वस्तुगतर्फ सदस्य प्रत्याशीका एजेन्डा–सचिवालय सुधारदेखि नीतिगत लबिङ «

वस्तुगतर्फ सदस्य प्रत्याशीका एजेन्डा–सचिवालय सुधारदेखि नीतिगत लबिङ

महासंघ महासंग्राम


नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि यतिबेला व्यवसायीहरू चर्काे प्रचारप्रसारमा व्यस्त छन् । लामो बहस र विवादपछि महासंघको वरिष्ठ उपाध्यक्षसहित नयाँ नेतृत्व चयनका लागि मंसिर दोस्रो साता निर्वाचन हुने भएको छ । महासंघले मंसिर ११ र १२ गते ५४औं साधारणसभा र १३ गते निर्वाचनको मिति तय गरेसँगै मनोनयन सुरु भएको हो । दसैंअघि नै सुरु भएको मनोनयन मंसिर ४ गतेसम्म गर्न सकिनेछ भने महासंघको सूचनामा ईमेलबाटै मनोनयन दर्ता गर्न सकिने र त्यसको सक्कल कागजात भने मंसिर ४ गतेभित्र बुझाइसक्नुपर्ने उल्लेख छ । निर्वाचन कार्यक्रमअनुसार उम्मेदवारको पहिलो नामावली मंसिर ४ गते नै प्रकाशन हुनेछ भने सक्कल कागजातका आधारमा मंसिर ५ गते उम्मेदवारको दोस्रो नामावली प्रकाशन हुने निर्वाचन समितिले जनाएको छ । यस्तै, मतदान गर्न पाउने सदस्यहरूको नामावली मंसिर २ गते नै प्रकाशन हुनेछ भने तीन गतेसम्म नामावलीमाथि दाबी–विरोध गर्न पाइनेछ । मतदान गर्न पाउने सदस्य तथा प्रतिनिधिको अन्तिम नामावली मंसिर ११ गते प्रकाशन हुने तथा उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिने समय मंसिर ६ गतेदेखि ८ गतेलाई तोकिएको छ । मंसिर ८ गते नै उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुने र १३ गते बिहान निर्वाचन भई गणना गरी नतिजा घोषणा गरिने उल्लेख छ । सरकारले स्वास्थ्य प्रोटोकल पालना गरी चुनाव गर्न अनुमति दिएको छ । यसरी महासंघको निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षका लागि चन्द्रप्रसाद ढकाल र किशोर प्रधान प्यानल नै बनाएर अगाडि बढेका छन् । महासंघ निर्वाचनमा वस्तुगत क्षेत्रतर्फ ढकाल समूहबाट उमेशलाल श्रेष्ठ र प्रधान समूहबाट अञ्जन श्रेष्ठले उम्मेदवारी दिएका छन् । वस्तुगततर्फ कार्यकारिणी सदस्यका दावेदारहरूसँग महासंघलाई चाहिने वर्तमान नेतृत्व, निजी क्षेत्रको भूमिका, व्यवसायीहरूले झेल्नुपरेका समस्या र आ–आफ्ना चुनावी एजेन्डाका विषयमा कारोबारका लागि सरस्वती ढकालले गरेको कुराकानीको सार :

सबैको आवाजलाई एउटै बनाएर अगाडि बढ्ने नेतृत्व आवश्यक छ
प्रकाशसिंह कार्की
सदस्यका प्रत्याशी

