४ वर्षअघि बाढी र पहिरोले कल्भट बगाएको रिभानमा ६ करोड लागतमा मोटरेवल पुल निर्माण हुँदै «

४ वर्षअघि बाढी र पहिरोले कल्भट बगाएको रिभानमा ६ करोड लागतमा मोटरेवल पुल निर्माण हुँदै

रातोपानीको पुल निर्माण नभए जनतालाई अन्याय हुन्छः सांसद बराल
पोखरा-
विगत ४ वर्षअघि कास्कीको मामाछापुछ्रे गाउँपालिका–५ स्थित रिभानको खहरेखोलामा रहेको कल्भट बगाएपछि हाल उक्त स्थानमा मोटरेवल पुल निर्माण हुने भएको छ । उक्त क्षेत्रमा पुल माछापुछ्रे गाउँपालिकाको कुइवाङ, सैदीघट्ट, सिदीङ, मोहरा लगायतका करिब ६ हजार जना प्रत्यक्ष रुपमा प्रभावित भएको अबस्थामा हाल प्रदेश सरकारबाट मोटरेवल पुल निर्माण हुने भएपछि स्थानियहरू निकै खुसि भएको माछापुछ्रे गाँउपालिका–५ का वडा अध्यक्ष जुमबहादुर गुरुङले बताए ।
वर्षादको समयमा ठूलो भल पानी आउँदा विद्यार्थी, किसानसहित स्थानीयलाई माछापुछ्रे गाउँपालिका–५ र ९ वार पार गर्न निकै कठिन हुने गरेको अबस्थामा उक्त पुल बनेमा आफुहरूलाई धेरै राहत हुने अध्यक्ष गुरुङले विश्वास व्यक्त गरे । गण्डकी प्रदेश सरकारको पूर्वाधार विकास कार्यालय मार्फत ४० मिटर लम्बाइ र ८.४० मिटर चौडाइमा हाल निर्माण हुन लागेको उक्त मोटरेवल पुलको एक समारोहका बीच मंगलबार गण्डकी प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले शिलन्यास गरे ।
कार्यक्रममा बोल्दै उनले आगामी ११ महिनाभित्र उक्त पुल गुणस्तरीयतालाई ध्यान दिँदै निर्माण गर्न निर्माण कम्पनी इन्द्रेणी फेवा जेभी पोखरालाई आग्रह गरेका छन् । गण्डकी प्रदेश सांसद रामजीप्रसाद बराल (जीवन) को विशेष पहलमा उक्त पुल निर्माण हुन लागेको बताउँदै मन्त्री बस्नेतले आवश्यकता भएका ठाँउमा प्रदेश सरकारले पुल तथा झोलुङगे पुल आगामी दुई वर्षभित्र निर्माण गर्ने भएको दाबी गरे । निर्माण व्यवसायीलाई कठिनाई भएको अवस्थामा साथ सहयोग गर्न स्थानियलाई आग्रह गरेका मन्त्री बस्नेतले अब तोकिएको मितिभित्र कुनै पनि हालतमा निर्माण कार्य सक्नु पर्ने चेतावनी समेत दिए । आवश्यकताको आधारमा झोलुङले पुल र २ सय वटा मोटरेवल पुल आगामी दुई बर्ष भित्र निर्माण गर्ने प्रदेश सरकारको लक्ष्य रहेकोले माछापुछ्रेगाँउपालिकाको तातोपानीको पुल कुनै स्रोत जुटाएर भए पनि निर्माण गर्ने उनले वचन दिए ।
