टावरमा परेको जग्गाको समन्वयमा क्षतिपूर्ति दिइने «

टावरमा परेको जग्गाको समन्वयमा क्षतिपूर्ति दिइने

दोलखा-प्रसारणलाइन निर्माणका क्रममा परेका जग्गा र पूर्वाधारको आपसी समन्वयमा क्षतिपूर्ति उपलब्ध गराउने भएको छ ।
न्यू खिम्ती सबस्टेसननजिक दोलखाका २ वटा स्थानीय तहमा जग्गा र पूर्वाधारका कारण प्रसारणलाइन निर्माण अवरोध भएपछि क्षतिपूर्ति दिने निर्णय भएको हो । जिल्ला समन्वय समिति दोलखाको पहलमा बसेको सम्बन्धित आयोजना र जनप्रतिनिधिसहितको उपस्थितिमा भएको बैठकले जग्गा र त्यसमा बनेका पूर्वाधारको क्षतिपूर्ति दिने निर्णय गरेको हो । तामाकोसी गाउँपालिका–५ सहरेमा माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको अन्तिम टावर जग्गा विवादकै कारण निर्माण हुन सकेको छैन ।
सहरेका स्थानीयले टावरकै कारण घर र पूर्वाधारको क्षति भएकाले जिल्ला प्रसारण कार्यालयमा क्षतिपूर्तिको माग गरेपछि बैठकले मूल्यांकन गरेर क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको हो । स्थानीयको विवादकै कारण माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको प्रसारण लाइनको न्यू खिम्ती सबस्टेसनमा जोड्ने अन्तिम टावर निर्माण हुन सकेको छैन ।
सहरेमै माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको २२० केभीको, गर्जाङ–खिम्ती प्रसारणलाइन १३२ केभी र लिखु खोलाबाट ल्याउने १३२ केभीको प्रसारण लाइनको अन्तिम टावरहरू निर्माण हुन्छन् । ३ वटै प्रसारण लाइनको जग्गाको मुआब्जाको दरसमेत फरकफरक हुँदा जग्गाको मूल्यांकनमा चित्त नबुझेको बस्ती नै उठाउनु पर्ने भएपछि टावर निर्माणमा स्थानीयले अवरोध गर्दै आएका छन् ।
त्यसैगरी ४०० केभी क्षमताको तामाकोसी–बाह्रबिसे–काठमाडौं प्रसारणलाइन आयोजनामा पर्ने मेलुङ गाउँपालिका–४ भेड्पूमा ८÷० र ८÷२ गरी २ वटा टावर पर्छ । गुठीको जग्गा भएका कारण साविक भेड्पू गाविस सिंगै नापी भएको छैन । बैठकले भेड्पुमा निर्माणस्थल परेमा कुनै पनि नागरिकको जग्गाको नापी नभएको हुँदा मुआब्जा साविकका दर्ता, ७ नं. फाराम र तिरो तिरेको रसिदका आधारमा बनेका पूर्वाधार छन् भने सो को नियमानुसारको क्षतिपूर्ति उपलब्ध गराउन सम्बन्धित निकायमा अनुरोध गर्ने निर्णय गरेको छ । आयोजना प्रमुख रमनराज शर्माले सरकारको नियमानुसार आयोजनाले मुआब्जा तथा क्षतिपूर्ति उपलब्ध गराउने बताए ।
तामाकोसी नदी र आसपासको विद्युत् काठमाडौंसम्म पु¥याउन तामकोसी–काठमाडौं ४०० केभी प्रसारणलाइन आयोजना अन्तर्गत २ प्याकेजका काम भइरहेको छ । आयोजनाको पहिलो खण्डको तामाकोसी (रामेछापको फुलासीदेखि सिन्धुपाल्चोकको बाह्रविसे) सम्मको नयाँ ठेक्का भारतीय कम्पनी केइसी इन्टरनेसनल लिमिटेडले पाएको छ । कम्पनीले करिब ४४ किलोमिटर प्रसारण लाइनको डिजाइन, उपकरण आपूर्ति, जडान र सञ्चालनका लागि एक करोड ७३ लाख १७ हजार अमेरिकी डलर र ७१ करोड ७७ लाख ९७ हजार (करबाहेक) रुपैयाँमा ठेक्का पाएको छ ।
प्रसारण लाइनको टावरले ओगट्ने निजी जग्गाको सूचना प्रकाशन गरी मुआब्जा वितरण प्रक्रिया सुरु भइसकेको छ । त्यसैगरी वन क्षेत्रका ५ वटा टावरको जग हाल्ने काम भइरहेको आयोजनाका इन्जिनियर गजेन्द्र यादवले बताए । तिहारपछि टावरको काम थप तीव्र पारिने निर्माण कम्पनीले जनाएको छ ।
रामेछापको फुलासीदेखि बाह्रबिसेसम्म ११४ वटा टावर बन्नेछन्, जसमध्ये रामेछापमा २, दोलखामा ८५ र सिन्धुपाल्चोकमा २७ वटा पर्दछन् । सन् २०१९ मे २० मा प्राधिकरणसँग सम्झौता भएको प्रसारणलाइन निर्माण १२ अक्टोबर २०२१ सम्ममा पूरा गर्नुपर्नेछ ।
प्रसारण लाइनमा पर्ने जग्गाको विवादमा बढेपछि बैठकमा सांसदसमेत बैठकमा उपस्थित थिए । साविक भेड्पूको जग्गा नापी गर्नका लागि भूमि व्यवस्था मन्त्रालयलाई आग्रह गर्नेसमेत निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्