हाम्रो संस्था फ्रेट फरवार्डस एसोसिएसन नेपाल उद्योग वाणिज्य महासंघमा १५ वर्षदेखि प्रतिनिधि संस्थाका रूपमा रहेको छ । लजिस्टिक क्षेत्रमा लामो समय काम गरेको अनुभव भएकाले महासंघमार्फत कसरी लजिस्टिक लागत घटाउने विषयमा ध्यान जानु जरुरी छ । लजिस्टिक खर्च बढी हुँदा त्यसको असर समग्र क्षेत्रमा पर्छ । उपभोक्ता मूल्यमा यसले प्रत्यक्ष असर गर्छ । अहिले जहाँ पनि ड्राईपोर्ट बनेको छ, बन्ने क्रममा पनि छ, त्यसमा हामीले इन्टरमोडल ट्रान्सपोर्टमार्फत गरिरहेका छौँ । मैले प्रतिनिधित्व गर्ने एसोसिएसन नेपाल उद्योग वाणिज्य महासंघका लागि निकै जरुरी छ । आयात, निर्यात, लजिस्टिक, सप्लाई चेन क्षेत्र हेर्ने भएकाले महासंघ प्रतिनिधित्व हुन्छ । वर्तमान कार्यसमितिमा रहेर पनि मैले काम गरिसकेको छु भने अब मेरो उम्मेदवारी दोस्रो कार्यकालका लागि हो ।
यस कार्यकालमा मलाई निर्यात प्रवद्र्धन समितिको सभापति भएर काम गर्ने अवसर मिल्यो । धेरै परिवर्तन गर्न सकेँ, केही कामहरू गर्ने क्रममा पनि छन् । पछिल्लो समयमा कोभिडका कारण अगाडि बढेका हाम्रा कामहरू प्रभावित भएका छन् । हाम्रो देश आयातमुखी भइसक्यो, निर्यातमा धेरै काम गर्न बाँकी छ । निर्यात बढाउन के गर्न सकिन्छ ? निर्यात गर्दा पनि वन विन्डो सिस्टम प्रयोग गर्ने, समन्वयकारी निकायहरूलाई एउटै विन्डोमा ल्याएर काम गर्नुपर्छ । निर्यातलाई सहजीकरण गर्र्ने विषयमै मेरो ध्यान जानेछ । यहाँ मासिक ४५ सय कन्टेनर निर्यात हुन्छ भने एक लाख ३० हजार कन्टेनर आयात हुन्छ । निर्यात बढाउन सकेमा मात्रै देशलाई फाइदा हुने हँुदा महासंघको मात्रै नभएर सरकारको प्राथमिकता पनि निर्यात बढाउनेमा लक्षित हुनुपर्छ । म निर्वाचित भएमा निर्यात क्षेत्रमा मेरो अनुभव छ, त्यसलाई अझ निखारतासाथ काम गर्न तयार छु । महासंघ आफैंमा निकै ठूलो भइसक्यो, अबको नेतृत्व सबैलाई मिलाएर, समन्वय गरेर जान सक्ने हुनुपर्छ । सरकारसँग पनि लबिङ गर्न सक्ने, सरकारलाई आवश्यक सल्लाह–सुझाव दिन सक्ने, आवश्यक पर्दा दबाब पनि दिन सक्ने खालको हुनुपर्छ । महासंघ नेतृत्व सबैको आवाजलाई एउटै आवाज बनाएर जानसक्ने हुनुपर्छ । सरकारपछिको ठूलो सञ्जाल विस्तार भएको निजी क्षेत्रको ठूलो संस्था भएकाले यसको गरिमा बचाउन पनि महासंघमा सबैलाई मिलाएर लैजान सक्नुपर्छ ।

कृषि क्षेत्रका समस्यामा महासंघले लबिङ बढाउन जरुरी छ
हेमराज ढकाल
सदस्यका प्रत्याशी

