२१ राष्ट्रका १२० पाइलट सहभागी «

२१ राष्ट्रका १२० पाइलट सहभागी

स्याङ्जामा प्याराग्लाइडिङ वल्र्डकप सुरु

पोखरा-स्याङ्जामा प्रथम नेपाल प्याराग्लाइडिङ एकुरेसी (स्पोट ल्यान्डिङ) वल्र्डकप २०१८ सुरु भएको छ । स्याङजाको स्वरेक मैदान (भिरकोट) र डौंवाफाँटमा बिहीबारदेखि सुरु उक्त प्रतियोगितामा २१ देशका १ सय २० जना प्याराग्लाइडिङ पाइलटहरूले सहभागिता छ । प्रतियोगिता मूल आयोजक समितिका संयोजक एवं जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख सीताकुमारी सुन्दासका अनुसार नेपालमै पहिलोपटक यस्तो प्रतियोगिता भएको हो ।
प्रतियोगितामा भारत, चीन, अमेरिकालगायत २१ देशका १ सय २० जना प्याराग्लाइडिङ पाइलटहरूले सहभागिताको लागि आफ्नो नाम दर्ता गराएका छन् । पुरुष र महिलाको टिम तथा व्यक्तिगत एक्युरेसी गरी ४ वटा स्वर्ण पदकका लागि प्रतिस्प्रर्धा हुने भएको छ । अझै केही राष्ट्रका प्याराग्लाइडिङ पाइलटहरूले आफ्नो नाम दर्ता गराउँदै गरेको उनले बताइन् । प्रतियोगिताको औपचारिक प्रतिस्प्रर्धा भने शुक्रबारदेखि हुने भएको हो ।
प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले बिहीबार एक समारोहबीच गरे । कार्यक्रममा उनले स्याङ्जाको साहसिक खेलकुदको माध्यमबाट यहाँको आर्थिक विकास र समृद्धि हासिल गर्न सकिने बताए । देशका स्थानीय तहमा खेलकुदग्राम तथा रंगशाला निमार्ण गर्न जोड दिँदै स्थानीय तहबाट अनिवार्य रूपमा ३० प्रतिशत लगानी गर्न आग्रह गरे । ७० प्रतिशत रकमको जोहो मन्त्रालयले ब्यबस्था गर्ने उनको भनाइ थियो । संघीय सांसद नारायणप्रसाद मरासिनी, गण्डकी प्रदेशका सांसद मोहनप्रसाद रेग्मी, नेपाल पाराग्लाइडिङ तथा ह्याण्ड ग्लाइडिङ संघ (नेफा)का अध्यक्ष रूपनारायण श्रेष्ठ, भिरकोट नगरपालिकाका मेयर छायाराम खनाल लगायतले स्याङजामा प्याराग्लाइडिङ बल्र्ड कप हुनाले यस क्षेत्रको विश्व सामु पहिचान भएको बताए । मूल आयोजक समितिका संयोजक सुन्दासको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा विभिन्न झाकी सहितको नृत्य प्रर्दशन गरिएको थियो ।
प्रतियोगितामा १सय ५० जना सम्मका खेलाडीहरू सहभागी गराउन सकिने भएको प्रतियोगिताका संयोजक शैलेन्द्र राउतले बताए । उक्त प्रतियोगिता भव्य रूपमा सम्पन्न गर्न एफएआईका प्रतिनिधिको ३ सदस्य टोली समेत प्रतियोगिता स्थल आएको संघका महासचिव समेत रहेका संयोजक राउतले बताए । पोखरामा यस अघि १७ औं संस्करणसम्म खुल्ला नेपाल प्याराग्लाइडिङ र पोखरा तथा स्याङ्जाको स्वरेकमा प्रि–वल्र्ड कप भएकोले गर्दा यस वर्ष प्याराग्लाइडिङको वल्र्डकप भएको हाृ्े । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमश १५ सय, १२ सय र ७ सय युरो प्राप्त गर्ने छन् भने व्यक्तिगततर्फ पहिलो, दोश्रो र तेश्रो हुनेले क्रमशः १ हजार, ७ सय ५० र ५ सय युरो प्राप्त गर्ने छन् । प्रतियोगिताको बजेट करिब १ करोड ६० लाख रुपैयाँको हुने संयोजकले बताए ।

दीननाथ बराल-प्रकाश डोटेल 

प्रतिक्रिया दिनुहोस्