राजधानी माग्दै दोस्रो दिन पनि अनशन «

राजधानी माग्दै दोस्रो दिन पनि अनशन

 प्रदेश नम्बर २ को राजधानी वीरगन्जलाई बनाउनुपर्ने मागसँगै शुक्रबार सुरु भएको रिले अनशन शनिबार दोस्रो पनि जारी रह्यो । नेकपा एमाले, माओवादी केन्द्र र नेपाली कांग्रेसका युवाहरूले सुरु गरेको आन्दोलनमा विभिन्न संघसंस्थाले पनि ऐक्यबद्धता जनाएका छन् । आन्दोलनमा वीरगन्ज उद्योग वाणिज्य संघ, नेपाल चिकित्सक संघ, गैरसरकारी संस्था महासंघ, वीरगन्ज युवा समाजलगायत संघसंस्थाले ऐक्यबद्धता जनाएका हुन् ।
मधेस आन्दोलनको केन्द्रविन्दु वीरगन्जलाई राजधानी बनाउनुपर्ने विषयमा मधेसबाट प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेतृत्व गरेका दल र जनप्रतिनिधिहरु भने अहिले मौन छन् । यद्यपि वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगी र उपमेयर शान्ति कार्कीले भने अनशनको समर्थन गरेका छन् । वीरगन्ज महानगरपालिकाको कार्यकापलिका बैठकले वीरगन्जलाई राजधानी बनाउनुपर्छ भन्ने निर्णय नै गरेको मेयर सरावगीले बताएका छन् ।
पर्साबाट तीनवटा प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद र प्रदेशसभामा निर्वाचित ६ जना सांसद पनि वीरगन्जलाई नै प्रादेशिक राजधानी हुनुपर्ने नैतिक बन्धनमा छन् । तर, नेतृत्वले नबोलेका कारण अहिलेसम्म स्पष्ट भएर आउन सकेका छैनन् । संघीय समाजवादी फोरम नेपाल पर्साका कार्यवाहक अध्यक्ष सुन्दर कुर्मीले राजधानीको माग गरेर अनशन बस्नु नौटंकी हो भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्