नेपाल उद्योग वाणिज्य महासंघमा चिया उत्पादन क्षेत्रबाट वर्तमान कार्यसमितिमा प्रतिनिधित्व गर्छु । कृषि उद्यम समिति सभापतिमा महासंघकै अध्यक्ष भवानी राणा हुनुहुन्छ भने उपसभापति भएर मैले काम गर्ने अवसर पाएँ । अहिले एक जिल्ला एक उत्पादन कार्यक्रमलगायत अन्य १२ वटा परियोजनाहरू ७७ वटै जिल्लामा सञ्चालनमा छन् । कार्यक्रमकै सिलसिलामा सबै जिल्ला अवलोकन गरेर मोडल उद्योगहरूलाई प्रवद्र्धन गर्ने अवसर पाएँ । म कृषि क्षेत्रबाट आएको मान्छुे हुँ, कृषि क्षेत्रका वास्तविक समस्या के हुन्, मलाई राम्रोसँग थाहा छ । मेरो चियाबगान छ । चिया क्षेत्र उच्च सम्भावना भएको क्षेत्र पनि हो । महासंघमा कृषि उद्यम समितिमा बसेर काम गर्दा कृषि क्षेत्रलाई अझ नजिकबाट बुझ्ने अवसर पाएँ । कृषिको बजेट बढाउन, स्थानीय तहबाट कृषिलाई प्रवद्र्धन गर्नुपर्छ भनेर अर्थ मन्त्रालय, राष्ट्र बैंक, राष्ट्रिय योजना आयोगमा लबिङ गर्ने काम भयो । सोही अनुसार बजेट र मौद्रिक नीतिले पनि यस क्षेत्रलाई प्राथमिकता दिएको छ । हरेक साना बैंकले ५ वटा र ठूला बैंकले १० वटा कृषकलाई सहुलियत ऋण दिनुपर्छ भन्ने व्यवस्था हाम्रै पहलमा भएको छ । स्थानीय मौलिक उत्पादनलाई प्रवद्र्धन गर्न स्थानीय सरकारले बजेट दिएको छ । यीलगायतका केही राम्रा कार्यक्रमहरू समावेश छन् । महासंघको कृषि उद्यम केन्द्रबाट पनि लबिङ गरेर कार्यक्रम सञ्चालन गरेका छौँ । त्यसलाई निरन्तरता दिन र अरू समितिमा बसेर काम गर्ने, नीतिगत रूपमा लबिङ गर्ने, कोभिडपछि साना, मझौला उद्योगमा समस्या थपिएका छन् । पर्यटन होटल क्षेत्र बढी प्रभावित भएका छन् । महासंघमा तीन वर्ष बसेर काम गर्ने अवसर पाउँदा मलाई व्यवसायीका समस्या र समाधानको बाटो खोज्न सहज भएको छ । चिया क्षेत्रमा पनि धेरै समस्या छन् । दुई जिल्लाबाट सुरु भएको चिया अहिले २० जिल्लामा पुगेको छ, तर सरकारले जति प्राथमिकता दिनुपर्ने, त्यो हुन सकेको छैन । यो क्षेत्रले धेरै रोजगारी दिन सक्छ । चिया बगानको ६० प्रतिशत खर्च तलबभत्तामै जान्छ । यो म्यानुअल काम हुने भएकाले रोजगारी यसमा धेरै छ । कृषिको बजेट वृद्धि, रिफाइनान्स तथा ऋणमा पनि सहरलीकरण भएको छ । कृषि कार्डहरूको अवधारणा आएको छ । अब कृषि क्रान्तिका लागि फाउन्डेसन तयार भएको छ । विदेशबाट सीप सिकेकाहरू पनि कृषि क्षेत्रमा लागेका छन् । यसलाई बढावा दिन महासंघको निरन्तर लबिङ चाहिन्छ । मेरो कार्यकालमा पनि समृद्धि कार्यक्रम २४ जिल्लामा सुरु भएको छ । दिगो विकासका लागि व्यापार भनेर कृषि उद्यम केन्द्रमै सुरु भएको छ । उत्पादन भएका सामान फ्याक्ट्रिसम्म पु¥याउन सहजीकरण, प्याकिङ, लेबलिङ, अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी र अत्यधिक रोजगारी सिर्जनामा अब ध्यान दिनुपर्छ । जुनसुकै समितिमा बसे पनि समग्र निजी क्षेत्रको हितका लािग काम गर्न तयार छु ।

