समर्थन मूल्यमा किसानको धान खरिद गर्न सहकारीलाई दिने «

समर्थन मूल्यमा किसानको धान खरिद गर्न सहकारीलाई दिने

वीरगन्ज-सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्नका लागि सहकारी संस्थाहरुलाई दिने भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ कार्यालयमार्फत समर्थनम मूल्यमा धान खरिद गर्न इच्छुक सहकारी संस्थाहरुलाई परियोजना कार्यान्वयन इकाइ कार्यालयमा सूचिकृत हुन सार्वजनिक सूचना जारी गरेको छ । सरकारले मोटा धानको २७३५ र मोटा मसिनो २८८५ रुपैंया प्रतिक्वीन्टल निर्धारण गरेको छ । तर, पर्साका किसान अहिले सस्तो मूल्यमा व्यापारीहरुलाई धान बिक्री गर्न बाध्य भएका छन् ।
धान रोप्ने बेलामै सरकारले समर्थन मूल्य तोकेपछि हौसिएका किसानले वर्षभरी मिहिनेत र दुःख गरेर धान उब्जनी गरेपनि सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा बिक्री गर्न नपाउँदा निराश भएका छन् । सरकारले तोकेको समर्थन मूल्यमा नै किसानको धान खरिदका लागि सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ कार्यालयमार्फत सहकारी संस्थाहरुलाई दिने र ती सहकारी संस्थालाई प्रतिक्वीण्टल ११२ रुपैयाँको दरले अनुदान खातामा पठाउने परियोजना कार्यान्वयन इकाइ कार्यालय पर्साका सूचना अधिकारी कृषि अधिकृत पुरुषोत्तम रौनियारले जानकारी दिए ।
किसानको लागत खर्च, व्यावस्थापन खर्च, भारती बजारमा धानको मूल्य, नेपाली बजार मूल्यलाई पनि आधार मानेर न्यूनतम समर्थन मूल्य तोकेको छ । पर्साका धान उत्पादन गर्ने किसानहरुको धान सस्तोमा बिक्री गर्नुपरेको अवस्थामा सहकारी संस्थाहरुलाई धान खरिद गर्न सहुलियत अनुदानसहितको व्यवस्था गरेको परियोजना कार्यालयले जनाएको छ । समर्थन मूल्यमा धान खरिद प्रकृया लागू गर्ने सम्बन्धनमा परीक्षणकालको रुपमा समन्वयको जिम्मेवारी प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई पाएको कृषि अधिकृत रौनियारले बताए ।
उनका अनुसार धान खरिद गर्न इच्छुक सहकारी संस्थाहरुले आपूmले गरेको कारोबार, करचुक्ता प्रमाणपत्र, पान नम्बर, धान खरिद गर्न चाहेको स्थानलगायतका कागजातसहित कार्यान्वयन इकाइ कार्यालयमा सूचिकृत हुनुपर्छ । किसानसँग धान खरिद गरेको १५ दिन भित्रमा सहकारी संस्थाहरुले किसानलाई भुक्तानी दिइसक्नुपर्नेछ । त्यसपछि परियोजना कार्यान्वयन इकाइ कार्यालयले नियमन र अनुमगन गरेर प्रतिक्वीण्टल ११२ रुपैयाँको दरले सहकारीको खातामा रकम पठाउने प्रावधान छ ।
एउटा सहकारीले कम्तीमा ५ हजार क्वीण्टल धान खरिद गर्नसक्ने छ । थप परिमाणमा धान खरिद गर्न चाहेमा परियोजना कार्यान्वय इकाइको अनुमति लिनुपर्ने निर्देशिकामा उल्लेख गरिएको छ । सहकारी संस्थालाई धान खरिद गर्न दिने सन्दर्भमा पनि चुनौती रहेको कृषि अधिकृत रौनियारको भनाइ छ । उनका अनुसार सबै जिल्लाका सहकारीहरुले एकैपटक धान खरिद गरेर लागू ग¥यो भने र ठूलो कारोबार गर्ने सहकारीहरुले गरे मात्रै सफल हुनेछ । यसका लागि सहकारी संघहरुले पहल गर्नुपर्ने कायान्वयन इकाइका सूचना अधिकारी एवं कृषि अधिकृत रौनियारले बताए । वीरगन्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले भने अहिलेसम्म धान खरिद गर्ने तयारी गरेको छैन ।
किसानले उब्जनी गरेको धान सरकारको स्वामित्वमा रहेको वीरगन्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खरिद गर्न तयारी नगरेपछि किसानहरु चिन्तित बनेका छन् । वीरगन्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कार्यालयले भने किसानले धान निकाल्ने समय नभएकाले अहिले नै तयारी नभएको र छठपछि मात्रै धान खरिदका लागि प्रकृया अगाडि बढाउने कम्पनीका वरिष्ठ सहायक एवं सूचना अधिकारी मुनीलाल कुश्वाहाले बताए ।

प्रतिक्रिया दिनुहोस्