धनकुटा र तेह्रथुममा धान उत्पादनको क्षेत्रफल र उत्पादकत्व वृद्धि «

धनकुटा र तेह्रथुममा धान उत्पादनको क्षेत्रफल र उत्पादकत्व वृद्धि

धनकुटा र तेह्रथुममा अघिल्लो वर्षको तुलनामा मंसिरे धान उत्पादनको क्षेत्रफल बढेको छ । धान रोपाइँ हुने समयमा वर्षा भएको र कोरोना भाइसरको कारण अन्य व्यावसाय गरेर बसेकाहरुसमेत धान खेती गर्नतर्फ लागेकाले अघिल्लो वर्षको तुलनामा धान उत्पादनको क्षेत्रफल र उत्पादकत्व वृद्धि भएको कृषि ज्ञानकेन्द्र धनकुटाले जनाएको छ ।
अघिल्लो वर्ष धनकुटामा मंसिरे धान ५ हजार ९ सय ६२ हेक्टरमा खती गरिएको थियो । त्यसबाट १८ हजार ६ सय ३ मेट्रिकटन धान उत्पादन भएको थियो । यो वर्ष ७ हजार १ सय ५५ हेक्टरमा गरिएको खेतीबाट २३ हजार ४ सय ३९ मेट्रिकटन धान उत्पादन हुने अनुमान गरिएको कृषि ज्ञानकेन्द्र धनकुटाका अधिकृत विशाल राईले बताए ।
त्यस्तै तेह्रथुम जिल्लामा अघिल्लो वर्ष ८ हजार १ सय ४० हेक्टरमा गरिएको खेतीबाट १६ हजार ६ सय ९५ मेट्रिकटन धान उत्पादन भएकामा यस वर्ष ९ हजार ६ सय ६६ हेक्टरमा गरिएको खेतीबाट २१ हजार १ सय ७७ मेट्रिकटन धान उत्पादन हुने अनुमान रहेको राईले बताए ।
धनकुटा र तेह्रथुममा दूधराज, बेलगुटी, अटे, बाँसधानलगायत स्थानीय धान र खुमल १०, खुमल ४ लगायतका उन्नत जातको धान खेती हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्