मौसमी परिवर्तनले बालबालिकाको स्वास्थ्यमा पर्ने असर «

मौसमी परिवर्तनले बालबालिकाको स्वास्थ्यमा पर्ने असर

यस वर्ष अधिक मासका कारण दसैंतिहार एक महिना पछि सरेको छ । गत वर्ष यो समयमा हामीहरूले तिहारको तयारी गरिरहेका थियौं । हामीलाई अवगत नै छ कि दसैंमा टीका थाप्ने समयबाट नै सामान्य रूपमा चिसो बढिसकेको हुन्थ्यो र तिहारमा भैलो तथा देउसी खेल्न जाँदा जाडो भएर न्यानो–न्यानो कपडा लगाएर जानुपथ्र्यो ।
केही दिनयता बिहान–बेलुकी चिसो बढ्दै गएको छ । अझै भन्नुपर्दा अब गर्मी महिनाको पातलो लुगाले साँझ–बिहानको समयमा चिसो नधान्ने भइसकेछ । अब त बजारभरि पनि जताततै सबै जाडोयामका कपडाहरू बेच्न राखेको देख्न सकिन्छ । साँझ–बिहान चिसो बढे पनि दिउँसो घाम एकदम चर्केका कारणले पातलो कपडा लगाएर हिँड्नुपर्ने बाध्यता छ ।
कोरोनाका कारणले भयभीत भएको परिस्थितिमा झनै यस्तो बदलिँदो मौसमका कारणले अझै कोरोना संक्रमण बढ्ने सम्भावना रहेको छ । यस्तो मौसममा रुघा, खोकी तथा ज्वरो आउनु स्वाभाविक हो । तर, यो विषम परिस्थितिका कारणले सामान्य रुघाखोकी लाग्दा पनि कतै कोरोना पो हो कि भनेर मन डराएझैँ हुन्छ ।
वास्तवमा साँझ–बिहान चिसो हुनु र दिउँसो घाम चर्किनुको कारण वातावरण तथा स्वास्थ्यको तापक्रम नमिल्नाले पनि रुघाखोकी लाग्नु सामान्य हो । परिस्थिति यस्तो भइदियो कि कसैले एकचोटि हाछ्युँ गर्दा पनि कोरोनाको बिरामी हो कि भनेर हामी त्रसित हुन्छौं । यस्तो मौसममा विशेष गरी वृद्ध तथा बालबालिकाहरूलाई जोगाउनु अति आवश्यक छ । कोरोना संक्रमणका हिसाबले पनि वृद्ध तथा बालबालिकाहरूलाई जोगाउनु अति आवस्यक छ ।
यस्तो मौसममा सबै जनाले साँझ–बिहान बाक्लो कपडा लगाउने र दिउँसो ठिक्कको कपडा लगाएर हिँड्ने गरौं । सकभर तातो पानी खानेगरौँ । फ्रिजमा राखेको चिसो पेय पदार्थहरू, दही, चिल्लो, अमिलो कम खाने गरौं । सामान्य रुघाखोकी लागेमा आफू सजग भएर स्वयम् आइसोलेट भएर ज्वानो, जिरा, तुलसीपत्ता र नुन–पानी पकाएर खाने गरौं । फलफूल, सागपात, तरकारीको रस, सुपहरू पिउने गरौं । ससाना बच्चाहरूलाई पनि यस्तो मौसममा चिसो जुस, आइसक्रिम, पसलको तयारी खानेकुराहरू कम दिने गरौं । साँझ सुत्ने बेलामा दूधमा थोरै बेसार मिसाएर खाने गरौं । यसले निद्रा पनि राम्ररी पर्नुका साथै यसको अनेकौं फाइदाहरू रहेका छन् ।
बच्चाहरूलाई चिसो पानी खान तथा घरबाट अन्यन्त्र धूलोधूवाँमा खेल्न नदिने गर्नुपर्छ । किनकि धूलोधूवाँ तथा चिसोको एलर्जीका कारणले पनि बच्चाहरू तथा हामीहरूलाई पनि रुघाखोकी लाग्न सक्छ । मेरो स्वयम् आफ्नै अनुभव छ कि मेरो साढे तीन वर्षको छोरालाई विद्यालय जाने क्रममा धेरैजसो रुघाखोकी लाग्ने तथा कान पाक्ने समस्या भइरहन्थ्यो । र, डाक्टरको परामर्शअनुसार धेरै धूलोधूवाँमा खेल्नाले एलर्जीका कारणले हो भन्नुहुन्थ्यो । तर, जब देशभर कोरोनाको कारणले लकडाउन भयो, त्यो समयपश्चात् अहिलेसम्म एकचोटी पनि रुघाखोकी लागेको छैन । कोरोना कहरको त्रासले गर्दा कतै घुम्ने, खेल्ने तथा बाहिरका खानेकुराहरू पनि खुवाउन कम गरिएकाले गर्दा स्वस्थ र स्फूर्त छ । यो धारणा मेरो मात्र नभएर अन्य अभिभावकहरूको पनि रहेको छ । त्यसैले यस्तो बदलिँदो मौसममा धेरै ध्यान आफ्ना बालबच्चाहरूलाई दिने गरांै ।
एउटा भनाइ नै छ, ‘रोग लागेर उपचार गर्नुभन्दा रोग नै लाग्न नदिनु बुद्धिमानी हो ।’ दैनिक रूपमा बढ्दै गएको कोरोना संक्रमणलाई पनि ध्यानमा राखेर यस्तो अवस्था र बदलिँदो मौसमबाट आफू र आफ्नो परिवार दुवैलाई बचाऔं । किनकि रोगले नातागोता, बच्चा, बूढाबूढी र उमेर हेर्दैन । त्यसैले सबैले स्वास्थ्यको मापदण्ड अपनाउन आग्रह गर्छु ।
—रन्जिता गिरी पोख्रेल

प्रतिक्रिया दिनुहोस्