कोरोनाले गर्दा भाइ मसलाको मूल्यमा ओरालो «

कोरोनाले गर्दा भाइ मसलाको मूल्यमा ओरालो

विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीका कारण विश्व अर्थतन्त्रमा परेको असरसँगै हाम्रो देशमा पनि यस कोरोना महामारीले प्रत्यक्ष असर पारेको छ । यसले आर्थिक क्षेत्रमा मात्र नभएर मुलुकको धार्मिक तथा सामाजिक मूल्य–मान्यतामा समेत असर पारेको छ । अझै यो अर्थतन्त्र मुलुकमा पुनरुत्थान हुनका लागि धेरै लामो समय लाग्न सक्ने विभिन्न अर्थविज्ञहरूले बताएका छन् । तर, मुलुकभित्र रहेका जति पनि व्यावसायिक क्षेत्रहरू छन्, उनीहरूलाई पनि आफ्नो व्यवसाय धान्नका लागि जति पनि कच्चा पदार्थ मुलुकभित्र आयात हुन सकेका छैनन्, त्यति नै उत्पादित वस्तुहरूको माग र मूल्य पनि घट्दै गएको देखिन्छ ।
नेपालीहरूको महान् चाड विजयादशमी केही हप्ताअघि मात्र सकिए तापनि त्यसको लगत्तै शुभ दीपावली पनि नजिकिँदै आइरहेको छ भने शुभ दीपावलीपछि छठ पर्व पनि नजिकिँदै आइसकेको छ । शुभ दीपावलीसँगै महत्वपूर्ण भाइटीका पनि परेको हुनाले भाइटीकाका लागि चाहिने भाइ मसलादेखि विभिन्न सामान उपभोक्ताहरूलाई बिक्री गर्नका लागि यो समय सहरबजार भरिभराउ तथा अत्यधिक चहलपहल हुने समय पनि हो । तर, विगतका वर्षहरूमा जति पनि तिहारको रौनक थियो, चहलपहल थियो, एकआपसमा आत्मीय मेलमिलाप साटासाट हुन्थ्यो, देउसी–भैली खेलेर देउसेहरूले दिएको आशिष सुन्दा मन आनन्द हुन्थ्यो; तर यो वर्ष भने कोरोना महामारीका कारण सबै अस्तव्यस्त भएको अवस्थामा बजारमा हुने चहलपहल पनि विगतको तुलनामा निकै कम देखिएको छ ।
भाइ मसलाका लागि सामान किनमेल गर्न आउने असन, इन्द्रचोक, भाटभटेनी सुपरमार्केट, खुद«ा पसललगायतका क्षेत्रमा ग्राहकको अत्यधिक कमी आएको व्यवसायीहरू बताउँछन् । तिहारको समयमा अत्यधिक मूल्य बढ्ने भाइ मसलाको यस वर्ष भने माग र मूल्य दुवै घटेको छ । तिहारका बेला सधैं महँगो हुने भाइ मसलाको मूल्य १० देखि १५ प्रतिशतसम्म घटेको व्यवसायीहरूले बताएका छन् ।
व्यवसायीहरूका अनुसार कोभिड–१९ को संक्रमण नियन्त्रण गर्न गरिएको लकडाउनका कारण स्टक पर्याप्त मात्रमा रहेकाले मूल्य घट्न गएको हो । पुरानै सामान पर्याप्त भएकाले लामो समयसम्म राख्दा बिग्रन सक्ने भन्दै मूल्य घटाएर बिक्री गर्न थालेको व्यवसायीहरूले बताएका छन् । नेपाल खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठले यो वर्ष भाइ मसलाको मूल्य १० देखि १५ प्रतिशतसम्म घटेको जानकारीसमेत दिएका थिए ।
तिहारमा अत्यधिक खपत हुने भाइ मसलाको माग घटसँगै मूल्यमा पनि कमी आएको व्यवसायीहरूले बताएका छन् । अघिल्ला वर्षहरूमा तिहार सुरु हुनु १५ दिनअगाडिदेखि नै भाइ मसला तथा तिहारमा प्रयोग हुने मालसामानहरूको बढी खपत हुने गरेको थियो । तर, यसपालि भने कोरोना र लकडाउनका कारण भाइमसलाको मूल्य र माग भने घटेको छ ।
खुद्रा व्यवसायी संघका अनुसार पेस्ताको मूल्य गत वर्ष भन्दा प्रतिकिलो १ सय रुपैयाँले घटेर १ हजार ७ सय रुपैयाँ कायम भएको छ । ओखर प्रतिकिलोमा ५० रुपैयाँ घटेर ६ सय रुपैयाँ कायम भएको छ भने सुकुमेलमा ३ सय रुपैयाँ घटेर प्रतिकिलो ५ हजार रुपैयाँ कायम भएको छ । नरिवलमा प्रतिकिलो ५० रुपैयाँ घटेर ३ सय ८० रुपैयाँ कायम भएको छ । यस्तै काजुको मूल्य पनि १ हजार ७ सय ५० रुपैयाँबाट घटेर १ हजार ५ सय ५० पुगेको छ । यीलगायत प्रायः सबै भाइ मसलाको मूल्य र माग विगतका वर्षहरूमा भन्दा यस वर्ष घटेको संघको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्