महोत्तरीमा प्रेस काउन्सिलको अन्तरक्रिया सम्पन्न «

महोत्तरीमा प्रेस काउन्सिलको अन्तरक्रिया सम्पन्न

प्रेस काउन्सिल नेपालले बुधबार महोत्तरीमा पत्रकार आचारसंहिता र कोभिड–१९ ले मिडियामा पारेको प्रभावबारे अन्तरक्रिया सम्पन्न गरेको छ । नेपाल पत्रकार महासंघ महोत्तरीको संयोजनमा भएको कार्यक्रममा बोल्दै प्रेस काउन्सिलका सदस्य नवलकिशोर यादवले पत्रकारमा अध्ययन प्रवृत्ति हराउँदा पत्रकारितामा नै असर परेको बताए । उनले पत्रकारलाई परेको समस्या समाधानका लागि काउन्सिलले सधैँ भूमिका निभाउँदै आएको भन्दै कोभिडका कारण प्रभावित पत्रकार मिडियालाई सहयोग गर्न सम्बन्धित मन्त्रालय र सरकारसँग पटक–पटक आग्रह गरिएको बताए ।
पत्रपत्रिका वर्गीकरणका सम्बन्धमा पत्रिकाहरू हुबहूमा पर्ने समस्या जटिल देखिएको बताउँदै सदस्य यादवले पत्रकार र मिडिया सञ्चालक जिम्मेवार नभएको गुनासो गरे । पत्रकार आचारसंहिता र वर्गीकरणको मापदण्डभित्र रहेर पत्रपत्रिका प्रकाशन गर्न उनको सुझाव थियो । कोभिडमा समयमा समाचार ब्रेडिङको होडबाजीले गलत सूचना सम्प्रेषण भएको भन्दै संयमित हुन आग्रह गरे ।
कार्यक्रममा प्रेस काउन्सिलका प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र भुसालले काउन्सिलको कामकारबाही बारे जानकारी गराउनुभएको थियो । उहाँले पत्रकार आचारसंहिता, प्रेस स्वतन्त्रता, अभिलेख प्रणाली, कोभिडका समयमा सञ्चारमाध्यममा आएका समाचारसामग्रीका विषयमा उठेका सवालका बारेमा प्रष्ट पारेका थिए । उनले सामाजिक सञ्जालमा सूचना सम्प्रेषण गर्दा पनि मर्यादित हुन र स्रोत खुलाउन आग्रह गरे ।
कार्यक्रममा सहभागी पत्रकारहरूले कोभिडका समयमा रिपोर्टिङ गर्दा झेल्नुपरेका समस्या सुनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्