कोरोनाका कारण पर्वतका सञ्चार माध्याम धरासायी «

कोरोनाका कारण पर्वतका सञ्चार माध्याम धरासायी

पर्वत- विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण पर्वत जिल्लामा संचालित सञ्चार माद्यामहरू धरासायी बन्दै गएका छन् ।
नेपालको चौथो सानो जिल्लाको रूपमा रहेको पर्वतमा सञ्चालित विद्युतीय, छापा र अनलाइन सञ्चार माध्यामहरूको अवस्था दयनिय बन्दै गएको हो । पर्याप्त उद्योग कलकारखानाको अभाव, लक डाउनका कारण बजारसमेत बन्द भएकाले दैनिक आउने व्यावासयिक विज्ञापन बन्द हुनु र अन्य आम्दानीका स्रोतसमेत नभएपछि सञ्चार माध्याम र त्यहाँ आवद्ध सञ्चारकर्मीहरू दिन प्रतिदिन समस्यामा पर्दै गएका छन् ।
प्रेस काउन्सिल नेपालले बुधबार कुश्माबजारमा आयोजना गरेको कोभिले मिडियामा पारेको प्रभाववारे अन्तरक्रिया कार्यक्रममा सहभागी स्थानीय सञ्चार माध्याम संचालक तथा पत्रकारहरूले स्थानीय मिडियामा काम गरेर विहान बेलुकाको छाक टार्नसमेत मुस्किल परेको जनाएका छन् ।
पर्वतमा ७ वटा एफएम रेडियो स्टेशन, १ दैनिक पत्रिका, आठवटा साप्ताहिक पत्रिका, तीन वटा त्रयोमासिक पत्रिकाहरू नियमित रूपमा सञ्चालन हुँदै आएका छन् । त्यसैगरी झण्डै डेढ दर्जनको हाराहारीमा अनलाइन पत्रिकाहरू रहेका छन् ।
साँघुरो विज्ञापनको बजार र बढ्दो सञ्चार माध्यामको चुनौतीकाबीच भित्रिएको कोभिड–१९ को महामारीले गर्दा भएको आर्थिक अभावका कारण सञ्चार माध्याम बन्द गर्नुको विकल्प नरहेको स्थानीय पञ्चासे एफएमका स्टेसन म्यानेजर लक्ष्मण सापकोटाले बताए । उनले भने–‘रेडियोहरूमा कार्यरत झण्डै दर्जनको संख्याका सञ्चारकर्मीलाई नियमित पारिश्रमिक, घरभाडा र विद्युत महसुल तिर्न ऋण खोज्नुपर्ने अवस्था आएको छ ।’ महामारीको बेला राज्यवाट समेत कुनै सहयोग नपाउँदा झनै पीडा हुने गरेको उनले बताए ।
चैत ११ गतेपछि भएको लकडाउनका कारण रेडियोमा बजिरहेका अधिकांश स्थानीय विज्ञापनहरूको व्यावसायिहरूले भुक्तानी दिन सकेका छैनन्, यस्तो अवस्थामा रेडियो प्रशारणलाई निरन्तरता दिन नसकिने रेडियो शालिग्रामका स्टेशन म्यानेजर ओमप्रसाद घायलको दुःखेसो छ ।
उनले भने–‘कि त बन्द गर्नुप¥यो, कि त राज्यले तत्कालका लागि अनुदानको व्यवस्था गर्नुप¥यो । सरकारी निकाय र स्थानीय सरकारहरू समेत सञ्चार माध्यमप्रति अनुदार बन्दा निरन्तरता दिन समस्या परेको उनको भनाई रहेको छ ।
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिब गणेश पौडेलले भोको पेटले समाज र नागरिकको सेवामा हिडिरहनुपरेको बताउँदै कोभिडले मुलुकमा सबैभन्दा ठूलो समस्या मोफसलका सञ्चार माध्याममा परेको बताए । उनले यसका लागि तीनवटै तहका सरकारले आवश्यक सहयोग गर्नुपर्नेमा उनको जोड छ ।
प्रेस काउन्सिल नेपालका सदस्य दुर्गा भण्डारीले कोभिड–१९ ले मुलुकभरका सञ्चार माद्यमहरू समस्यामा परेको बताईन । लकडाउनका कारण विज्ञापन रोकिँदा सञ्चार संस्थाहरू ठूलो आर्थिक मन्दिमा परेको बताउँदै यसका लागि काउन्सिलले आवश्यक पहल गर्ने बताइन् । उनले सञ्चार माध्यामहरू पनि जिम्मेवार बनेर महामारीलाई न्यूनिकरण गर्न राज्यको साझेदारको रुपमा काम गर्नुपर्ने बताउँदै सञ्चार माध्याम र सञ्चारकर्मीहरूले भोगेको समस्याबारे माथिल्लो तहमा छलफल गर्ने बताइन् ।
कार्यक्रममा फलेवास नगरपालिकाका नगरप्रमुख पदमपाणी शर्माले कोरोना भाइरसका कारण मुलुक चौतर्फी समस्यामा परेको बताउँदै स्थानीय सरकारले श्रोतले भ्याएसम्म सञ्चार माद्यामलाई सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले राज्यले सञ्चार माध्यमलाई बास्तविक चौथो अंग मान्ने हो भने समस्या नहुने बताउँदै स्थानीय सरकारलाईलाई सञ्चार माध्यामप्रति उत्तरदायि बन्न आग्रहसमेत गरे । उनले सूचना विभाग र प्रेस काउन्सिलले काठमाण्डौ र बाहिरका मिडियाहरूलाई एउटै नजरले हेर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा प्रेस काउन्सिल नेपालका बरिष्ठ प्रशासन सहायक महेन्द्र सिंहले प्रेस काउन्सिलको आचारसंहिता र यसको कार्यान्वयको अवस्थाका बारेमा जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्