महिला उद्यमशिलता प्रवद्र्धनमा मेरो जोड रहनेछ
शारदा रिजाल
सदस्यका प्रत्याशी

नेपालमा महिला उद्यमशिलताको क्षेत्रमा नीतिगत तथा व्यावहारिक रूपमा धेरै कामहरू गर्न बाँकी छ । महिलाहरूलाई उद्यमशील बनाउन र आर्थिक रूपमा सक्षम बनाउन मैले ३० वर्ष यसै क्षेत्रमा काम गरेँ । अब महिलाहरू पुरानो सोच र काम गराइबाट माथि उठ्न जरुरी छ । त्यसका लागि नेपाल उद्योग वाणिज्य महासंघको भूमिका महŒवपूर्ण हुन्छ । महासंघमा महिला सहभागिताको सधैं कमी छ । अब सहभागिता मात्रै नभएर सशक्त रूपमै काम गर्ने व्यक्ति महासंघमा आवश्यक छ । त्यसका लागि आर्थिक सशक्तीकरण र महिला उद्यमशिलता क्षेत्रमा मेरो अनुभव र क्षमताले काम गर्न सहज हुन्छ भनेर नै मैले उम्मेदवारी दिएको हो । महिला उद्यमी महासंघको जिम्मेवारीमा रहँदा मैले जे–जति काम गर्न सकेँ त्योभन्दा धेरै उद्योग वाणिज्य महासंघमार्फत गर्न सक्छु भन्ने विश्वास छ । महिला उद्यमी महासंघको सञ्जाल ५० जिल्लामा मात्रै छ भने नेपाल उद्योग वाणिज्य महासंघ ७७ वटै जिल्लामा छ । धेरै सञ्जाल भएको संस्थामा बसेर काम गर्दा धेरै प्रभाव पार्न सकिन्छ ।
वर्तमान कार्यसमितिमा मनोनीत सदस्य भएर काम गर्ने अवसर पाएँ । सदस्य समान भनिए पनि निर्वाचित र मनोनीतमा केही न केही फरक अवश्य हुने रहेछ । अब चुनाव जितेर नै महासंघमा जाने र महिला समितिको सभापतिको जिम्मेवारी लिएर काम गर्ने हो । महिला उद्यमशिलताका विकासमा मेरो विकल्प हुन सक्दैन । नीतिगत रूपमा लबिङ कमजोर हुँदा महिलाहरूले पाउनुपर्ने सुविधाबाट वञ्चित छन् । उद्यमशिलता विकास गर्नका लागि राज्यबाट दिनुपर्ने सुविधा, सहजता र आर्थिक स्रोतसम्मको पहुँचमा विशेष ध्यान दिनु जरुरी छ । यस विषयमा मेरो उच्च पहल रहने नै छ । महासंघमा धेरै क्षेत्र आबद्ध छ, तर महिला उद्यमीको पाटो कतै छुटेको हो कि भन्ने लागेको छ । मैले त्यो कमी–कमजोरी हुन दिनेछैन । वरिष्ठ उपाध्यक्षमा म किशोर प्रधान प्यानलबाट वस्तुगततर्फ सदस्यको उम्मेदवार भएकाले मेरो प्राथमिकता पनि वस्तुगततर्फ नै हुनेछ । अब महासंघमा आउने नेतृत्वको मूल नारा नै सुदृढीकरण र पारदर्शिता भएकाले केही परिवर्तन हुन्छ भन्ने विश्वास छ । सचिवालयदेखि कार्यसमितिमा पनि धेरै परिवर्तन गर्न जरुरी छ । महासंघमा सिस्टमले काम गर्न सकेको छैन । हामीले अहिले नै वस्तुगत क्षेत्रका समस्याहरू के छन् भनेर बुझ्ने काम भएको छ । अब बोर्डमा गएपछि त्यसमा सुधार गर्न जोड दिनेछु ।

