ लाख लक्ष्य लिइएकोमा ८४ लाखमात्रै असुली भएको छ । कात्तिक मसान्तसम्म ६ अर्ब ५ करोड कर असुली गर्ने लक्ष्य थियो । “कोरोना कहरले गर्दा कर असुलीमा केही कमी आएको छ”, उनले भने, “यही गतिमा असुली भएमा यो वर्ष ८० प्रतिशत प्रगति हुने अनुमान छ ।” कार्यालको गत वर्ष नवलपुर कार्यक्षेत्र रहेपनि अहिले चितवनमात्रै कार्यक्षेत्र छ । गत आर्थिक वर्ष असार मसान्तसम्म कार्यालयले १९ अर्ब ९६ लाख ८४ हजार रुपैयाँ कम राजस्व संकलन गरेको थियो । ४३ अर्ब ३८ करोड ७७ लाखको लक्ष्य रहेको थियो । आर्थिक वर्ष २०७५-०७६ मा ३० अर्ब ३५ करोड २३ लाख रुपैयाँ राजस्व संकलन भएको थियो । कार्यालयले यो वर्ष १८ अर्ब ९० करोड रुपैयाँ कर असुली गर्ने लक्ष्य लिएको छ ।
नवौँ राष्ट्रिय कर दिवसमा सप्ताहव्यापी कार्यक्रम
आन्तरिक राजस्व कार्यालय भरतपुरले राष्ट्रिय कर दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम गर्ने भएको छ । मंसीर १ गतेदेखि सप्ताहव्यापी कार्यक्रमका तालिका बनेपनि कार्यक्रमहरु ३ गतेदेखि हुनेछन् । १ गते भाइटीका र २ गते सार्वजनिक विदा भएकाले कर सप्ताहका कार्यक्रम ३ गतेदेखि सुरु हुनेछन् ।
३ देखि ६ गतेसम्म स्थानीय तहगत कर सचेतना कार्यक्रम हुने जनाइएको छ । निजी क्षेत्रसँग पनि कर सचेतना कार्यक्रम हुँदैछन् । ७ गते सप्ताहव्यापी कार्यक्रम समापन हुनेछन् । सो दिन उत्कृष्ट करदाता र उत्कृष्ट कर्मचारीलाई सम्मान गरिने जनाइएको छ । कर सचेतनाका व्यानर स्थानीय तहका मुख्य चोकचोकमा राखिएको छ । चितवनमा व्यावसायिक पान लिएका ५० हजार र व्यक्तिगत पान लिएका ७० हजार करदाता छन् ।

प्रतिक्रिया दिनुहोस्