१० वर्षपछि विश्वविद्यालय केन्द्रीय कार्यालय आफ्नै भवनमा «

१० वर्षपछि विश्वविद्यालय केन्द्रीय कार्यालय आफ्नै भवनमा

महेन्द्रनगर-कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ स्थित कटानमा केन्द्रीय कार्यालय रहेको सुदूरपश्चिम विश्व विद्यालयको केन्द्रीय कार्यालय स्थापना कालको १० वर्षपछि आफ्नै भवनमा स्थानान्तरण भएको छ ।
उच्च शिक्षाको अवसर सबै क्षेत्रका जनतालाई उपलब्ध गराई बहुविश्व विद्यालयको अवधारणा अनुरुप नेपाल सरकारको लगानीमा वि.स. २०६७ साल असार ३ गते स्थापना भएको सुदूरपश्चिम विश्व विद्यालयको झण्डै १० वर्षपछि बुधवार बिहान एक कार्यक्रकाबीच केन्द्रीय कार्यालयको आफ्नै भवन आफ्नै कार्यालयमा स्थानान्तरण भएको हो ।
भीमदत्त नगरपालिका–१८ स्थित सालघारीमा निमार्ण भएको विश्व विद्यालयको केन्द्रीय कार्यालयको भवन झण्डै १३ करोडको लगानीमा निमार्ण भएको छ । विशेषतह ३ तले निमार्ण हुने भनिएको विश्व विद्यालयको केन्द्रीय कार्यालयको भवन हाल १ तला मात्रै निर्माण गरिएको छ । विश्व विद्यालयले भने १ तला सुरुवात भएको भन्दै आगामी दिनमा अरु निमार्ण कार्यलाई थप्दै जाने बताएको छ ।
“यो ३ तलाको भवनको परिकल्पना हो, हामी थप्दै जान्छौ ।” सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीले भने, “अबको केही समयपछि नै केन्द्रीय कार्यालयको भवनको अगाडिको निमार्णको काम अघि बढ्छ, ३ तलाको निर्माण सम्पन्न भएपछिको अवस्थामा विश्वविद्यालयको सम्पूर्ण फाँट राख्न सकिने सम्भावना हुन्छ, जसरी पनि विश्वविद्यालयको पूर्वाधार विकासलाई पूर्णतया दिनका लागि विश्व विद्यालय अग्रसर भएर लागेको अवस्था छ ।” विश्वविद्यालयका विभिन्न संकायलगायत विभिन्न प्शासनिक क्षेत्रले अहिले भवन नभउरसँगै बस्न पाएको अवस्था छैन । यस्तै विश्वविद्यालयले भने बाहिर छरिएर रहेका प्रशासनिक क्षेत्रका भवनहरूलाई आफ्नै भवनमा विकास गर्ने योजना रहेको उपकुलपति जोशीले बताए ।
सुदूरपश्चिम प्रदेशका ९ जिल्लामा १५ ओटा आङ्गिक क्याम्पस सञ्चालन गरेको विश्वविद्यालमा विभिन्न ६ ओटा संकाय सञ्चालनमा छन् । सञ्चालनमा रहेका संकाय सँगै विश्व विद्यालयले थप संकायसँगै शैक्षिक सुधारका थप कार्यक्रम ल्याउनेसमेत तयारी गरेको छ ।
“विश्वविद्यालयका पुृराना कार्यक्रमलाई यथावत नै राखेर म्यानेजमेन्ट तिर एमबीए चलाउने, इन्जिनियरिङतिर कम्प्युटर इन्जिनियरिङ र कन्सट्रसन म्यानेजमेन्टको कोर्षहरू लिने, मानविकि संकायतिर एकफिल र पिएचडीको कार्यक्रम लगायतका केही कार्यक्रम आउँदो पुस महिनाबाटै सुरु गर्ने तयारी भइरहेको छ ।” उपकुलपति जोशीले भने, “विश्वविद्यालयले शैक्षिक क्षेत्रमा ठूला महत्वपुर्ण कार्यक्रम ल्याउँदै छ, यसले गर्दा विश्वविद्यालयले भौतिक पुर्वाधारको विषयमा पनि सुधार हुने विश्वास छ ।” विश्वविद्यालयले अगाडि सारेका शैक्षिक कार्यक्रम सँगै पुर्वाधारको विकासमा सहजता भयो भने विश्वविद्यालयले भविष्यमा थुप्रै कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको उनले बताए ।
विश्वविद्यालय आङ्गिक क्यापसको लागि समेत विभिन्न योजना अघि सारेको छ । विश्वविद्यालय अन्तर्गत आवद्ध गर्ने कुरा मात्रै पूरा नभएर सुदूरपश्चिम विश्वविद्यालयको भौतिक पूर्वाधारलगायत शैक्षिक कार्यक्रमको विकासमा आङ्गिक क्याम्पसलाई समेत सँगै अघि बढाउने योजना विश्वविद्यालयको रहेको विश्वविद्यालयले जनाएको छ ।
यसैगरी दश वर्षपछि विश्वविद्यालयको केन्द्रीय कार्यालय आफ्नै भवनमा स्थानान्तरण भएपछि विश्वविद्यालयका प्रध्यापकहरूलाई पनि नयाँ ऊर्जा थपिएको छ । विश्वविद्यालयका प्राध्यापक संघका सभापति दीपकचन्द्र भट्टले ढिला भए पनि केन्द्रीय कार्यालयको कार्यालय आफ्नै भवनमा स्थानान्तरण भएपछि नयाँ ऊर्जा थपिएको बताए ।

प्रतिक्रिया दिनुहोस्