नीतिगत सुधारमा महासंघको पहल बढाउनुपर्छ
शिवप्रसाद घिमिरे
सदस्यका प्रत्याशी

कोरोना भाइरस (कोभिड–१९) बाट विश्व नै प्रभावित भएको अवस्थामा नेपाल पनि यसबाट अलग छैन । यतिबेला अधिकांश उद्योग व्यवसायी तथा समग्र निजी क्षेत्र हतोत्साही भएको अवस्था छ । यस्तो अवस्थामा कसरी निजी क्षेत्रको मनोबल बढाउने, सरकारसँग मिलेर काम गर्ने, लगानीको वातावरण बनाउने भन्ने विषयमा महासंघको ध्यान जानुपर्छ । यसका लागि म वर्तमान कार्यसमितिमा पनि बसेर काम गर्ने अवसर पाएको र पेट्रोलियम क्षेत्रको पर्याप्त ज्ञान र अनुभव भएकाले महासंघमा मेरो आवश्यकता छ भन्ने लागेर नै उम्मेदवारी दिएको हो । व्यवसायीको हकहितका लागि राज्यसँग समन्वयकारी भूमिकामा मेरो पनि प्रभाव रहन सक्छ र नीतिगत लबिङमा केही गर्न सक्छु भन्ने लाग्छ । महासंघ ठूलो सञ्जाल भएको संस्था हो । अब क्षेत्रगत रूपमा अध्ययन गर्ने र सम्भावित परिवर्तनका लागि विशेषज्ञ राखेर राज्यलाई सुझाव दिन सकिन्छ । त्यो काम महासंघबाट गर्नुपर्छ । जसले गर्दा अन्योलमा रहेको सरकारलाई पनि अगाडि बढ्न सहज हुन्छ भने व्यवसायीको पक्षबाट पनि हित हुन्छ ।
सरकारले अगाडि सारेको सुखी नेपाली र समृद्ध नेपालको नारा यत्तिकै सफल हुँदैन । त्यसका लागि देशमा औद्योगिक वातावरण र लगानीमैत्री नीति, कानुनहरू आवश्यक पर्छ । ५० वर्ष अगाडिका ऐन–काुननले औद्योगिकीकरण हुँदैन । समयसापेक्ष ऐन–कानुनहरू ल्याउनुपर्छ । राजस्व उठाउन युरोपका मोडल छन्, तर काम गर्ने व्यवसायमैत्री वातावरण भने छैन । लगानीका लागि पनि युरोपका मोडल ल्याउनुपर्छ । अर्काे कुरा, देशमा जे कुरा छ त्यसबाट समृद्धि ल्याउने हो । जे कुरा हो त्यो बेच्ने हो । यसतर्फ सरकारको नीति नै गलत छ । यसको परिवर्तनका लागि महासंघको भूमिका महŒवपूर्ण हुन्छ । विकास–निर्माण ठप्प छन्, रोजगारी बन्द छन् । यस्तो अवस्थामा जनतालाई काम गर्न उत्साहित गर्नु, लगानीकर्तालाई लगानी गर्ने खालको वातावरण सिर्जना गर्नु जरुरी छ । पछिल्लो समय महासंघले अपेक्षाकृत रूपमा आफ्नो प्रभाव देखाउन सकेकोे छैन । ५० वर्षे इतिहास बोकेको संस्था भनेर मात्रै हुँदैन, त्यसलाई व्यवहारमा पनि देखाउन जरुरी छ । समयअनुसार परिवर्तन गर्नुपर्छ । सचिवालय जाँदा सचिवालय पनि चुस्त छैन, अब परम्परागतभन्दा पनि आधुनिक र समय सुहाउँदो सचिवालय हुनुपर्छ । अन्त्यमा नयाँ कार्यसमिति आएपछि पहिला क्षेत्रगत रूपमा समस्या बुझ्ने र समाधान के हुन सक्छ भनेर बुँदागत छलफल हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्