गण्डकी प्रदेशमा यस वर्ष आधारभूत खानेपानीको पहुँच पु-याउने मन्त्री बस्नेतले दाबी गरे । आत्मनिर्भर बनाउने उद्देश्यले उत्पादनमा दोब्बर वृद्धि गर्ने गरी प्रदेश सरकारले सिँचाइको क्षेत्रमासमेत ठूलो लगानी गरेको उनले जनाए । दुर्गम पालिकासम्म सडक बाटो एवं पिच पु-याउने गरी प्रदेश सरकारले संघीय सरकारसंगको सहकार्यमा काम गर्दै गरेको जनाएका मन्त्री बस्नेतले पहिलाको पुरानो तौर तरिका भन्दा फरक ढंगबाट नाला, ग्याविन, प्रोटेक्सनवाल लगायतका कुरामा बिषेश ध्यान दिने गरेको उल्लेख गरे । प्रदेश सरकारले कुनै भौतिक पूर्वाधार निर्माणको सुभारम्भ गर्दा जनताबाट थप विश्वास हुने गरी केही काम सुरुवात भएपश्चात् मात्र शिलन्यास गर्ने गरेको समेत मन्त्री बस्नेतले बताए ।
गण्डकी प्रदेश सांसद रामजीप्रसाद बराल (जीवन) ले प्रदेश सरकार गठन भएपश्चात् जनतालाई सरकारको अनुभूति हुने गरी माछापुछ्रे गाउँपालिकामा समेत केही काम भएको दाबी गरे । माछापुछ्रे गाँउपालिकाको रातोपानी पुल निर्माण कार्य प्राविधिक हिसावले निर्माण कार्य सुरु हुन नसकेकोमा गुनासो गर्दै सांसद बरालले उक्त पुल यथासक्दो छिटो निर्माण कार्य शुभारम्भ हुने गरी विशेष पहल गर्न मन्त्री बस्नेत समक्ष आग्रहसमेत गरेका छन् । उनले भने, “देशकै नमुना पुल बन्ने गरी हामीले त्यसको डिपिआर पनि तयार पारेका छौं, यो प्रदेश सरकारको पनि गौरवको योजना हुने छ, पालिका समेत यस पुलले जोड्ने हुँदा यस वर्ष यो पुलको निर्माण कार्य अघि बढाउन नसके माछापुछ्रेका जनतालाई ठुलो अन्याय हुने मैले महसुस गरेको छु ।”
सांसद बरालले मर्दी खोलाले स्थानियलाई धेरै पटक दुःख दिने र पोखरामा जाने पानी समेत दूषित हुने हुँदा त्यसको समाधानको लागि पोखरामा लगिएको पानीको मुहान ३ किलोमिटर माथिल्लो भेगमा सार्नु पर्ने अवस्था आएको बताए । सर्वे भएका दुईवटा पुल निर्माण हुने, रिभान खहरे मोटरेवल पुल, डाँडागाउँ भेडावारी पुल र रातोपानीको पुल निर्माण कार्य सम्पन्न भएमा समग्र माछापुछ्रे गाउँपालिको केन्द्रसंग जोड्ने सहज वातावरण बन्ने जसले विकासका ढोका खुल्ला हुने सांसद बरालले दाबी गरे ।
माछापुछ्रे गाँउपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङले प्रदेश सरकारको कुनै पनि योजना सम्पन्न गर्न स्थानिय सरकारले आवश्यक पहल कदमी गर्ने जनाए । रिभानको मोटरेवल पुल हाल निर्माण हुन लागेको उक्त स्थलमा २०७४ साल साउनमा आएको बाढी तथा पहिरोले कल्भडसहित बगाउँदा ११ घर परिवार विस्थापित भएको उनले स्मरणसमेत गराए ।
पूर्वाधार विकास कार्यालय कास्कीका डिभिजन प्रमुख दिनेश घिमिरेले रिवान मोटरेवल पुल तोकिएको २०७८ असोज ३० गतेभित्र सम्पन्न गर्ने गरी आफुहरूले विशेष पहल गर्ने बताए । उक्त पुल ५ करोड ९८ लाख ३० हजार ६ सय ८२ रुपैयाँको लागतमा निर्माण हुन लागेको उनले जनाए ।

प्रतिक्रिया दिनुहोस्