नेपालगञ्जमा एकीकृत जाँचचौकी निर्माण सुरु «

नेपालगञ्जमा एकीकृत जाँचचौकी निर्माण सुरु

नेपालगञ्जमा एकीकृत जाँच चौकी (आइसीपी) निर्माण सुरु भएको छ । भारतबाट आयात तथा भारतलगायत तेस्रो मुलुकमा विभिन्न सामान निकासीका लागि छिटो छरितो सेवाका लागि अत्याधुनिक पूर्वाधारसहित एकीकृत जाँच चौकी निर्माण गर्न लागिएको हो । यसअघि वीरगन्ज तथा विराटनगरमा एकीकृत जाँच चौकी निर्माण भइसकेको छ ।
सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठ र भारतीय वाणिज्य तथा उद्योगमन्त्री पियुष गोयलले बिहीबार अनलाइन समारोहमार्फत नेपालगञ्जस्थित एकीकृत जाँचचौकी (आइसीपी)को निर्माण शुभारम्भ गरे । काठमाडौंबाट नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा, सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर तथा सचिव डा. रमेशप्रसाद सिंहको सहभागितामा भर्चुअल कार्यक्रम भएको थियो । बाँके–२ का सांसद मोहम्मद इस्तियाक राई, नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशमशेर जंगबहादुर राणा र नेपालगञ्ज परियोजना साइटका प्रतिनिधिहरूको कार्यक्रममा उपस्थिति थियो ।
भन्सार तथा अध्यागमन सुविधालाई एउटै छातामुनी ल्याइ दुई देशबीच मालवाहक सवारीसाधनको आवतजावतलाई व्यवस्थित गर्न भारत सरकारले भारत–नेपाल सीमाको दुवैतर्फ एकीकृत जाँचचौकीको निर्माण गरिरहेको छ । भारत तथा नेपालका प्रधानमन्त्रीद्वयले वीरगन्ज र विराटनगरमा निर्मित एकीकृत जाँच चौकीको क्रमशः सन् २०१८ को अप्रिल र सन् २०२० को जनवरीमा संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
एकीकृत जाँच चौकीको निर्माण कार्य समाप्त भएपश्चात सो नवनिर्मित संरचनामा मालवाहक सवारीसाधन तथा सार्वजनिक सवारी साधनको सहज आवातजावतका लागि इम्पोर्ट एक्सपोर्ट हाण्डलिङ सुविधाहरू जस्तै, वेयरहाउस, रेफ्रिजरेटेड कार्गो सुविधा, औषधीय, बिरुवा तथा जनावर क्वारेन्टिन एरिया, सवारी चालक तथा यात्रुका लागि सुविधा, सीसीटिभी र अन्य सुरक्षा उपकरण, सातै दिन चौबीसै घन्टा बिजुली ब्याकअप सुविधा, फोहोर पानी प्रशोधन सुविधालगायत सुविधाहरू हुनेछन् । कार्गो हाण्डलिङलाई व्यवस्थित ढंगले अघि बढाउन यी सुविधाहरूलाई अघि सारिएकोे हो । आईसीपीले अन्तरदेशीय व्यापार र वाणिज्यमा लाग्ने लागत पनि घट्नेछ ।
परियोजनाको निर्माण राइट्स इन्टरनेशनल लिमिटेडको सुपरिवेक्षणमा पूणेस्थित राजदीप बिल्डकन प्राइभेट लिमिटेड नामक भारतीय कम्पनीले गर्नेछ । परियोजनाको लागत भारु १४७.१२ करोड (२ अर्ब ३५ करोड रुपैयाँ) अनुमान गरिएको छ भने यो निर्माण अवधि दुई वर्ष रहेको छ । नेपालगञ्ज उपमहानगरपालिकाको जानकी गाउँपालिका १ र १६ मा रहेको ६१.५ हेक्टर जग्गामा यसको संरचना निर्माण गरिनेछ । रुपैडियामा भारतीय भूमिपत्तन प्राधिकरणले यस्तै किसिमको संरचना भारततर्फ निर्माण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्