सिमरा गोल्डकप माघ २५ बाट «

सिमरा गोल्डकप माघ २५ बाट

मोफसलकै सर्वाधिक लोकप्रिय फुटबल प्रतियोगिता रुस्लान सिमरा गोल्डकपको नवौं संस्करण आगामी माघ २५ गतेबाट आयोजना हुने भएको छ । आयोजक नवजनजागृति युवा क्लबले शनिबार सिमरामा पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगिताबारे जानकारी गराएको हो ।
फागुन ४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा साविक विजेता संकटा क्लब र २ विभागीयसहित १० टिमको सहभागिता रहने आयोजक क्लबका अध्यक्ष कासिम मियाँले जानकारी दिए । प्रतियोगितामा संकटासहित थ्रिस्टार क्लब, मनाङ मस्र्याङदी क्लब, जावलाखेल युथ क्लब, सशस्त्र प्रहरीको नेपाल एपीएफ क्लब, नेपाल आर्मीको त्रिभुवन आर्मी क्लब, सहारा क्लब पोखरा, रुपन्देही ११, झापा ११, हेटौंडा ११, वीरगञ्ज युनाइटेड क्लब वीरगञ्ज र आयोजक नवजनजागृति युवा क्लब सिमराको सहभागिता रहनेछ ।
विजय डिष्टिलरीको मुख्य प्रायोजनमा सञ्चालन हुने रुस्लान नवौं सिमरा गोल्डकपको विजेताले पाँच लाख ५१ हजार र उपविजेताले दुई लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एकथान मोटरसाइकल र प्रतियोगिता अवधिभर उत्कृष्ट प्रदर्शन गर्ने गोलरक्षक, डिफेन्डर, मिड फिल्ड, फरवार्ड, प्रशिक्षक र हाईस्कोररले जनही १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजक क्लबका महासचिव शम्भुसिंह ठकुरीले जानकारी दिए । यस्तै प्रत्येक खेलको म्यान अफ दि म्याचलाई ५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने क्लबले जनाएको छ । प्रतियोगिता आयोजना हुने सिमरा रंगशालामा यसपटक ५ हजार दर्शकले प्याराफिटमा बसेर खेल हेर्न सक्ने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्